श्रीलंका फर्कंदै मालिंगा

श्रीलंका फर्कंदै मालिंगा

लन्डन : श्रीलंकाली टोलीका अनुभवी बलर लासिथ मालिंगा जारी विश्वकप बीचमै छाडेर केही समयका लागि श्रीलंका फर्कने भएका छन्। सासू कान्थी परेराको निधन भएकाले उनी स्वदेश फर्कन लागेका हुन्। तीव्रगतिका बलर मंगलबार बंगलादेशसँगको खेल सकिएलगत्तै स्वदेश फर्कने श्रीलंकाली खेल अधिकारीले जनाएका छन्।

उनकी सासूको अन्त्येष्टि बिहीबार कोलम्बोमा गरिनेछ। त्यसपछि मालिंगा पुनः विश्वकपमा सहभागी हुन इङ्ल्यान्ड आई पुग्नेछन्। श्रीलंकाले जारी विश्वकपमा अर्को खेल आगामी शनिबार दी ओभलमा पाँच पटकको च्याम्पियन अस्ट्रेलियासँग खेल्ने कार्यक्रम छ। उक्त खेलअघि नै मालिंगा इङ्ल्यान्ड फर्कने समाचारमा जनाइएको छ।

यसैबीच, अस्ट्रेलियन टोलीका अलराउन्डर मार्कुस स्टोइनिस बुधबार हुने पाकिस्तानविरुद्घको खेलबाट बाहिरिएका छन्। उनी घाइते भएकाले टोलीबाट बाहिरिएको अस्ट्रेलियन खेल अधिकारीले जनाएका छन्। उनले अन्य केही खेल पनि गुमाउन सक्ने अनुमान गरिएको छ। उनको स्थानमा मिचेल मार्सलाई टोलीमा समावेश गरिने सम्भावना छ।

स्टोइनिस भारतविरुद्घको खेलका क्रममा घाइते भएका थिए। उक्त खेलमा उनले दुई विकेट पनि लिएका थिए। भारतीय टोलीका कप्तान विराट कोहली र विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनीको विकेट उनले नै लिएका थिए। यद्यपि, उक्त खेलमा भारतले अस्ट्रेलियालाई ३६ रनले हराएको थियो। क्रिकेट अस्ट्रेलियाले उनी छिट्टै स्वस्थ्य भएर खेलमा फर्कने विश्वास लिएको छ।

यसैगरी भारतीय टोलीका अनुभवी ब्याट्सम्यान शिखर धवन पनि घाइते भएका छन्। उनको बायाँ हातको बूढीऔंलामा चोट लागेको बताइएको छ। अस्ट्रेलियाविरुद्घको खेलमा धवनकै शतकका कारण भारत विजयी भएको थियो। उक्त खेलमा धवनले आक्रामक ब्याटिङ गर्दै एक सय नौ बलमा १६ चौकाको मद्दतले एक सय १७ रन बनाएका थिए।

चोटका कारण धवनले लिग चरणको दुई खेल गुमाउन सक्ने सम्भावना रहेको बताइएको छ। उनी न्युजिल्यान्ड र पाकिस्तानविरुद्घको खेल गुमाउन सक्छन्। उनको चोटको थप परीक्षण भइरहेको र त्यसपछि मात्र विस्तृत जानकारी उपलब्ध गराउन सकिने भारतीय खेल अधिकारीले जनाएका छन्।

अस्ट्रेलियन बलर प्याट कुमिन्सको बल खेल्ने क्रममा धवनको औंलामा चोट लागेको थियो। सोही कारणले अस्ट्रेलियाको पालीमा उनी फिल्डिङ गर्न मैदानमा देखा परेनन्। उनको स्थानमा अर्का खेलाडीलाई ल्याउने वा नल्याउने भन्ने विषयमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले केही बताएको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.