भेडा फाराम नै मालपोत हाकिमको नाममा

भेडा फाराम नै मालपोत हाकिमको नाममा

काठमाडौं : जुम्लाको गुठीचौर भेडाबाख्रा फारामको जग्गा पत्नीलगायत आफन्तको नाममा दर्ता गरेको अभियोगमा मालपोत कार्यालय जुम्लाका तत्कालीन निमित्त प्रमुख गोविन्दप्रसाद न्यौपानेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

न्यौपानेसहित १६ जनाको टोलीले  फारमको ६ सय रोपनी जग्गा व्यक्तिका नाममा गरेका थिए। प्रमुख न्यौपानेलगायत कर्मचारीको मिलेमतोमा सरकारी जग्गा पत्नीलगायत आफन्तको नाममा दर्ता गरेको अख्तियार अनुसन्धानबाट खुलेको छ। उक्त जग्गा गुठीचौर भेडाबाख्रा फारमको नाममा नाप नक्सा भई फिल्डबुक कायम भएको थियो। अख्तियारले न्यौपानेसहित तत्कालीन खरिदार हाल मालपोत कार्यालय चाबहिलका नासु विजय शर्मा न्यौपाने र तत्कालीन भेडा तथा बाख्रा अनुसन्धान कार्यक्रम गुठीचौर जुम्लाका कार्यालय प्रमुख यमुनाकुमार       श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरेको छ।

तत्कालीन मालपोत प्रमुख न्यौपाने, नासु विजय र भेडा फारमका प्रमुख       श्रेष्ठविरुद्ध जनही ४५ लाख बिगो मागदाबी गरिएको छ। सरकारी वा सार्वजनिक सम्पत्ति गैरकानुनी रूपमा आफ्नो वा अरूको नाममा दर्ता, भोगचलन गर्ने÷गराउने अभियोगमा उनीविरुद्ध तीन वर्षसम्म कैद सजाय र बिगोबमोजिमको जरिवाना तोकिएको छ। मालपोत प्रमुख न्यौपानेले भेडा फारमको जग्गा पत्नी गोमा र छोरी पार्वतीलगायत आफन्तको नाममा दर्ता गराएका थिए।

सरकारी कर्मचारी समेतलाई प्रभावमा पारी गैरकानुनी तरिकाबाट जग्गा आ-आफ्नो नाममा दर्ता गर्ने कार्यमा संलग्न भएका जग्गा दर्ता गरी लिने मालपोत प्रमुखका पत्नी गोमा र छोरी पार्वती तथा आफन्त हरिहर न्यौपाने, मुनिश चन्द्र न्यौपाने, मायालाल न्यौपाने, विष्णु न्यौपाने, विष्णु ऋषि न्यौपाने, विष्णुलाल न्यौपाने, नवऋषि न्यौपाने, धनप्रसाद न्यौपाने, देवेन्द्रप्रसाद उपाध्याय, जानकीदत्त देवकोटा, केशवराज न्यौपाने, कविदत्त न्यौपानेलाई प्रतिवादी बनाइएको छ। यस्तै, न्यौपाने पत्नी गोमाविरुद्ध पाँच लाख २७ हजार बिगो मागदाबी गरिएको छ भने छोरी पार्वतीविरुद्ध पाँच लाख २२ हजार बिगो कायम गरिएको छ।

त्यस्तै, आफन्त हरिहरविरुद्ध २ लाख २५ हजार, मुनिश्चन्द्र, मायालाल, विष्णुऋषि, विष्णुलाल, नवऋषि र कविदत्तविरुद्ध जनही तीन लाख रुपैयाँ र विष्णुविरुद्ध चार लाख ९५ हजार रुपैयाँ बिगो मागदाबी छ। यसैगरी, देवेन्द्र उपाध्ययविरुद्ध १ लाख ९९ हजार, जनकीदत्त देवकोटाविरुद्ध ३० हजार, केशवराज न्यौपानेविरुद्ध २ लाख २५ बिगो मागदाबी गरिएको छ। उनीविरुद्ध दुई वर्षसम्म कैद वा बिगोबमोजिम जरिवाना गरी बिगोसमेत जफत हुनेछ।

तत्कालीन मालपोत प्रमुख न्यौपाने, नासु विजय र भेडा फारमका प्रमुख       श्रेष्ठ, मुनिश्चन्द्र न्यौपाने र हरिहर न्यौपानेलाई अख्तियारले नियन्त्रण लिएको छ। उनीहरूलाई अख्तियारकै थुनामा राखेर अनुसन्धान गरिरहेको छ। अन्य ११ जना भने फरार रहेको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए। भेडा बाख्रा फारमको नाममा नाप नक्सा भई फिल्डबुक कायम भएको सरकारी जग्गा मालपोत कार्यालय, जुम्लाका तत्कालीन कार्यालय प्रमुख न्यौपानेलगायत कर्मचारीले नापी कार्यालय र भेडा फारमसँग मिली करिब ३ लाख वर्गमिटर क्षेत्रफल रहेको उक्त जग्गा व्यक्तिको नाममा बाँडफाँट गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ। साविक गुठीचौर गाविस-६ को कित्ता नम्बर ३ मा भेडाबाख्रा फार्मका नाममा ६ लाख २१ हजार ५ सय २५ वर्गमिटर जग्गा कायम छ ।

त्यसैमध्येको तीन लाख वर्गमिटर (५९० रोपनी) जग्गा तत्कालीन मालपोत अधिकृत न्यौपानेले आफ्नो बनाएका छन्। गुठीचौर गाविस वडा नं. ६÷द को साविक कि.नं.३ को फिल्डबुकमा उक्त जग्गा भेडा तथा बाख्रा कार्यक्रमको नाममा दर्ता देखिन्छ। आयोगको अनुसन्धानबाट सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी खाने दूषित मनसाय देखिन्छ। द्वन्द्वकालमा जली नष्ट भएको सक्कल फाइललाई स्थानीय हरिहर न्यौपानेको निवेदनबाट पुनः उजागर गराई एकआपसमा मिलेमतो गरेको खुलेको छ। भेडा तथा बाख्रा अनुसन्धान कार्यक्रमका प्रमुख प्राविधिक कर्मचारी यमुनाकुमार       श्रेष्ठलाई अनुचित प्रभाव पारेको देखियो। साथै       श्रेष्ठले समेत आफ्नो अधिकार क्षेत्रको कुनै हेक्का नराखी, गैरकानुनी मिलापत्र गरेको अख्तियार अनुसन्धानबाट खुलेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.