गुठी विधेयकविरुद्ध माइतीघरमा उर्लियो जनसागर (फोटोसहित )
काठमाडौं : जनआन्दोलनको झल्को दिने गरी हजारौं सर्वसाधारण सडकमा उत्रिएका छन्। काठमाडौंको माइतीघरमा बुधबार स्वतस्फूर्त रूपमा निस्किएर सर्वसाधारणले धर्म, सम्पदा र संस्कृति नमास्न सरकारलाई चेतावनी दिए।
उनीहरूले गुठी विधेयक खारेज नभएसम्म आन्दोलन नरोकिने बताएका छन्। प्रस्तावित विधेयकमा गुठीयारको हक स्वतः समाप्त हुने व्यवस्थाप्रति गुठी पक्षधर आक्रोशित भएका हुन्। विभिन्न नारा अंकित ब्यानर, प्लेकार्ड, आफ्नो संस्कृति झल्कने भेषभूषा र झाँकीसहित प्रदर्शनमा उत्रिएका सर्वसाधारणले गुठी विधेयकको विरोधमा सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मंगलबार विधेयक फिर्ता लिएकी थिइन्। प्रधानमन्त्री ओलीले विधेयक फिर्ता लिने मन्त्रीको निर्णयलाई समर्थन गरेका थिए।
तर गुठी पक्षधरले प्रधानमन्त्री र मन्त्रीको अभिव्यक्तिमाथि आपत्ति जनाएका छन्।
लुटतन्त्र गुठी विधेयक मुर्दाबाद, भूमाफिया होसियार, गुठी विधेयक खारेज गर, नालायक सरकार चाहिँदैन लगायतका नारा र प्ले कार्डसहित उनीहरू प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनका कारण बुधबार दिनभर राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भयो। प्रदर्शनका क्रममा माइतीघर क्षेत्रमा मात्र तीन हजारभन्दा बढी सुरक्षार्मी परिचालन गरिएको सुरक्षा स्रोतले बतायो।
गुठी विधेयक संयुक्त प्रतिरोध कार्यक्रमको ब्यानरमा माइतीघर मण्डलामा आयोजित खबरदारीसभामा गुठी संघसंस्थासँग सम्बन्धित अगुवाले सम्बोधन गर्दै सरकारले धर्मसंस्कृति र सम्पदा नामेट गर्न विधेयक ल्याएको आरोप लगाए।
मानवअधिकारवादी नेता मल्ल के सुन्दरले राज्यले नेवार समुदायविरुद्ध निरन्तर षड्यन्त्र गरिरहेको आरोप लगाए। उनले शाहकालदेखि, राणाकाल हुँदै गणतन्त्रसम्ममा नेवार शासनमा नहुनुको फाइदा राज्यले उठाएको बताए। उनले भने, ‘काठमाडौंमा नेवार राज्य नभएसम्म यस्तो षड्यन्त्र भइरहन्छ। नेवारको अधिकार रहँदैन।’
नेवा देयः दबुका अध्यक्ष द्वारिकामान तण्डुकारले परापूर्वकालदेखि चल्दै आएको गुठी परम्परालाई ध्वस्त पार्न खोजेपछि स्वस्फूर्त आन्दोलनमा आउँदा सरकारले भाडाको मान्छे ल्याएको भनेर अपमान गरेको आरोप लगाए।
‘तपार्इंहरू हामीलाई भाडाका मान्छे देख्नुहुन्छ। उक्साहटमा आएको देख्नुहुन्छ। सामन्तवादी देख्नुहुन्छ,’ तण्डुकारले भने, ‘हामीचाहिँ तपाईंले ल्याएको विधेयकको पानापानामा मार्सी भात देख्छौं। होली वाइन देख्छौं।’
ज्यापू महागुठीका अध्यक्ष राजमान जकमीले प्रधानमन्त्री केपी ओली गुठीयारप्रति आक्रामक भएको भन्दै आपत्ति जनाए। उनले विधेयक फिर्ता लिएर अर्को षड्यन्त्र गरेको आरोपसमेत लगाए। उनले विधेयक खारेज गरी गुठी सुरक्षित हुने वातावरण नभएसम्म आन्दोलन नरोकिने बताए। उनले नेवार समुदायलाई नजिस्क्याउन पनि चेतावनी दिए।
‘हामी तीन सहिदका सन्तान हौं। गणेशमान सिंह, पुष्पलालजस्ता योद्धाका सन्तान हौं। कहिले सामन्तवाद, कहिले भाडाका मान्छे भनेर हामीलाई जिस्काइयो। हामी अब उठ्यौं,’ उनले भने, नेवार उठ्दै–उठ्दैन, उठेपछि छाड्दैन।’
राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समिति संयोजक गणपतिलाल श्रेष्ठले बालुवाटार बेचेको सरकारले गुठी पनि बेच्न लागेको आरोप लगाए। उनले यो आन्दोलन तीन करोड नेपालीको पहिचानको लडाइँ भएको बताए।
काठमाडौं सडक विस्तार संघर्ष समिति संयोजक सुमन सायमी, ललितपुर ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जन, ललितपुर संघर्ष समितिका संयोजक नानीकाजी महर्जन, अभियन्ता शैलेश शाक्य, सेभ नेपाः भ्यालीका सुरज महर्जन, राजाराम तण्डुकार, यादवलाल कायस्थलगायतले बोलेका थिए।
सभामा नेपाल भाषाका कवि दुर्गालाल श्रेष्ठ, गायक योगेश्वर अमात्य, हरिश माथेमा, प्रकाशचरण श्रेष्ठ, प्रवेशमान शाक्य, न्हु बज्राचार्यलगायतले ऐक्यबद्धता जनाएका थिए। ऐक्यबद्धता जनाउनेमा प्रदेश ३ का सांसद विराजभक्त श्रेष्ठ, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, जनजाति नेता लक्ष्मण थारूलगायत छन्।
खबरदारीसभाअघि राजधानीको बानेश्वर, वसन्तपुर, कुपण्डोल, पाटनलगायतका क्षेत्रबाट विशाल जुलुस निकालिएको हो। सहभागीले ‘हाम्रो हात चोखो छ, भ्रष्टाचार गरेका छैनौं’ लेखिएको पञ्जा लगाएका थिए।
गायक योगेश्वर अमात्यले प्रहरीलाई फूल दिएका थिए।
प्रदर्शनकारीले भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, सञ्चारमन्त्री गोकुल बाँस्कोटा र गृहमन्त्री रामबहादुर थापाको राजीनामा मागेका छन्। विधेयकको दफा २४ मा कुनै समझदारीपत्र, दानपत्र, लालमोहर, खड्गनिसाना, सनद सवालजस्ता जुनसुकै प्रकारका लिखत, अड्डाअदालतबाट भएका फैसला, आदेश, मिलापत्र निर्णय वा अन्य कुनै पनि लिखत वा परम्पराका आधारमा पाएको गुठीयारको धार्मिक स्थलको अधिकार स्वतः समाप्त हुने व्यवस्था छ। गुठीयारलाई अधिकार प्राप्त गर्ने सबै प्रकारका लिखत स्वतः निष्क्रिय हुनेछन्।
तस्बिर : उमा विष्ट, सुनिता डंगोल, दीपेन श्रेष्ठ,प्रणव खत्री