डिप्लोमा कोर्सका लागि 'नो अब्जेक्सन लेटर' बन्द
काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले डिप्लोमा कोर्स (विभिन्न सीपमुलक तालिम) का लागि विदेश जान चाहने विद्यार्थीलाई अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर- एनओसी) नदिने निर्णय गरेको छ।
मंगलबार साँझ गरिएको मन्त्रीस्तरीय निर्णय अनुसार अब सिधै विश्वविद्यालयमा पढ्न जाने विद्यार्थीका लागि मात्र यस्तो पत्र दिइनेछ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराज मणि पोखरेलका स्वकीय सचिव पुरन केसीका अनुसार अबदेखि विश्वविद्यालयमा भर्ना हुने सुनिश्चतता भएका विद्यार्थीलाई त्यस्तो पत्रको आधारमा नो अब्जेक्सन लेटर दिइनेछ।
मन्त्रालयको यो निर्णयबाट उच्च शिक्षाको लागि विदेश जाने योजना बनाएका थुप्रै विद्यार्थी प्रभावित हुनेछन्। यसअघि कक्षा १२ को परीक्षामा उच्च अंक ल्याएका तथा विदेशी भाषा परीक्षण सम्बन्धी परीक्षा (विशेषगरी आइएलटीएस) मा न्यून अंक ल्याएका विद्यार्थी पनि डिप्लोमा कोर्समा भर्ना भएर विदेश जाने गरेका थिए।
डिप्लोमा कोर्सका बारेमा एकीन परिभाषा तथा मापदण्ड नभएका कारण एक वर्षे, नौ महिने तथा ६ महिने कोर्सका लागि विद्यार्थीले नो अब्जेक्सन लेटर लिने गरेका थिए। यस्तो कोर्सलाई उच्च शिक्षाका मान्यता कतै पनि दिइँदैन। उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीलाई मात्र यस्तो पत्र दिन सकिने कानुनी व्यवस्था भएपनि परामर्श व्यवसायीको दबाबमा विद्यार्थीलाई डिप्लोमा कोर्सका लागि पनि पत्र दिने गरिएको थियो।
पछिल्लो समय डिप्लोमा कोर्सका लागि जापान, अस्ट्रेलिया लगायतका मुलुकमा धेरै विद्यार्थी जाने गरेका छन्। मन्त्रालयको निर्णयबाट यी मुलुक जाने योजना बनाएका विद्यार्थी बढी प्रभावित हुने परामर्श व्यवसायीहरूको भनाई छ। पछिल्लो समय डिप्लोमा कोर्सका लागि भन्दै नेपालमा एसएलसी (एसईई) मात्र उत्तीर्ण गरेका विद्यार्थी पनि विदेश जाने गरेका थिए।
यसरी जाने विद्यार्थीले नक्कली एनओसी बनाएको गुनासो पनि मन्त्रालयमा प्रशस्त आएको थियो। विदेश जाने बेलामा मुद्रा सटहीका लागि मन्त्रालयको एनओसी आवश्यक पर्छ।