विदेशमा पढेर गाउँमा रोजगारी

विदेशमा पढेर गाउँमा रोजगारी

सिरहा : राम्रो कमाइ गर्ने सपना बोकेर विदेशिने युवा गाउँगाउँमा प्रसस्त छन्। तर, सिरहाको धनगढीमाई नगरपालिका–९ मुसहर्नियाका सोनाम स्याङ्बो विदेशमा पढेर गाउँमै रोजगारी सिर्जना गर्न जुटेका छन्।

स्वदेशमै मेहनत गरे राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् उनी। गाउँमा आँपको जुस, टमाटरको चटनी र आचार उत्पादन गर्दै आएका सोनाम आफू पनि काम गर्ने र अरुलाई पनि स्वदेशमै काम गर्न प्रेरित गर्ने सोचका साथ विदेशबाट फर्किएका हुन्।

सोनाम पाँच वर्ष पढाई र रोजगारीका लागि अष्ट्रेलिया गएका थिए। गतवर्ष उनी आँप पाक्ने महिना जेष्ठमा गाउँ फर्केका थिए। त्यसपछि उनलाई फेरि विदेश जाने जाँगर चलेन। कारण थियो, गाउँमै उत्पादन भएको आँप। गत वर्ष सिरहालगायत मधेशमा आँप अत्यधिक फलेको थियो। तर बजार पाउन सकिरहेको थिएन। किसान मारमा थिए। बिक्री भए पनि थोरै मुल्यमा बेच्न बाध्य थिए।

आँप फलाफाल थियो। त्यसले उनलाई लोभ्यायो। ‘आँप खेर गएको देखेर विदेश जाने रहर लागेन’, उनले भने, ‘आँप फालाफाल भएको देख्दा किसानको आशु बगे सरह लाग्यो’, उनले स्मरण गरे। त्यसपछि आँपको परिकार बनाएर राख्दा आम्दानी बढाउने काममा लागेको उनको भनाइ छ। गतवर्ष उनले ३ क्विन्टल आँपको गुदि निकाली प्रशोधन गरेर राखे। अहिले त्यही आँपको जुस बनाएर बिक्री गर्न थालेका छन्। बजारमा पाइने जुसभन्दा स्वस्थ्यकर तर सस्तोमा बिक्री गरिरहेको उनको भनाइ छ।

आँप र टमाटरको प्रशोधन गरी राखेको गुदी देखाउँदै सोनाम स्याङ्बो। 

सोनामले आँपमात्रै होइन एक क्विन्टल टमाटरको पनि गुदी प्रशोधन गरेर राखेका छन्। जाडो महिनामा चटनी बनाएर बेच्ने उनको योजना छ। आफूसँग भएको सिप यही प्रयोग गरी खेर गइरहेको फलफुललाई परिकारमा बदलेर आम्दानी बढाउने उनको लक्ष्य हो। उनले खाद्य प्रविधिमा काठमाडौंस्थित क्याफोडेट क्लेजबाट बीटेक अध्ययन गरेका छन्।

सन् २००९ मा अध्ययन पुरा गरी उनले मायोज चाउचाउमा केही समय काम गरे। दुई वर्ष कोकाकोला कम्पनीमा पनि काम गरे। त्यसपछि सन् २०१३ मा उनी अष्ट्रेलिया लागे। विदेशमा सातामा पाँच दिन काम र दुई दिन पढाई गरे। ‘गतवर्ष जम्मा गरेर राखेको आँपको गुदीमा चिनी र पानी घोलेर जुस बनाइ बेचिरहेका छौं’, उनले भने, ‘गुणस्तर चिन्हका लागि कच्चा पदार्थ जाँच्न पठाएका छौं।’

थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ। गतवर्ष परिक्षणको लागि पाँच हजार लागतमा राखेको आँपको गुदीबाट ३० हजार रुपैयाँ बराबरको जुस बेचेको उनले सुनाए। यसवर्ष सकेसम्म धेरै आँप प्रशोधन गरेर राख्ने उनको योजना छ। ‘विदेशबाट आएर आफ्नै गाउँमा आँपको जुस बनाउने भन्दा सुरुसुरुमा धेरैले विश्वास गरेन’, उनले भने। सुरुमा आफ्नो कुरा नपत्याउने व्यक्ति अहिले जुस किन्न आउने गरेको उनले बताए। उनले स्याङ्बो फुड्स एण्ड बेभरेज उद्योग सञ्चालन गरेका छन्। सोनामले गाउँगाउँ गएर महिलालाई आचार बनाउने तालिम पनि दिइरहेका छन्। ‘आफ्नै गाउँमा प्रस्तत काम छ। मेहनत गर्नुपर्‍यो’, उनले भने, ‘काम गर्न लाज मान्नु हुँदैन। स्वदेशमै सजिलै स्वरोजगारी बन्न सकिन्छ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.