अर्थशास्त्रीको संगीतशास्त्र
औंलामा गन्न सकिने केही घर। भृकुटीमण्डपभित्रको ठूलो पोखरीमा पौडी खेल्दै गरेका युवा। स्कुलबाट फर्केपछि फुर्सदिला युवाको रोजाइ हुन्थ्यो टँडिखेल। सक्नेहरू बल बोकेर जान्थे र फुटबल खेल्थे। ससाना बच्चाहरू मोजाको बल बनाएर सातपत्रे खेल्थे टुँडिखेलमा। ओहो ! साँच्चिकै सुन्दर थियो, त्यति बेलाको काठमाडौं।
तीन दशकदेखि नेपाली संगीतमा साधनारत संगीतकार राजु सिंह आफ्नो बाल्यकाल सम्झिरहेका थिए। उनलाई कलेजको प्रोफेसर, बैंकरजस्ता पेसा अपनाउँछु भन्ने लाग्थ्यो। तर आफूभित्रको सांगीतिक मनले उनलाई संगीतकार बनायो। काठमाडैाँकै एक कलेजमा अर्थशास्त्र विषय अध्यापन गरेर ‘प्रोफेसर’सम्म चैँ हुन् है।
पुतलीसडक वरपर लहलह धानका बाला झुल्थे। जब मकैले धानचवर फैलाउँथ्यो, मक्ख पर्थे उनी। मकै पोलेर खाने रहरमा कलिलै घोगा भाँचिदिन्थे। कसैले गाली गर्दैनथे त्यो बेला। परेको बेला जोकोहीले सघाउँथे। खेतमा काम गर्ने कृषकहरूले बारीमा फलेका तरकारी, अम्बा, हलुवावेद सित्तैमा बाँडिदिन्थे।
आफूलाई संगीतको विद्यार्थी मात्रै ठान्ने सिंह भन्छन्, ‘अपेक्षाबिनै धेरै थोक दिलायो संगीतले।’ सिंहले हजारभन्दा बढी गीतमा संगीत दिइसकेका छन्। उनको संगीतमा ३७ वटा सोलो एल्बम बजारमा आए।
काठमाडौंका रैथाने सिंह भृकुटीमण्डपमा हुने विभिन्न गीतको सुटिङ हेरेरै यसतर्फ आकर्षित भएका हुन्। दीप श्रेष्ठ, नारायणगोपाल, प्रकाश श्रेष्ठ, दीपक खरेल, ओमविक्रम राणाका गीत सुनेर हुर्किएका हुन् सिंह। पुराना गीत सुन्दा उनलाई अहिले पनि आनन्द लाग्छ। गोपाल योञ्जन, नातिकाजी, अमर गुरुङलगायतका संगीतकारले भरेको संगीतको धुन सुनेरै यसतर्फ आएको उनी बताउँछन्।
सिंहका बुवा भगत सिंह पनि कुशल वाद्यवादक हुन्। भन्छन्, ‘पहिलोे सांगीतिक गुरु नै बुवा हो।’ उनका बुवाले केही समय रेडियो नेपाल र राष्ट्रिय नाचघरमा पनि काम गरेका थिए। बुवालाई पछ्याउँदै रेडियो नेपाल पुग्थे उनी। त्यहाँ गीत रेकर्ड गरेको, बाजा बजाएको सुन्थे–हेर्थे। कताकता ती धुनहरूले छुन्थ्यो उनलाई। घरमा आएर बजाउने कोसिस गर्थे। नाचघरमा नाटक हेर्न पुग्थे। कलाकारको अभिनयले तान्थ्यो। कहीँ कतै संगीत बजेको सुन्दा उनलाई बेहद आनन्द लाग्थ्यो। बुवासँगै बसेर अनेक जिज्ञासा राख्थे, लुकीलुकी स्टुडियो पुग्थे।
पहिले पढ्नुपर्छ अनि मात्रै अन्य काम गर्ने भनेर अर्डर दिन्थे, बुवा। राजुका भाइ कल्याण सिंह पनि संगीतकार हुन्। राजुको परिवार नै संगीतमय थियो। उनकी आमा पनि संगीतप्रेमी थिइन्। गीत गुनगुनाउँदै घरधन्दा गर्थिन्। घरखर्चलाई राखेको पैसा लुकाएर राजुलाई गीत रेकर्डिङका लागि दिन्थिन्।
संगीतमा आउँदा संगीतलाई डुबाउने होइन, आफैं डुब्नुपर्छ।’
सांगीतिक क्षेत्रमा राजुको आगमन भने प्रतिविम्ब ब्यान्डमार्फत भएको हो। सुदीप रिजाल, जोन, वसन्त वित्यासी थापा, नवीन श्रेष्ठ, पुनम प्रधान, इन्द्र श्रेष्ठ, धन्सु घले, पवन राजभण्डारी, सुशील दाहाल, शाश्वत पराजुलीलगायतले २०४७ सालदेखि नै यो ब्यान्ड स्थापना गरेका थिए। उनको सुरुआती सांगीतिक विधा भने पप थियो। यो ब्यान्ड निकै चर्चित थियो त्यो बेला। सुरुआतमै नारायणगोपालको ‘गीतियात्रा’ नामक एल्बम बजारमा ल्याएका थिए। मान्छेहरूले खोजी खोजी एल्बम किन्ने जमाना थियो त्यो बेला। रिलको चक्का क्यासेटमा हालेर बजाइन्थ्यो।
यही ब्यान्डले ‘कहाँ तिम्रो मायालुलाई’, ‘आकाशको बादल सरी’, ‘कहीँ बर्बाद नहोस्’ लगायतका चर्चित गीत ल्यायो। यो ब्यान्ड छोटो समयमै चर्चा कमाउन सफल भयो। आनन्द कार्कीको स्वरमा रहेको ‘फेरि तिम्रो याद आयो’ नामक एल्बममा संगीत गरेपछि सिंहले कहिल्यै पछाडि फर्केर हेर्नु परेन।
कमाउनभन्दा पनि गुमाउन संगीतमा आएको हँ भन्छन् सिंह। तर संगीतकै कारण अनेकन् सम्मान पाएकोमा मक्ख छन् उनी। गीतको सेन्स बुझ्नसक्ने र धेरथोर सैद्धान्तिक ज्ञान भएको संगीतकारका रूपमा आफूलाई चिनाउन चाहन्छन्। उनले ट्रिनिटी कलेज अफ म्युजिक लन्डनमा चार वर्षसम्म म्युजिककै अध्ययन गर्ने मौका पाए। स्टाफ नोटेसन तहको एट लेभल पास गरे। त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर पनि हुन्, राजु।
निरन्तर संगीतकर्ममै लाग्ने क्रममा उनले गुरु जितेन्द्र जोशीसँग शास्त्रीय संगीत सिके। प्रयाग संगीत विश्वविद्यालय इलाहाबादबाट ६ वर्षे म्युजिक कोर्स बीम्युज सम्पन्न गरे। म्युजिकको पढाइले उनलाई लगनशील राजु सिंह हुन सिकायो। असल हुनुपर्छ भन्ने बनायो। संगीत जीवन्त हुनुपर्छ भन्ने बुझायो। उनी भन्छन्, ‘आफूले बनाएको गीत सुन्नेले पनि मेरा लागि बनेको गीत भनेर फिल गर्नसक्ने हुनुपर्छ।’
ट्रिनिटी कलेजमा उनले विभिन्न देशका साथीसँग स्वस्थ प्रतिस्पर्धा गर्न सिके। बिहान ४ बजे उठेर स्केल, भोकलको प्राक्टिस गर्ने र रातरातभर भ्वाइलिनमा झुन्डिने गर्थे उनी। भ्वाइलिनको नोट्स, स्केल, कम्पास, कट्सका एक एक धुन र नियमलाई जान्ने कोसिस गरे। तर पनि थकाइ लाग्दैनथ्यो। उनी मुसुक्क मुस्काउँदै २५÷२६ वर्षअगाडिको ट्रिनिटी कलेजको विद्यार्थी जीवनमा पुगे। शान्त स्वभावका राजु म्युजिकका टेक्निकल शब्दहरूलाई दृश्यमा बुझाउने कोसिस गरिरहेका थिए।
उनका अनुसार कुनै पनि गीत आमपाठकले सुन्दा र संगीतकारले सुन्दा फरक पर्ने गर्छ। संगीतकारले गीतको स्वाद हैन, शब्दको मर्म र धुनको मेलोडीलाई सुन्छ। गीत सुन्दै गर्दा एकैपटक चारपाँचवटा सेन्स अन गरेर सुन्छन् उनी। गीतको नोट लागेको छ कि छैन ? काउन्टर पोइन्ट, कट्स, बारहरू, म्याथम्याटिकल ग्रामरमा छ छैन याद गर्ने गरेको उनी बताउँछन्।
उनी भ्वाइलिन, गितार, किबोर्ड, तबलालगायत एक दर्जन वाद्यवादन बजाउन सक्छन्। चर्चित ज्याज म्युजिकमा करिब १०÷१२ वर्ष काम गरे। नेपालका स्टार होटलमा ज्याज म्युजिक बजाउँथे उनी। ज्याज म्युजिक बजाउँदा उनले पूर्वीय र पश्चिमेली धुनमा फरक छुट्ट्याउने र बुझ्ने मौका पाए।
हरेक दिन उनलाई कुनै प्रतियोगितामा हिँडेजस्तो लाग्छ। काम नगर्दा धेरै चिज गमाउँछु जस्तो लाग्र्छ। भन्छन्, ‘संगीतमा मेरो इमानदारी देखिनुपर्छ।’ पछिल्लो समय यस क्षेत्रमा केही विकृति देखिएकामा चिन्तित पनि छन् सिंह। संगीतकारले संगीतको राग, कड्स, ताल, धुन, मेलोडी जानेको हुनैपर्नेमा उनको जोड छ। ‘म्युजिसियनले संगीत बनाउने, गायकगायिकाले मेलोडी सिकाउने गरेको सुनिन्छ, यो प्राक्टिस गलत हो। गायकमा स्वर हुनैपर्छ। म्युजिसियनले बजाउन जानेको हुनुपर्छ। संगीतकारले मेलोडी र धुन बुझ्नैपर्छ’, उनी भन्छन्। पछिल्ला चर्चित भनिएका गीत केही समयमै हराउने खालका भएको उनले देखेका छन्। यसले नेपाली संगीतलाई बचाइराख्न नसक्ने उनको दाबी छ।
संगीतप्रतिको लगाव देखेर सिंहका विदेशी गुरु ह्याव्रोन स्मिथले उनलाई ट्रिनिटी कलेज लन्डनमा पढ्ने मौका मिलाइदिएका हुन्। त्यहाँ उनले भ्वाइलिन र म्युजिक एरेन्जिङमा करिब चारवर्षे कोर्स पूरा गरे। त्यहाँको पढाइले पूर्वीय र पश्चिमेली संगीतको स्वाद र सिद्धान्त जान्ने मौका पाए, विदेशी स्रष्टासँग संगत गरे। बेलाबेला संगीतको गुणात्मकता र नयाँ ट्रेन्डका विषयमा विदेशी साथीसँग छलफल गर्छन् उनी। यसो गर्दा युवापुस्ताको रुचि, चाहना र शैलीलाई नजिकबाट चिन्न सकिने उनको बुझाइ छ।
‘म एकदमै चुजी र महँगो संगीतकार हुँ’, सिंह सुनाउँछन्, ‘मेरो रेट मात्रै महँगो होइन, म संगीतमा कुनै सम्झौता गर्न चाहन्नँ। सिन्थेसाइजर र इलेक्ट्रोनिक साउन्डबाट पर बसेर काम गर्छु म।’ हरेक धुन प्राकृतिक हुनुपर्छ भन्ने उनको मान्यता छ। भन्छन्, ‘गीत मेरो लागि बनाउँछु। संगीत चल्ने मात्रै नभएर जीवन्त हुनुपर्छ।’
राम्रा शब्द भएका गीतहरूमा भने उनी पैसा हेर्देनन्, जसरी हुन्छ गीत अब्बल बनाउनुपर्छ भन्ने लाग्छ उनलाई। जगदीश समालले गाएको ‘काँडा हो माया’ बोलको गीतमा निर्माताले दिएको रेटले नपुगेर आफ्नो खर्च गरेर संगीत कम्पोज गरेको अनुभव उनले सुनाए।
‘आएका धेरै अफरमध्ये बीस प्रतिशत मात्रै काम गर्छु। मलाई सबै चिज पर्फेक्ट चाहिन्छ। दुईचार दिन चल्ने संगीत बनाउनु छैन मलाई’, उनी भन्छन्। सुरुआती दिनमा एक दुई हजार रुपैयाँमै संगीत गरेका उनी अहिले एउटा गीतमा न्यूनतम ६० हजार रुपैयाँभन्दा बढी खर्च हुने बताउँछन्। ‘अचेल मेरो रेट नै ६० हजारभन्दा माथि छ’, सिंह भन्छन्। नेपालमा बज्ने अधिकांश रेडियो, टीभीको जिंगलमा सिंहको संगीत छ। रेडियो टीभीका करिब ९० प्रतिशत जिंगलका धुन आफूले कम्पोज गरेको दाबी उनको छ।
२०४७ सालमा रेडियो नेपालमा गीत कम्पोज गरेर उनले पहिलो कमाइ गरेका थिए, १५० रुपैयाँ। त्यो पैसा उनका लागि करोडौं रुपैयाँबराबर थियो। त्यसमा केही रकम थपेर उनले आमालाई पाल्पाली खास्टो किनिदिएका थिए।
पछिल्लो समय तपाईंको संगीतमा गीत कम बनेजस्तो लाग्छ नि ? सिंह शान्त शैलीमा जवाफ दिन्छन्, ‘म कोठे गीतलाई बेवास्ता गर्छु। काम कम भएकोचाहिँ होइन, प्रविधिले गर्दा काम कम देखिएको हो। एउटै गीतका लागि हप्तांै समय खर्च गरिरहेको हुन्छु। म हरेक गीतमा नयाँपन खोजिरहेको हुन्छु।’
रीमा गुरुङ, मिलन अमात्य, जगदीश समाल, अञ्जु पन्त, सुमनकुमार श्रेष्ठ, शिव परियार, प्रमोद खरेल, सुगम पोखरेल, सत्य–स्वरूप, मेलिना राई, रेजिना रिमाल, दीपक वज्राचार्य, दीप श्रेष्ठ, देविका वन्दना, आनन्द कार्कीलगायत तीनचार पुस्तासम्म काम गरिसकेका छन्। सिंहले लोक, पप, आधुनिक, फिल्मी सबै खालका गीतमा संगीत गरेका छन्।
भर्खरै मात्र बजारमा आएका गीतमा अञ्जु पन्तको ‘प्रयोगशाला बनिदिएको छ मेरो जिन्दगी’, मेनुका पौडेल र सत्य–स्वरूपको ‘बाँचिरै’छु जसोतसो’, प्रमोद खरेलको ‘मेरो सात सुर’, शिव परियारको ‘एउटा माछा छट्पटाउँछ’, दीपक वज्राचायको ‘झुमीझुमी’लगायत छन्।
राजुले नेपालको प्रतिनिधित्व गर्दै साउथ एसियन सुपरस्टारमा समेत पटकपटक जज बन्ने मौका पाएका थिए। अन्य देशका म्युजिसियनले नेपाली गीतको मौलिकता, स्तर र नेपाली धुनको मिठासको प्रशंसा गरिरहेको सुन्छन् उनी। यसले आफू नेपाली हुनुमा गर्व लाग्ने गरेको सिंहले जानकारी दिए।
नेपालका कुनै पनि ठाउँमा, कुनै पनि जातजातिले गाउने नेपालीको मौलिक पहिचान बोकेको गीत नै नेपाली संगीत हो भन्छन् सिंह। हरेक गीतले नेपालीपन बोकेको हुनुपर्नेमा जोड दिन्छन् उनी।
पछिल्ला गीतहरूमा लोक शुद्धता हावी भएको सिंह बताउँछन्। आफ्नो संगीतमा ७० प्रतिशत आफू हावी हुने र ३० प्रतिशत मात्रै नेपालीपन मिसिने गरेको उनको भनाइ छ। केही गीतमा भने पूरै पाश्चात्य शैली अपनाएको पनि उनी स्वीकार गर्छन्। भन्छन्, ‘संगीत अन्तर्राष्ट्रिय भाषा हो। यसलाई कुनै विशेष शैली, परिधि र नियममा बाँध्न मिल्दैन।’
सरकारले संगीत क्षेत्रमा लगानी गर्नुपर्ने उनको सुझाव छ। सरकारले डाक्टर, पाइलट, इन्जिनियर जस्ता विज्ञ उत्पादन गर्न लगानी गर्छ। त्यसरी नै क्षमतावान् सर्जकलाई यही क्षेत्रमा विज्ञ बनाउन लगानी गर्नुपर्ने उनको मत छ। सिंह भन्छन्, ‘अवसरको अभावमा कुनै पनि गायक हराउनु हुन्न, राम्रा सर्जक गुमनाम हुनु हुँदैन।’
पछिल्लो समय म्युजिक उद्योग खस्किएको देखिन्छ नि ? उनी भन्छन्, ‘एउटै गीत लाखांै, करोडौं भ्युज भएको देखिन्छ। गीत सुनिने र हेरिने प्रविधि फरक भएको छ तर संगीत नै हरायो भन्न मिल्दैन।’ श्रोता र दर्शक संख्या हिसाब गर्दा पनि यसको मार्केट बढेको उनी बताउँछन्।
करिब ३० वर्षदेखि नेपाली संगीतको उन्नयनमा लागिपरेका सिंह नेपाली गीतसंगीत अन्य देशको तुलनामा अब्बल भएको दाबी गर्छन्। केही विकृति छाडेर पप, सुगम संगीत या लोक संगीत नै किन नहोस्; हरेकले आफ्नो ठाउँबाट नेपाली संगीतको विकासमा सहयोग गरिरहेको उनको विश्वास छ। सिंह भन्छन्, ‘संगीतमा आउँदा संगीतलाई डुबाउने होइन, आफैं डुब्नुपर्छ।’ यसो भन्दै गर्दा उनले प्रकाश श्रेष्ठको स्वर गुनगुनाए— गहिराइमा डुब्दै नडुब, डुबिसकेका छौ भने मोती नटिपी नफर्क।