‘गुठी वैदिक साम्यवादको निशानी’
काठमाडौं : सत्तापक्षीय नेताले गुठीलाई सामन्तवादको अवशेष भनिरहेका बेला सम्पदाविद्ले भने यो साम्यवादको निशानी भएको बताएका छन् । गुठी सामन्तवादको अवशेष नभई वैदिक साम्यवादबाट जन्मिएको संस्कृतिविद् डा. गोविन्द टन्डनको भनाइ छ ।
‘गुठी राज्यले दिएको होइन, दाताले सम्पदा, संस्कृति जोगाउन दिएको चिज हो’, उनले भने, ‘यो कुनै सामन्तवादको अवशेष होइन । साम्यवादबाट जन्मिएको हो ।’ राष्ट्रको गौरवका रूपमा रहेको गुठीलाई सरकारले जोगाउनुपर्ने उनले बताए । ‘सम्पदा राष्ट्रको गौरव हो । राष्ट्रको स्वतन्त्र अस्तित्वको पहिचान गराउने कुरा हो’, उनले भने, यसलाई जोगाउनुपर्छ । यसमा खलल पु¥याइयो भने संस्कृति लोप हुन्छ । यो जग्गाजमिन वा भोगको विषय मात्र होइन । कला, संस्कृति, परम्परा र धर्मको समग्र रूप हो । राष्ट्रको पहिचान हो ।’ कानुन बनाएर गुठी मास्ने काममा सरकार लागेको उनको आरोप छ । ‘देउता बोल्दैन, हामीले बोलिदिएको मात्रै हो’, उनले भने ।
गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ को चर्को विरोध भइरहेको छ । विधेयकको दफा ५३ मा गुठीको जग्गा रैतानी नम्बरी कायम गरी व्यक्तिका नाममा लैजाने व्यवस्था प्रस्तावित छ । दफा ५६ मा गुठी अधीनस्थ जग्गाको मोहियानी हक कायम गरिने व्यवस्था छ । यसमै मोहीले आधा जग्गा प्राप्त गर्ने व्यवस्था बर्खिलाप मोहीले न्यूनतम मूल्यको २५ प्रतिशत तिरे सबै जग्गा व्यक्तिका नाममा कायम हुने व्यवस्थासमेत छ । विवादित विषयमा सरकार लचिलो भए पनि आन्दोलनकारी टसमस भएका छैनन् ।
सम्पदा बचाउ अभियानका संयोजक गणपतिलाल श्रेष्ठले विधेयक खारेज नभएसम्म आन्दोलन नरोकिने बताए । सरकार आन्दोलन भाँड्न प्रयासरत रहेकोतर्फ आफूहरू सचेत रहेको उनले सुनाए । ‘भूमि र सभ्यताको कुरा छ, किसानको कुरा पनि सम्बोधन गर्नुपर्छ’, उनले भने, ‘पहिला विधेयक खारेज गरौं अनि अझ राम्रो कानुन बनाऔं । तीन करोड नेपालीको सभ्यताको रक्षा गरौं ।’ विधेयक पक्षधरले थारूलाई भ्रममा पार्न खोजेको उनले बताए ।
गुठी संस्थानका अध्यक्ष मीनराज चौधरीले मस्यौदा गरेभन्दा फरक विधेयक आएको बताए । दफा ५३ र ५६ ले गुठीको अस्तिस्व समाप्त पार्ने दाबी उनले गरे । यो विधेयकले किसानको समस्या समाधान नहुने उनको जिकिर छ ।
संस्कृतिविद् टन्डनले काठमाडौं र बाहिरका गुठीको अवस्था फरक रहेको बताए । उनका अनुसार देशभर राज र निजी गरी दुई किसिमका गुठी छन् । राज नै अमानत र छुट गुठी छन् । उनले भने, ‘दाताले जात्रा, मेला, पर्वपूजा सञ्चालन गर्न दिएको चलअचल सम्पत्ति गुठी हो । सभ्यता र संस्कारको संरक्षण गर्न पुर्खाले मठमन्दिर, धर्मशाला, पाटीपौवा, बाटोघाटो, हिटी, धारा, कुवा, स्थापना गर्न परोपकारी भावनाले जग्गाजमिन, सम्पत्ति छुट्याइदिएका थिए ।’