रैथानेबाली जोगाउन कठीन
पोखरा : पोखरा २८ माझठानाका किसानले घैया खेती गर्न छाडेको १० वर्ष हुन थाल्यो। पाखाबारीको सुख्खा ठाउँमा हुने घैया खेती मकै लगाउँदा सँगै छर्ने गरिन्थ्यो। उत्पादन धेरै नहुने, मकै गोड्दा झै गोड्नु पर्ने र झन्झटिलो भएकाले हिजोआज घैया खेती लगाउनै छाडिएको माझठानास्थित कँडेल गाउँकी मधुमाया केसीले सुनाइन्।
घैया धानजस्तो मिठो पनि हुँदैन। चिसो भएपछि कक्रक्क परेर खानै सकिँदैन। न उत्पादन बढी नै हुन्छ त्यसैले यहाँका किसानले लगाउनै छाडेको माछापुच्छे« कृषक समूहकी अध्यक्ष समेत रहेकी केसीले बताइन्। गाउँमा घैयामा मात्र होइन काउनो लगाउन छाडेको पनि ५÷६ वर्ष भएको उनले सुनाइन्। आँगा धान पनि किसानको रोजाइमा पर्न छाडेको उनले बताइन्।
थोरै मिहिनेतमा धेरै उत्पादन हुने हाइब्रिड धानको विकाससँगै यहाँका घैया, काउनो मात्र होइन धेरै प्रजातिका अन्नबाली लोप हुने अवस्थामा पुगेको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरिया बताउँछन्। रैथाने बाली संकटका बेलामा निकै उपयोगी हुने भएकाले यस्ता बालीको संरक्षण गर्नुपर्ने उनले सुनाए। यस्ता बाली कास्की जिल्लामा मात्र नभएर देशैभर संकटमा पर्दै गएको उनले बताए।
कास्कीमा झिनुवा धान पनि लोप हुने अवस्थामा छ। स्थानीय जातका ज्याउदी खोले, मकै खोले लगाउ नै छाडेको स्थानीय किसान गोविन्दप्रसाद लामिछानेले सुनाए। आँगा धान पहिले पहिले हात खुट्टा भाँचिदा उपचारमा पनि प्रयोग हुने उनी सम्झन्छन्।
खाँदा पोषणयुक्त हुने भए पनि आजकल यो बाली लगाउन छाड्दै गएको उनले सुनाए। रैथाने प्रजातिका अन्न बाली पोसिलो मात्र होइन औषधीय गुण पनि रहेको उनले बताए। रातो अनदीको धानमा पनि औषधीय गुण रहेको उनले सुनाए। घिउ, मह राखेर रातो अनदी पकाएर खाँदा ढाड दुखेको, जोर्नी दुखेको सञ्चो हुने उनले बताए। नयाँ हाइब्रिड धानका कारण रैथाने बाली हराउँदै गएको हो।
पहिले साविक लेखनाथ नगरपालिकाको बेगनास एरियामा ७२ प्रजातिको धान भेटिन्थ्यो। अहिले धेरै प्रजातिका धान लोप भएको जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड)का कार्यक्रम अधिकृत इन्द्रप्रसाद पौडेलले बताए। धान मात्र होइन पहिले ५०÷६० प्रजातिको मकै हुनेमा अहिले तीन चार प्रजातिका मात्रै लगाउने गरेको उनले सुनाए। बंगारे मकै, मुरली मकै लोप हुने अवस्थामा रहेको उनले बताए। कोदोको अवस्था पनि त्यस्तै छ। पहिले १८ जातका कोदो हुनेमा अहिले तीन जात मात्र भेटिने गरेको छ। सम्दी कोदो लोप भइसक्ने अवस्थामा पुगेको पनि उनले बताए।
गाउँबाट बसाइँ सराइ गरेर सहर पस्नु, गाउँमै भएकाले पनि धेरै मिहिनेत पर्ने बालीको सट्टामा कम लागतमा धेरै फल्ने हाइब्रिड जातका बाली लगाउने गर्दा यो समस्या आएको पौडेलले सुनाए। जमिन धेरै बाँझो हुँदा धेरै प्रजातिका बालीनालीको बासस्थान नै मासिएको उनले बताए।
यस्ता महत्त्वपूर्ण अन्नबाली मात्र हाइन जैविक बालीको संरक्षण सामूहिक रुपमा र राज्यले संरक्षण गरेर मात्र सम्भव हुने उनले सुनाए। पोखरा महानगरपालिकाभित्रै २०४५ सम्म सुन्तला निकै राम्रो फल्थ्यो। अहिले पछिल्लो समयका सुन्तलाका पकेट क्षेत्रमा पनि सुन्तलाको बोट सुकेर मरेका छन्।
विश्व वातावरण दिवसको अवसरमा पोखरा २८ माझठानामा किसानले उत्पादन गरेका कृषि उत्पादन, जडीबुटीलगायत कृषि जैविक विविधताको प्रदर्शनीमा किसानले स्थानीय जातका अन्नबाली लोप हुँदै गएको बताए। पोखराको सौरेमा १६ कृषक समूहले उत्पादन गरेका जैविक विविधता प्रदर्शन गरिएको थियो।