गुठी विधेयक विवादमा सरकारले भन्यो- 'चासोको सम्मान गर्छौँ'
काठमाडौं : गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ का बारेमा आएका चासो र चिन्तालाई सरकारले सकारात्मक रुपमा लिएको जनाएको छ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले बुधबार विज्ञप्ति जारी गरी धर्म, संस्कृतिको संरक्षणमा मन्त्रालयले उच्च प्राथमिकतामा राखेको जनाएका हुन्।
विधेयकमाथि विभिन्न सरोकारवाला समुदायको चासो र चिन्ता प्रकट भएकोतर्फ मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा सदियौँदेखि अभ्यास भइआएका धार्मिक, सांस्कृतिक मूल्य मान्यता र परम्पराहरूको संरक्षण, सम्बर्द्धन र विकास आफ्नो प्राथमिकतामा रहेको जनाइएको छ।
'विभिन्न कोणबाट आएको राय, सल्लाह र सुझावहरूलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको छ', विज्ञप्तिमा भनिएको छ, 'समस्त सरोकारवालाको चासो, चिन्ता र सुझावको उच्च सम्मान गर्दै अगाडि बढ्ने प्रतिबद्धता गर्दछौँ।'