वातावरण जोगाउने चिन्तन

वातावरण जोगाउने चिन्तन

विश्वभरकै मानिसलाई भौतिक सम्पदाको आर्जन र त्यो पनि अरूको भन्दा बढी नै प्राप्त गरूँ भन्ने चिन्ता बढिरहेको हुन्छ तर वास्तवमै चिन्तन गर्नलायक र जरुरी पक्ष भने वातावरण कसरी जोगाउने त्यतातिर सबैको ध्यान जानुपर्ने हो। बहुसंख्यक मानिसलाई आफ्नो दैनिक जीवनको परिणामबारे थाहा छैन र उनीहरूलाई वातावरण जोगाउनु आवश्यक छ भन्ने पनि थाहा छैन।

मानिसहरू सोच्छन्– आफूलाई सबै कुरा थाहा छ तर थाहा छैन– बिग्रँदो वातावरण र जीवनमा यसको प्रत्यक्ष असरबारेमा। विश्व उष्णीकरण र भयावह रूपमा बिग्रँदो वातावरणको कारण जनजीवन वास्तवमै प्रभावित हुने आशंका गर्न सकिन्छ। यसको न्यूनीकरणका लागि मानिसमा एकदमै कम मात्रा सोचको विकास भएको पाइन्छ। यो वातावरण प्रदूषणमा हाम्रो प्रत्यक्ष हात छ भन्नेमा धेरै मानिस अनभिज्ञ रहेकै कारण भयावह स्थिति नआउला भन्न सकिन्न।

हाम्रो दैनिकी, जीवनशैली, नजानिँदो तरिकाले बढ्दै गएको आधुनिकीकरणको प्रभाव, आधुनिक उपभोग्य वस्तुहरूको प्रयोग, सवारी साधनहरूको बढ्दो प्रयोग, कृत्रिम बजारी खानपान, व्यवहार, फोहोर व्यवस्थापनमा चेतना अभाव, बढ्दो र अव्यवस्थित सहरीकरण, वन विनाश, खोलानालाको विनाश, प्राकृतिक जीवनशैली बिर्संदै गएर अप्राकृतिक जीवनशैलीको अनुसरणजस्ता कारण नै बढ्दो जलवायु प्रदूषण र जैविक विविधतामा हुने ह्रासका कारणहरू हुन्। त्यसमा पनि यी त देख्न सकिने उदाहरण मात्र हुन् र तीभन्दा पनि देख्न नसकिने वातावरणीय समस्या भनेको विश्वव्यापी रूपमा प्रदूषणको कारण बढ्दै गइरहेको तापक्रम हो। यो समस्यालाई विश्व उष्णीकरण (ग्लोबल वार्मिङ) भनिन्छ। यसले विश्वका धेरै भागको मौसममा परिवर्तन ल्याइरहेको छ। तापक्रममा सानो वृद्धिले ठूलो परिवर्तन निम्त्याउँछ।

विश्वका केही भागमा अत्यधिक बाढी र खतरनाक आँधीबेहरी आइरहेको छ भने केही भागमा एकदमै न्यून वर्षा भई अत्यधिक खडेरी परिरहेको छ। विश्व उष्णीकरणले जलवायु परिवर्तन निम्त्याइरहेको छ। यसले विश्वव्यापी रूपमा हाहाकार मच्चाइरहेको छ। हरेक वर्ष यसले मानव स्वास्थ्यमा गम्भीर समस्या निम्त्याइरहेको छ। वातावरणलाई हामीले परिवर्तन गर्न सकिन्न तर यसलाई जोगाउन अवश्य सकिन्छ यसकै बारेमा असली चिन्तन हुने हो भने।

नेपालमा स्वच्छ वातावरण प्रवद्र्धन गर्न प्रत्येक सचेत नागरिकदेखि सबै निकायको सक्रियता हुनैपर्छ।

नेपाल मात्र नभएर दक्षिण एसिया र हिन्दकुश हिमालय क्षेत्रका राष्ट्रमा वायु प्रदूषणको समस्या दिनप्रतिदिन बढ्दो छ। जलवायु परिवर्तन र वातावरण प्रदूषणबाट कृषि, जलस्रोत, मानव स्वास्थ्य, जनजीवन र आयआर्जनमा प्रत्यक्ष असर परेको हुन्छ। यो समस्या न्यूनीकरण गर्न सामूहिक प्रयास खोज्ने उद्देश्यले विभिन्न कार्यक्रम, सेमीनार र गोष्ठीहरू पनि हुने गरेका छन्। वातावरण प्रदूषण कुनै एक राष्ट्र र क्षेत्रको मात्रै नभई विश्वव्यापी समस्या भएर देखिएकाले यो समस्या समाधानका लागि सामूहिक प्रयास हुनुपर्नेछ। यसका लागि प्रत्येक व्यक्तिको चेतना जागृत हुन र वातावरणप्रति चिन्तन हुन जरुरी देखिन्छ। जलवायु परिवर्तन र वातावरण प्रदूषण विश्वको साझा समस्या भए पनि नेपालजस्तो विकासोन्मुख राष्ट्र र यहाँका जनता अरू बढी प्रभावित हुने देखिएको छ। तर यो समस्या एक्लो प्रयासले मात्रै समाधान हुन नसक्ने भएकाले हरेक व्यक्ति, समुदाय र राष्ट्रकै सामूहिक प्रयास आवश्यक छ।

हामीले गर्ने फोहोर, प्लास्टिकको अत्यधिक प्रयोग, नदीनाला प्रदूषित बनाउने कार्य, वन विनाश, खाली जग्गाको संरक्षण नहुनु, रूख काटेपछि त्यसको सट्टामा अरू रूख नरोप्नु, कतै खाली र श्वास फेर्न मिल्ने स्थानसमेत नराखी भवन निर्माण गर्नु, रासायनिक पदार्थहरूको अत्यधिक प्रयोग, मेसिनरी र कलकारखानाको अव्यवस्थित फोहोर र प्रदूषणजस्ता कार्यहरू बढ्दै गएर नै प्रत्येक वर्ष विश्व तापमान बढिरहेको र अब एक डिग्री तापक्रम बढे पृथ्वी मानव बसोवासका लागि योग्य नहुने चेतावनीसमेत विभिन्न अनुसन्धानमार्फत वैज्ञानिकले दिइसकेका छन्। यस्ता समस्या आउनुमा धनी तथा औद्योगिक राष्ट्रको हात धेरै रहे पनि यसको प्रभाव भने नेपालजस्ता गरिब तथा विकासोन्मुख राष्ट्रमै जटिल हुने देखिएको छ। तापमान बढ्दै जाँदा ठूलो असर पानीको मुहान सुक्दै जानु हो। यसले गर्दा एसियाली र अफ्रिकी मुलुक धेरै प्रभावित बनेका छन्।

पानीकै अभावले अबको केही वर्षमा नेपालमा मात्र नभएर धेरै राष्ट्रहरूको कृषि उत्पादन दोब्बर रूपमा घट्ने अनुमान गर्न सकिन्छ। हाम्रोजस्तो हिमालय क्षेत्र पानीको स्रोत भए पनि केही वर्षभित्रमा अरू बढी संकटमा पर्न सक्ने सम्भावनालाई नकार्न सकिन्न। यही विश्व तापमान वृद्धिकै कारण त हिउँले ढाकेर सेताम्य देखिने हिमालय पर्वत अहिले चट्टानको काला पहाडमा परिणत हुन थालेका छन्। तापमान वृद्धिसँगै हिमालको हिउँ पग्लिने दरमा वृद्धि, हिमताल फुट्ने र त्यसबाट तल्लो तटीय क्षेत्रमा बाढीको प्रकोप जटिल समस्या बनेर देखिन थालेका छन्।

बढ्दो औद्योगीकरण तथा सहरीकरणका कारण वातावरण प्रदूषण तथा जलवायु परिवर्तनबाट भएको व्यापक असरलाई न्यून गर्न हरितगृह ग्यासको उत्सर्जनमा व्यापक कटौती गर्नु आवश्यक छ। यसमा विकसित राष्ट्र अझै तयार हुन सकेका छैनन्। जल, जमिन, वायु र ध्वनि प्रदूषण बढेकाले यसको प्रत्यक्ष असर मानव स्वास्थ्य र जीविकोपार्जनमा परेको छ भन्ने चिन्तन चेतनाको स्तरबाट आएको छैन।

विभिन्न शोध–अनुसन्धानले बताएअनुसार नेपाल वातावरणीय संवेदनशीलता, प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनको प्रभावको दृष्टिले विश्वकै चौथो उच्च जोखिममा छ। यसको चिन्तन कसले गर्ने ? संवेदनशील भू–धरातलीय र भौगोलिक अवस्थिति तथा कमजोर भौगर्भिक बनावटका कारण मानवजन्य तथा प्राकृतिक प्रकोपबाट निकै ठूलो क्षति व्यहोर्नु परिरहेको छ। नेपालमा बर्सेनि ०.०६ डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ र यो वृद्धि अन्य क्षेत्रको तुलनामा हिमाली क्षेत्रमा बढी छ। यसको प्रत्यक्ष असर जीविकोपार्जनदेखि मानव अस्तित्वसम्म नै देखा परेको छ। जलवायु परिवर्तन प्रभाव सर्वेक्षण, २०७३ ले जलवायु परिवर्तनको असर जीविकोपार्जनमा कसरी परिरहेको छ भन्ने तथ्यांक सार्वजनिक गरिसकेको छ।

तथ्यांकअनुसार जलवायु परिवर्तन र वातावरण प्रदुषणका कारण पानीका स्रोत सुक्दै गएको, समयमा पानी नपरेको र खडेरी बढ्दै गएको, खेतीबालीमा रोग, किरा बढेको उल्लेख पाइन्छ। त्यसैले जलवायु परिवर्तन र वातावरणीय प्रदूषणको प्रभाव न्यूनीकरण गर्न नेपाल अझै संवेदनशील हुनुपर्ने खाँचो छ। वातावरण प्रदूषण र मौसम परिवर्तनका कारण धेरै कीरा र रोगहरू निम्त्याउने जनावरहरूको संख्यामा वृद्धि भई विभिन्न रोगव्याधी लाग्ने र फैलिने गरेको तथ्य पुष्टि भएको छ।

कतिपय वस्तुको पुनः प्रयोग एवं पुनः प्रशोधनद्वारा वातावरणलाई स्वच्छ राख्न मद्दत गर्छ। यस्ता प्रक्रिया अपनाउनुपर्दछ। पैसा भएर पनि पानी, हावा, जंगल, खानाजस्ता मानव जीवनका अत्यावश्यक वस्तु नहुँदाको क्षण कति कष्टकर होला जीवन ? प्राकृतिक स्रोतहरू नष्ट नै हुने गरी प्रयोग गर्नु हुँदैन भन्ने कुरामा जनचेतना जगाउने काम सबै क्षेत्रबाट हुनुपर्छ। जैविक विविधता र विशिष्टतालाई संरक्षण तथा संवद्र्धन गरी नेपालमा स्वच्छ वातावरण प्रवद्र्धन गर्न प्रत्येक सचेत नागरिकदेखि सबै निकाय सक्रिय हुन आवश्यक छ।

भौतिक विकास र वातावरणबीच वैज्ञानिक आधारमा परिपूरक सम्बन्ध र समन्वय कायम गर्नुपर्छ। वातावरणीय संरक्षण संवेदनशील र व्यापक क्षेत्र भएकाले सरकारको एक्लो प्रयासबाट मात्रै सम्भव नहुने भएकाले सबैको सहयोग आवश्यक छ। मानवीय क्रियाकलापबाट जल, स्थल, वायु प्रदूषण र विश्व तापमानमा पर्ने प्रभाव र वन्यजन्तु र वनजंगलमा पर्ने असरबारे सचेतना फैलाउँदै वास्तवमै चिन्तन आवश्यक छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.