अज्ञात रोगले रसुवामा कुखुरा मर्न थाले
नुवाकोट : रसुवाको नौकुण्ड गाउँपालिका ५ स्थित भोर्लेमा अज्ञात रोगबाट कुखुरा मर्न थालेका छन्। कुखुरा मर्न थालेपछि रसुवाका किसान चिन्तित भएका छन्। किसानले पालेका स्थानीय जातको लोकल कुखुरा र ब्रोइलर कुखुरा अज्ञात रोगबाट मर्न थालेको भेटेरिनरी तथा पशु अस्पताल नुवाकोटका प्रमुख डा. जगत सिम्खडाले जानकारी दिए।
उनका अनुसार कुखुरामा पाउल पस नामक रोग लागेको अनुमान गरिएको छ।उनले स्थानीय तहमा रहेका पशु सेवा केन्द्रलाई उक्त रोगको समाधान गर्न निर्देशन दिएको समेत बताए। कुखुरा झोक्राउने सिंगान, र्याल बगाई एक दुई दिन भित्रमा मर्ने गरेको स्थानीयले बताए। दुई सातायता फैलिएको उक्त रोगले कुखुरा धमाधम मर्न थालेपछि किसानलाई लाखौंको घाटा व्यहोर्नु परेको छ।
भेटेरिनरी तथा पशु अस्पताल नुवाकोटका प्रमुख डा. जगत सिम्खडाले सो स्थानमा हालसम्म ५ सय कुखुरा मरिसकेको बताए । स्थानीयले भने हालसम्म ३ हजार बढी कुखुरा मरिसकेको बताएका छन्। धमाधम कुखुरा मर्न थालेपछि नौकुण्ड गाउँपालिकाको पशुसेवा शाखा र भोर्ले पशु सेवा कार्यालयले नमुना परीक्षणका लागि भेटेरिनरी तथा पशु अस्पताल नुवाकोट लगेको छ।
त्यहाँ रोग पत्ता नलागेपछि थप परीक्षणका लागि पशु स्वास्थ्य निर्देशनालय त्रिपुरेश्वर लगिने बताइएको छ।