आत्महत्याको तथ्यांक कहालीलाग्दो
ललितपुर : श्रीमान्ले कान्छि श्रीमती ल्याएपछि २६ वर्षकी जानु शर्मा दुई वर्षकी छोरीसाथमा लिएर एक्लै बसिन्। जानुका श्रीमान् ३ महिनादेखि कान्छि श्रीमतीसँग बस्न थाले। दक्षिण ललितपुरको महांकाल गाउँपालिकाको गुम्बाडाँडामा भाडामा बस्दै आएकी उनले गत बिहीबार २१ महिनाकी छोरीलाई झुन्ड्याएपछि आफूले पनि आत्महत्या गरिन्।
कोरीबाटी चिटिक्क परेर कोठाको दलिनमा छोरीलाई झुण्ड्याएपछि जानु आफू पनि झुण्डिइन्। मृगौला फेल भएर उपचार गराइरहेका कोन्जोस्योम गाउँपालिका शंखुका २६ वर्षीय उपेश थिङको शंकास्पद मृत्यु भयो। लगनखेलको बटुकभैरव मन्दिर छेउको पार्कमा उनी मृत फेला परे। मृगौला फेल भएपछि पुल्चोकस्थित निदान अस्पताललमा उपचार गराइरहेका उनले बिष सेवन गरी आत्महत्या गरेको प्रहरी अनुमान छ। घरबाट उपचार गर्न भनि उनी हिँडेको परिवारले जानकारी दिएको छ।
जानु र उमेश प्रतिनिधि पात्र हुन्। ललितपुरमा आत्महत्याको तथ्यांक हेर्दा कहाली लाग्दो छ। महानगरीय प्रहरी परिसर जाउलाखेलका अनुसार प्रतिमहिना कम्तिमा पाँचजनाले आत्महत्या गरेका छन्। गत वर्षको साउनदेखि वैशाखसम्म कम्तिमा ५ देखि १३ जनाले आत्महत्या गरेका छन्। परिसरका प्रवक्ता नारायण चिमोरियाकाअनुसार १० महिनामा ७८ जनाले आत्महत्या गरेका छन्। साउनमा ८, भदौमा ५, असोज १०, कात्तिकमा ६, मंसिरमा ५, पुसमा ८, माघमा ९, फागुनमा ७, चैतमा ७ र वैशाखमा १३ जनाले आत्महत्या गरेका छन्।
०७५/७६ मा झुण्डिएर आत्महत्या गर्नेको संख्या बढी छ। यो वर्ष ५४ जनाले झुण्डिएर आत्महत्या गरेका छन्। त्यस्तै विष सेवन गरी २१ र औजार प्रयोग गरेर दुईजनाले आत्महत्या गरेको प्रहरीले बताएको छ। १ जनाले भने झुण्डिएर आत्महत्याको दुरुत्साहन गरेका छन्।
परिसरमा ०७४/७५ मा ९३ वटा आत्महत्याका घटना दर्ता भएका छन्। वर्षभर दर्ता भएका ९ सय ४५ घटनामध्ये ९३ वटा आत्महत्याका छन्। ०७३/७४ मा पनि ९१ जनाले आत्महत्या गरेका थिए। यो वर्ष परिसरमा ८ सय ५८ वटा घटना दर्ता भएको थियो। त्यस्तै ०७२/७३ मा ७७ जनाले आत्महत्या गरेका छन्। उमेर समूहका हिसाबले १६ वर्षदेखि २५ वर्ष उमेरका मानिसले धेरै आत्महत्या गरेका छन्।
समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा आत्महत्या गर्न प्रेरित गर्ने वातावरण समाजले नै बनाइरहेको समाजशास्त्री बिना झा बताउँछिन्। ‘आत्महत्या गर्नु व्यक्तिगत कारण मात्रै होइन’, उनी भन्छिन्, ‘समाजले यस्तो वातावरण बनाइदिएको छ।’
‘सामाजिक संरचना एवं सामाजिक दबाबका कारण मान्छेले एक्लो महशुस गर्छ। समस्याको समाधान खोज्दाखोज्दै आत्महत्या गर्न पुग्छ। सामाजिक बाध्यताले नै मान्छेले बलियो महशुस गर्न नसक्दा आत्महत्या हुने गरेको हो’, झाले भनिन्। ‘परीक्षा फेल भएर विद्यार्थीले आत्महत्या गर्दैन। परिवार र समाजको कसरी सामना गर्ने दबाब पर्छ। आत्महत्या गर्न प्रेरित हुन्छ’, उनले भनिन्।