भालुको आग्रमणमा परी २१ भेडा मरे
जोमसोम : मुस्ताङको तल्लोक्षेत्र थासाङमा भालुको आक्रमणमा परी २१ भेडाको मृत्यु भएको छ । थासाङ गाउँपालिका–५ ताक्लुङ र झिप्रा देउरालीबीचको मिन्दी पाखोमा जंगली भालुको आक्रमणले २१ वटा भेडा मारेको इलाका प्रहरी कार्यालय लेतेले जनाएको छ ।
थासाङ–५ छयो घरभई हाल म्याग्दीको दाना बस्दै आएका शंकरमान गुरुङको गोठमा पालेका भेडाको बथानमाथि गत शुक्रबारबेलुका जंगली भालुले आक्रमण गरेको वडाअध्यक्ष सोमल हिराचनले जानकारी दिए ।
घटनाबारे शनिबार मात्रै जानकारी पाएको वडाअध्यक्ष हिराचनको भनाइ छ । उनकाअनुसार भालुको आक्रमणबाट २१ भेडा गोठमै मरेको र केही घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय लेतेका इन्चार्ज मिनबहादुर थापाले भालुको आक्रमणमा परी भेडाहरु मरेको जानकारी प्रहरीले पाएको । उनले क्षति विवरण संकलन गर्ने कार्य भने नभएको इन्चार्ज थापाले जानकारी दिए । भालुले आक्रमण गरेको स्थान झिप्रा देउरालीदेखि करिब १ घण्टा पैदल हिड्नु पर्छ । पीडित शंकरमानको गाउँ भन्दामाथि २ वटा भेडी गोठ भएको र त्यहाँ उनले करिव ५ सय बढी भेडा पालन गरेको वडाअध्यक्ष हिराचनले बताए ।
उक्तक्षेत्र अन्नपूर्ण संरक्षितक्षेत्र अन्तर्गत पर्दछ । थासाङको उक्तक्षेत्रमा उल्लेख भालुहरुको बासस्थान रहेको र बेलाबेलामा स्थानीयलाई सास्ती दिने गरेको स्थानीय देउबहादुर बिकले बताए ।