तपाईंको कोठा सर्यो !
काठमाडौं : कोठा सर्यो ! हो, तपाईंको कोठा अर्काको जग्गामा पर्न गएको छ। वैज्ञानिक रूपमा नापी नहुँदा तपार्इंले त्यसको जानकारी पाउनुभएको छैन। भूकम्पले जग्गाको नापजाँच चुस्तदुरुस्त गर्न स्थापित नियन्त्रण बिन्दु सारिदिएपछि एउटा कोठा बराबरको जमिन सरेको हो।
भूकम्पले देशभरका झन्डै तीन लाख नियन्त्रण बिन्दुको सञ्जाल ध्वस्त पारिदिएको। जसले गर्दा नेपालको नक्सांकनको दिशा परिवर्तन भएको छ। नापी विभागका पूर्वमहानिर्देशक पुण्यप्रसाद ओली भुइँचालोले नियन्त्रण बिन्दु भताभुंग बनाइदिएको बताउँछन्। ‘भुइँचालोले नियन्त्रण बिन्दु नै सारिदिएको छ,’ उनले भने, ‘यसले गर्दा जमिन गोलमाल भएको छ।’ भूकम्पपछि जिपिएस प्रविधिबाट सर्वेक्षण गर्दा मुख्य नियन्त्रण बिन्दुका रूपमा रहेको नगरकोटको नियन्त्रण बिन्दु करिब ३ मिटर दक्षिणपश्चिम सरेको छ। यसलाई ‘फन्डामेन्टल प्वाइन्ट’ पनि भनिन्छ।
पृथ्वीको जमिन प्रतिवर्ष २.५ सेन्टिमिटर उत्तर सरिरहेको छ। पहाड हिमालमा ठोक्किइरहेको छ। तर त्यसको ठिक उल्टो भूकम्पले तीन मिटर उत्तर जानुपर्नेमा यति नै दक्षिणपश्चिम सारिदिएको छ। ‘उल्टो भयो, यसले पूरै एउटा कोठा बराबरको जमिन सरेको छ,’ उनले भने, ‘तपाईंको कोठा अर्काको जग्गामा परेको हुन सक्छ।’
ओलीले नेपालमा पर्खाल, आली र धुरमा विश्वास गर्ने भएको मात्रै त्यो अनुभूति नभएको बताए। वैज्ञानिक प्रविधिबाट नापजाँच गर्ने हो भने त्यो स्पष्ट देखिने उनको भनाइ छ। नियन्त्रण बिन्दु ध्वस्त हुँदा नहर निर्माणमा सबैभन्दा समस्या रहेको उनले बताए। ‘नियन्त्रण बिन्दु ध्वस्त भएको हुँदा एउटा गरामा गएको पानी अर्कोमा नजान सक्छ,’ उनले भने। नियन्त्रण बिन्दुको आधार मानेर जलविद्युत् आयोजना, सिँचाइ आयोजना, सडक, विकास निर्माणलगायत जग्गा जमिनको सर्भे गरिन्छ।
नगरकोटको ‘फन्डामेन्टल प्वाइन्ट’ को ८ वटा अत्यन्त ‘बेसिक फस्ट अर्डर’ बिन्दु छन्। त्यसका साथै देशभर ६८ वटा मुख्य नियन्त्रण बिन्दु छन्। त्यसलाई पहिलो दर्जामा राखिएको छ। दोस्रो दर्जामा ६ सय ५३, तेस्रो दर्जामा तीन हजार ७० र चौथो दर्जामा दुई लाख ५६ हजार चार सय दुईवटा नियन्त्रण बिन्दु छन्। यी सबै नियन्त्रण बिन्दु भूकम्पले हल्लाइदिएको छ। जसले विकास निर्माणमा फरक पार्छ। दोस्रो, तेस्रो दर्जाको नियन्त्रण बिन्दुको आधारमा सडक, जलविद्युत आयोजनाको सर्भे गरिन्छ भने कित्ता नापीका लागि चौथो अर्डरलाई आधार मानिन्छ। पहिलो, दोस्रो र तेस्रो दर्जा नभइनहुने नियन्त्रण बिन्दु हुन् भने चौथो दर्जाको नियन्त्रण बिन्दु आवश्यकताका आधारमा खडा गरिन्छ।
नापी विभागका महानिर्देशक प्रकाश जोशीले भूकम्पले नियन्त्रण बिन्दु ध्वस्त भएकाले नक्सा गलत हुने बताए। उनले ध्वस्त नियन्त्रण बिन्दु पुनस्र्थापनाका लागि नवीनतम प्रविधि उपयोगमा ल्याउने तयारी भइरहेको जानकारी दिए। यसका लागि देशभर ‘कन्टिन्युअस अपरेटिङ रेफरेन्स स्टेसन’ स्थापना गर्ने तयारी विभागले गरिरहेको छ। महानिर्देशक जोशीका अनुसार कोर्स स्थापनाका लागि पहिलो चरणको काम सुरु भएको छ। ‘यो वर्ष अफिस प्लानिङ र पेपर वर्कको काम सक्छौं,’ उनले भने, ‘चरणबद्ध जान्छौ।’ उनले कोर्स स्थापना भएपछि स्याटलाइटमार्फत चुस्तदुरुस्त जग्गाजमिनको नापजाँच गर्न सकिने दाबी गरे।
पुराना त्रिकोणात्मक विधि र नयाँ जीपीएस प्रविधिबाट अक्षांश, देशान्तर र उचाइ पत्ता लगाएर रुपान्तरण गरिनेछ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता एवं सहसचिव जनकराज जोशीले बजेटमा भूकम्पले ध्वस्त बनाएको नियन्त्रण विन्दुको सञ्जाल बलियो र शुद्ध बनाउने कुरालाई प्राथमिकतामा राखेको जानकारी दिए। उनले देशभर १५० वडा कोर्स खडा गर्ने सरकारको लक्ष्य रहेको बताए। ‘पहिला क्षति भएको ठाउँमा खडा गर्छौं। त्यसपछि बढाउँदै लैजान्छौं,’ उनले भने। उनले कोर्स स्थापना गर्न ठूलो धनराशि लाग्ने बताए। उनका अनुसार विश्व बैकसँग मिलेर प्रतिवेदन तयार पार्ने काम भइरहेको छ।