४७ वर्षमा विश्वकपमा ‘डेब्यु’
एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सका नोलन क्लार्कको नाममा गजबको कीर्तिमान छ। उनी सबैभन्दा बढी उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गर्ने खेलाडी हुन्। बार्बाडसमा जन्मिएका क्लार्कले नेदरल्यान्ड्सबाट क्रिकेट खेलेका थिए। उनी विश्वकप खेल्ने सबैभन्दा बढी उमेरका क्रिकेटर पनि हुन्।
सन् १९९६ मा उनले नेदरल्यान्ड्सको लागि विश्वकप खेलेका थिए। उक्त विश्वकपमा फेब्रुअरी १७ तारिखका दिन न्युजिल्यान्डविरुद्ध पहिलो खेल खेल्दा क्लार्कको उमेर ४७ वर्ष दुई सय ५७ दिन पुगेको थियो। ओपनर ब्याट्सम्यान क्लार्कले उक्त खेलमा १४ रन बनाएका थिए।
उनले नेदरल्यान्ड्सका लागि केवल पाँचवटा एकदिवसीय प्रतियोगिता खेलेका थिए। सन् १९९६ कै विश्वकपमा मार्च ५ तारिखका दिन उनले दक्षिण अफ्रिकाविरुद्ध आफ्नो जीवनको अन्तिम एकदिवसीय खेलेका थिए। उक्त खेलमा उनले ३२ रन बनाएका थिए।