‘आफ्नो नियम आफैं बनाउनुपर्छ’
काठमाडौं : सुरक्षा पन्त पछिल्लो समयकी सक्रिय अभिनेत्री हुन्। उनी सिभिल इन्जिनियरिङकी विद्यार्थी पनि हुन्। अनामनगरस्थित मण्डला थिएटरमा चलिरहेको ‘क्लेशा’ नामक नाटकमा उनले भूमि पात्रको चरित्र निर्वाह गरेकी छन्। क्लेशा उनको डेब्यु नाटक हो। कलेज पढ्दापढ्दै चलचित्रमा आएकी पन्तले अभिनय क्षमता तिखार्न नाटकमा अभिनय गरेको बताइन्।
सुरक्षा सानैदेखि अतिरिक्त क्रियाकलापमा सक्रिय थिइन्। चित्र बनाउने होस् या हाजिरिजवाफ प्रतियोगिता, जित उनकै पोल्टामा पथ्र्यो। पढाइमा अब्बल विद्यार्थी हुन् उनी। परिवारले डाक्टर या इन्जिनियर बनोस् भन्ने चाहन्थे। परिवारकै चाहनाका लागि उनी प्लस टु सकाएपछि काठमाडांै आएर इन्जिनियरिङ कलेजमा भर्ना भइन्।
आलोक नेम्बाङले बनाएको ‘अझै पनि’ उनको डेब्यु फिल्म हो। इमेज टीभीको ‘भीजे अन’ नामक टेलिभिजन कम्पिटिसनमा सुरक्षाले भाग लिएकी थिइन्। उनको त्यहाँको प्रस्तुति देखेर आलोकले चलचित्रका लागि अफर गरे। उनले साइड हिरोइनको भूमिकामा काम गरिन्। विडम्बना ! चलचित्र हलमा नलाग्दै आलोकले सुसाइड गरे। नेम्बाङको मृत्युले सुरक्षा बाबु गुमाएको जस्तो बनिन्। चलचित्र व्यावसायिक रूपमा सफल हुन सकेन। यसले उनलाई यही क्षेत्रमा काम गर्ने कि नगर्ने अलमल बनायो। केही समय अध्ययनमै ध्यान दिने निधो गरिन्। नेपाल इन्जिनियरिङ कलेजमा मास्टर्स लेभलमा भर्ना भइन्। पढाइसँगै कल कान्तिपुर र सगरमाथा टेलिभिजनमा एक वर्ष भीजेका रूपमा कार्यक्रम पनि सञ्चालन गरिन्।
मन पर्ने भूमिका नआउँदासम्म चलचित्रमा जान्नँ भनेर बसेकी थिइन् उनी। करिब दुई वर्षपछि उनलाई साम्तेनज भुटियाले ‘सुस्केरा’ फिल्मका लागि अफर गरे। उनलाई यो फिल्मको भूमिका मन प¥यो। सुस्केरापछि धनपति, भैरे, चंगाचेट, गोपी, घर, आमा, दासढुंगालगायतका फिल्ममा अभिनय गरिन्।
बुटवल सुक्खानगरकी रैथाने हुन् उनी। हाल धोबीघाटमा बस्दै आएकी छन्। अभिनयको क्षेत्र बहुमूल्य ठान्ने सुरक्षा फिल्म समाजको आवाज भएको दाबी गर्छिन्। कला सबैसँग नहुने बताउँदै सुरक्षा थप्छिन्, ‘निकै थोरै व्यक्तिले मात्रै आशीर्वादका रूपमा अभिनय क्षमता लिएर आउँछन्। यसैले पनि मलाई कलाकारिता अत्यन्तै मन पर्छ।’
फिल्मको कथामा ठूलो शक्ति हुने बताउँदै उनले फिल्मकै माध्यमबाट मासको सोचाइ एकैपटक परिवर्तन गर्न सकिने जानकारी दिइन्। औपचारिक रूपमा अभिनयको कक्षा लिने मौका नपाए पनि उनलाई आफ्नो अभिनयको दायरा बढाउनु छ। सधैंभरि प्राकृतिक अभिनय गरेर मात्रै अहिलेको माग पूरा गर्न नसकिने हँुदा अभिनयमा विविधता ल्याउनुपर्ने उनले बुझेकी छन्।
क्लेशा नाटकको अभिनयले कलाकारका रूपमा आफूभित्र कुन लेभलको क्षमता छ भन्ने चिन्न सहयोग गरेको उनले बताइन्। उनका अनुसार फिल्ममा अक्सर कलाकारले लक्जरी लाइफ बिताइरहेका हुन्छन्। फेम, पैसाको राम्रै माहोल हुन्छ। तर फिल्मको तुलनामा नाटकमा सबै कुराको अभाव छ। अभिनय र मेहनत ज्यादा गर्नुपर्छ। बिगार्ने छुट हुँदैन। थिएटरको अभिनयले हरेक कलाकारलाई अभिनय क्षेत्रको वास्तविक धरातल बुझ्न सहयोग पुग्ने उनको बुझाइ छ।
कलाकारलाई हरेक क्षेत्रको ज्ञान हुनुपर्ने उनको भनाइ छ। भन्छिन्, ‘पढाइ र काम फरक विधा हो। सोच्ने शैली पनि अत्यन्तै भिन्न हुन्छ। पढाइमा सिकेको ज्ञान, सीप र शैलीलाई अभिनयमा उतार्ने कोसिस गरिरहेकी हुन्छु।’ उनका अनुसार चलचित्र क्षेत्रको माहोलले हरेकलाई चाहिनेभन्दा बढी महत्त्व दिन्छ जसले गर्दा कलाकारले आफ्नो वास्तविकता बिर्सन्छन्।
नेपाली चलचित्र सही बाटोमा हिँडेको देख्ने पन्त देशको राजनीतिक अवस्थाले पनि यो क्षेत्रलाई असर पारेको बताउँछिन्। दर्शकले मन पराउने अत्यन्तै कम चलचित्र मात्रै बन्ने स्वीकार गर्दै उनले पछिल्लो समयका केही चलचित्रले व्यावसायिक सफलतासँगै चर्चा बटुलेको बताइन्। चलचित्र क्षेत्रका दुईचार गलत व्यक्तिले गर्दा यो क्षेत्र बदनाम भएकोमा उनको चित्त दुःखाइ छ। जीवनभर कलाकारितामै सक्रिय भएर प्रशस्त ज्ञान र अनुभव हासिल गरेका लिजेन्ड र सिर्जनशील व्यक्ति पनि यो क्षेत्रमा छन्। उनले मिडियाले राम्रोभन्दा नराम्रो कामको बढी चर्चा गरिदिने गलत चलन रहेको बताइन्।
कलेज पढ्ने बेलामै पहिलो पटक गहिरो प्रेममा परेकी सुरक्षा अहिले भने सिंगल छिन्। भन्छिन्, ‘पढाइ र करिअर बनाउन व्यस्त भएकाले लभको बारेमा सोच्ने फुर्सद छैन।’ पुरानो कुरा याद गर्दै भन्छिन्, ‘माया त एकअर्काले नै गथ्र्यौं तर पछि गन्तव्य मिलेन। कामतिर फोकस भएपछि एकअर्कालाई समय दिन पनि नभ्याइने रहेछ। सहमतिमै छुट्टियौं हामी।’ मायाको धङधङीबाट बाहिर निस्कन पनि निकै गाह्रो भयो उनलाई। ‘कलेजमा पनि एकोहोरो बस्ने, कसैसँग नबोल्ने, काममा फोकस नहुने, घरबाट निस्कनै मन नलाग्ने रहेछ’, उनले प्रेमले दिएको अनुभव सुनाइन्। साथीको सहयोगबाट नै आफू पुनः काममा फर्कन सकेको उनले बताइन्।
सबै तस्बिर : सुनिता डंगोल
आजका युवा स्वतन्त्र जिन्दगी बिताउन चाहने बताउँदै सुरक्षा स्वतन्त्रतालाई सफलताको मानक बनाउनुपर्नेमा जोड दिन्छिन्। अरूले नियम लगाएको मन नपराउने युवाले आफ्ना लागि आफैं नियम बनाउनुपर्ने बताउँछिन्। कामको कुरामा कोहीसँग सम्झौता गर्न नहुने उनको तर्क छ।
सुरक्षा कहिलेकाहीँ क्लब गएर नाच्न अनि साथीसँग घुम्न मन पराउँछिन्। यसले उनलाई रिफ्रेस बनाउँछ। कहिलेकाहीँ थोरै ड्रिंक्स गर्ने बानी भए पनि उनलाई वाइल्ड भएर पिउनचाहिँ मन पर्दैन। फुर्सद भयो कि केही न केही सिकिरहने, पढिरहने बानी छ उनको। भन्छिन्, ‘अहिले अभिनयमै रमाइरहेकी छु, कुनै दिन यो क्षेत्रबाट दिक्दारी पनि लाग्न सक्छ। त्यो बेलामा मलाई इन्जिनियरका रूपमा दर्शकले देख्न पाउनुहुन्छ। आफूलाई सल्लाह दिने अग्रज प्रशस्तै भए पनि जीवनसाथीका रूपमा कसैलाई चुज गरिनसकेको उनले बताइन्। भन्छिन्, ‘केही समय चलचित्रमै अलि बढी काम गर्ने सोच छ।’ नेपाली फिल्म नारीप्रधान बन्न नसकेकोमा भने उनको चित्तदुःखाइ छ। राजनीति, आर्थिक विकास, सामाजिक संरचनामा परिवर्तन भइरहेको अनुभव गर्ने उनले फिल्म क्षेत्र पनि अझ राम्रो हुनेमा विश्वास लिएकी छन्।