बलात्कार अभियोगमा एकजनाविरुद्ध उजुरी, आरोपित फरार
राजविराज : पानी लिने बहानामा घर पसेका सप्तरीको विष्णुपुर गाउँपालिका–३ मुसहर्नियाका ४० वर्षीय दीपु रजकले ३० वर्षीया महिलालाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार उजुरी दर्ता गरेको छ ।
घरमा कोही नभएका बेला ट्युबवेलबाट पानी लिने बहानामा आएका उनले गत सोमबार राति बलात्कार गरेको भन्दै पीडितले बिहीबार उजुरी दिएकी थिइन् ।
पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परिक्षण गरी उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी मनोजकुमार यादवले बताए ।
एक छोरा र एक छोरीकी आमा पीडितका पति रोजगारका लागि विदेशमा छन् । आरोपित भने दुई छोरा र तीन छोरीका बुवा हुन् । आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ । सप्तरी प्रहरीका अनुसार जेठ महिनामा मात्र सात बलात्कार, एक बलात्कार प्रयास र एक बाल यौन दुव्र्यवहारको उजुरी दर्ता भएको छ ।