प्रधानमन्त्रीको युरोप दौडाहा

प्रधानमन्त्रीको युरोप दौडाहा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भाषण गर्न औधी रुचाउँछन्। यतिसम्म कि चिकित्सकले बोल्न बन्देज लगाएका बेला पनि उनले भाषण गरिदिन्छन्। एउटा उदारहण हो—प्रचण्डपुत्र प्रकाशको पूण्य तिथि। 

हप्तादिन लामो अस्पताल बसाइबाट निस्किएका प्रधानमन्त्री ओली मंसिर ३ गते प्रचण्ड निवास खुमलटार पुगेर १५ मिनेट लामो भाषण दिए। प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यलाई भन्दा प्रथामिकता भाषणलाई दिए। यस अर्थमा प्रष्ट छ प्रधानमन्त्री ओली बोलक्कड छन्। 

आफ्नो भाषणकै कारण उनको पहिचान नेपालमा अलग छ। अहिले उनी ९ दिने युरोप भ्रमणमा छन्। यो भ्रमणका क्रममा प्रधानमन्त्रीको भाषण अन्तराष्ट्रिय रुपमा स्तरवृद्धि भएको विदेश मामिलाका जानकार बताउँछन्। 

’अरु कुरा हुँदै गर्लान् तर तत्कालका लागि प्रधानमन्त्रीको भाषणमा स्तरवृद्धि भएको देखिन्छ, उहाँ भाषणको सौखिन मान्छे, बेलायत गएर विभिन्न स्थान तथा माध्यमबाट बोल्नुभयो, पहिले नेपालमा मात्रै थियो अब उहाँको वाक क्षमता अन्तर्राष्ट्रिय स्तरमा पुग्यो’ पूर्वराजदूत तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ भन्छन्,’ त्यहाँ गएर उहाँले स्वतन्त्रताको बखान गर्नुभयो तर यता मिडियालाई खोम्च्याउने विधेयक ल्याउनु भएको छ, यस्ता कुरा धेरै छन्।’ 

प्रधानमन्त्री ओलीको युरोप भ्रमण २५ जेठबाट सुरु भएको थियो। २७ गते  स्वीट्जरल्यान्डको जेनेभामा भएको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को शतवार्षिकी समारोहमा पुगेर उनले सम्बोधन गरे। जहाँ उनले देशको पछिल्लो अवस्था, श्रम सम्मान, रोजगारी र नेपालीले विदेशमा गरेका काम र ती देशसँगको सहकार्यबारे आफ्नो धारणा राखे।

आईएलओको उक्त शतवार्षिकी समारोहमा प्रधानमन्त्री ओली बाहेक अन्य एसियाली राष्ट्रका प्रमुखको उपस्थिति थिएन। उक्त समारोहमा उनले स्वीट्जरल्यान्डकै समकक्षीसँग भेटवार्ता गरेनन्। त्यस्तै २७ गते बेलुकी प्रधानमन्त्री ओली जेनेभाबाट बेलायततर्फ लागे। नेपाल—बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०३ वर्ष पुगेको अवसर पारेर उनी त्यहाँ पुगेका हुन्।

प्रधानमन्त्रीले २८ गते अक्सफोर्डमा अध्ययनरत विद्यार्थी, प्रोफेसर, रिसर्चरका साथै बेलायतस्थित नेपाली समुदायका प्रतिनिधिसहितका करिब ४ सय सहभागी माझ ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य प्राप्तिका लागि सरकारले तय गरेका प्राथमिकता र दीर्घकालीन योजनाबारे प्रवचन दिए। अक्सफोर्डमा उनले करिब २५ मिनेट लामो प्रवचन दिएका थिए। 

दोस्रो चरणको प्रश्नोत्तर कार्यक्रममा सहभागीले सोधेका विदेश नीति, पार्टी एकता, सरकारको नेतृत्व लगायतका प्रश्नमा उनले जवाफ दिएका थिए। सरकारको नेतृत्व आलोपालो गर्ने प्रचण्डको सहमतिका विषयमा अब पार्टीले नै टुंगो लगाउने समेत घोषणा गरेका थिए। 

बेलायत भ्रमणको दोस्रो दिन प्रधानमन्त्री ओलीले सत्तारुढ पार्टीको नेतृको रुपमा राजीनामा दिइसकेकी प्रधानमन्त्री टेरिसा मेसँग भेटवार्ता गरे। बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटमा ओली र मेबीच करिब आधा घण्टा कुराकानी भयो। 

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अन्नपूर्णलाई भने अनुसार भेटमा प्रधानमन्त्री ओलीले मेसँग गोर्खाको समस्या समाधानको लागि पहल गर्न आग्रह गरे।  गोर्खा भर्तीसम्बन्धी बेलायत, भारत र नेपालको बीचमा भएको त्रिपक्षीय सन्धिमा पुनरावलोकन हुनुपर्ने धारणा प्रधानमन्त्रीले राखेका थिए। 

प्रधानमन्त्री ओलीले सोही दिन बेलायती राजकुमार ह्यारीलाई भेटे। केन्सिंगटन प्यालेसमा भएको भेटमा ओलीले भूकम्पपछिको पुनर्निर्माणमा नेपाल पुगेर गरेको सहयोगका लागि ह्यारीलाई धन्यवाद दिए। यसैबीच प्रधानमन्त्री ओलीले बेलायतको प्रमुख विपक्षी पार्टी लेबरका नेता जेरेमी कोर्बिनलाई पनि भेटे। 

बेलायतमा चलिरहेको आन्तरिक राजनीतिबारे अध्ययन नै नगरी प्रधानमन्त्री ओली त्यहाँ गएको निष्कर्ष परराष्ट्रविद् श्रेष्ठको छ । बेलायतमा प्रधानमन्त्रीले राजीनामा दिएका बेला हाम्रो प्रधानमन्त्री त्यहाँ जानु उचित हो कि होइन, त्यो कुरा उहाँले पहिल्यै ध्यान दिनुपथ्र्यो’ उनी भन्छन्। 

प्रधानमन्त्री ओलीमाथि बीबीसीमा बिना तयारी अन्तर्वार्ता दिएको आरोप छ। बीबीसीका पत्रकारले गरेको प्रश्नमा प्रधानमन्त्री ओलीले कूटनीतिक जवाफ दिन नसकेको कूटनीतिक जानकारको बुझाई छ ।

डेढ वर्षमा ९ विदेश भ्रमण
प्रधानमन्त्रीले ओलीले आफ्नो डेढ वर्षे अवधिमा ९ वटा विदेश भ्रमण गरिसकेका छन्। ती भ्रमण मध्ये दुईवटा भ्रमण मात्र नेपालका लागि फाइदाजनक रहेको विदेश मामिलाका जानकार बताउँछन्। 

प्रधानमन्त्री भएपछि ओलीले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट सुरू गरेका थिए। ०७४ चैत २३ देखि २५ गतेसम्म चलेको उक्त भ्रमणले बिग्रिएको नेपाल—भारत सम्बन्धलाई टेका दियो। त्यति मात्र होइन, रेलमार्ग, कृषिसँग र व्यापारसँग सम्बन्धित विभिन्न सम्झौता भए। 

प्रधानमन्त्री ओलीको दोस्रो भ्रमण हो चीनको। ०७५ असार ५ देखि १० गतेसम्म चलेको उक्त भ्रमण पनि फाइदा जनक नै रह्यो। उक्त भ्रमणमा नेपाल—चीनबीच विभिन्न समझदारी भए। ती समझदारीहरू नेपालका लागि फाइदाजनक नै छन्। त्यो भ्रमणका बेला नेपाल—चीनबीच रेल, सडक, पुल, आर्थिक विकास, ऊर्जा आदि विभिन्न विषयमा महत्वपूर्ण १० सम्झौता भएका भएका थिए भने ४ वटा विषयमा ‘लेटर अफ एक्सचेन्ज’ भए।

भ्रमणमा कोशी, गण्डकी र कर्णाली आर्थिक करिडोरका सम्बन्धमा भएका घोषणालाई सम्झौतामा रुपान्तरण गरिएको थियो। चीनको स्वशासित क्षेत्र तिब्बतबाट खाद्यान्न ढुवानीका निम्ति आठ सीमा नाका खोल्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुनाका साथै केरुङ–काठमाडौँ रेलमार्ग निर्माण, दुई देशका परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना, रसुवागढी–केरुङ र तातोपानी–जाङ्मुमा ‘नेपाल–चीन मैत्रीपुल’ निर्माणसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको थियो। 

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनका लागि अमेरिकाको भ्रमण समेत गरे। गत असोज ८ बाट १२ गतेसम्म भएको भ्रमणमा उनले विभिन्न मुलुकका राष्ट्र प्रमुखसँग भेटवार्ता गरे।  यी भ्रमणबाहेक प्रधानमन्त्री ओलीका अन्य भ्रमण खासै उपलब्धिजनक रहेनन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.