पहिरो पीडितका लागि एकिकृत बस्ती
फिदिम : दुई वर्ष पहिलेको पहिरोले घरबार विहिन फालेलुङ ३ बुङसिङडाँडाका दिलबहादुर राई निकै खुसी छन्। पहिरो पीडित उनी सहित १५ घर निर्माण भएपछि उन खुसी देखिएका हुन्। ‘हामी पनि राम्रा घरमा बस्न पाउने भयौँ’, उनले भने,‘ सरकार छ भन्ने आभाष भएको छ। ’घरहरु बनिसकेपछि पहाडको टाकुरामा बजारजस्तै बस्ती निर्माण हुने भएको छ।
गाँउपालिकाले पीडित परिवारका लागि बनाइएका घरहरु हस्तान्तरण गर्ने योजना बनाएको छ। घर निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
प्रदेश सरकार र गाँउपालिकाको सक्रियतामा पहिरो पीडितका लागि एकिकृत बस्ती निर्माण गरिएको हो। दुई बर्ष अघिको पहिरोले पूर्ण रुपमा क्षति पुर्याएका घरपरिवारका लागि बुङसिङडाँडामा ६ रोपनी जग्गामा बस्ती निर्माण गरिएको फालेलुङ गाँउपालिकाका अध्यक्ष सञ्चकुमार केरुङले जानकारी दिए।
एक किचन सहितको तीन कोठा बनाइएको छ। घरको छानामा जस्तापाता छ। भुई प्लास्टर गरिएको छ। एकिकृत बस्तीमा दुईवटा सार्वजनिक शौचालय बनेका छन्। प्रदेश सरकारको ५० लाख र गाँउपालिकाको ११ लाख रुपैँयामा बस्ती तयार भएको प्रमुख प्रशासकिय अधिकृत मौसम ढुंगेलले जानकारी दिए।
२०७४ साउन २६ मा चार दिनसम्म गएको पहिरोले तीन दर्जन घरपरिवार प्रभावित भएका थिए।