ढिकी संरक्षणमा धादिङका स्थानीय
धादिङ : नीलकण्ठ नगरपालिका १२ दामगाडेका स्थानीय धान कुट्ने परम्परागत साधन 'ढिकी' को संरक्षणका लागि जुटेका छन् । गाउँघरबाट घरायसी कामका लागि प्रयोग गरिने परम्परागत ढिकी, जातो, ओखल जस्ता कुटानी पिसानीका साधन विस्थापित भइरहेको बेला त्यसको जगेर्ना गर्नका लागि र भावी पुस्तालाई देखाउनका लागि सामुदायिक ढिकीको स्थापना गरिएको हो।
एक जोर (दुईवटा) ढिकी स्थापना गरेर उनीहरुले शुक्रबारबाट ढिकी कुट्ने कार्यको शुभारम्भ समेत गरे। गाउँमा ढिकी स्थापना भएपछि उनीहरुले ढिकीमा चामल कुटेर रोटी पकाई विधिपूर्वक ढिकीको पूजा गरे। उक्त अवसरमा स्थानीय खुसीले नाचगान गरेर हर्ष मनाएका थिए। विवाह, व्रतबन्ध र अन्य शुभकार्यमा कुटानी पिसानी गर्न यही ढिकी प्रयोग गरिने स्थानीयबासीले बताएका छन्।
विद्युत् र डिजेलबाट चल्ने अत्याधुनिक मिल स्थापना भएपछि विस्थापितजस्तै भएको धान कुट्ने ढिकीलाई धादिङ दामगाडेका स्थानियको पहलमा पुर्नस्थापित गराइएको हो। स्थानीय खानेपानी समितिको अगुवाइमा गाउँमा सामुदायिक ढिकी बनाइएको दामगाडेस्थित बतासे खानेपानी आयोजनाकी अध्यक्ष सानुमाया राउतले बताइन्। राउतले भनिन्, 'पहिला पहिला हामी ढिकीमै धान कुटेर चामल खान्थ्यौ, स्वादिलो पनि हुन्थ्यो, कुनै पर्व तथा पूजाआजामा चोखो शुद्ध परिकार बनाउन ढिकीमै कुटिन्थो। आजकाल त्यो हराउँदै गएपछि खानेपानी समितिले सल्लाह गरेर सबै समुदायले प्रयोग गर्न पाउने गरी ढिकी स्थापना गरेका हौँ।'
बतासे खानेपानी आयोजना र स्थानीयको श्रमदानसहित डेढ लाखको लागतमा २ वटा ढिकी स्थापना गरिएको हो। ढिकीमा त्यस क्षेत्रका जोसुकै स्थानीयले चाहेको बेलामा गएर कुट्न पाउने सानुमायाले बताइन्। ३० घर समुदाय मिलेर ढिकी स्थापना गरिएको भएपनि ढिकीमा कुट्न चाहने गाउँका जोसुकैले पनि प्रयोग गर्न पाउने सानुमायाले बताइन्।
हराउने अवस्थामा पुगेको मौलिक प्रविधि पुर्नस्थापना हुनेभएपछि स्थानीय वृद्धवृद्धा हर्षित भए। 'हाम्रो बाउ बाजेको पालादेखि यही ढिकीमा कुटेर खाइयो, अहिले नातिनातिलाई सुनाउँदा ढिकी के हो भनेर सोध्छन,' अचम्म लाग्छ।'
९० वर्षीय स्थानीय ताराबहादुर राउतले भने, 'खानेपानी समितिले कुरा निकाल्यो, समुदायकै जग्गामा ढिकी स्थापना भएको छ, विवाद ब्रतबन्ध तथा शुभकार्यमा रोटी पकाउने पिठो कुट्न र आफ्नै हातले बनाएको चोखो र शुद्ध खाद्यवस्तु बनाउन सजिलो हुने भएको छ।'
ढिकीमा कुटेको मिठो र पोषिलो हुनुको साथै धार्मिक दृष्टिकोणले समेत पवित्र मान्ने गरिन्छ। आफ्नो जात जातिअनुसार फरक किसिम संस्कृति र रहन/सहन हुने भएकाले आफनो पद्धतिअनुसार चोखो र शुद्ध परिकार बनाउनका लागि ढिकी उपयुक्त साधन हुने अर्का भक्तबहादुर राउतले बताए।
'पहिले पहिलेको बिहेमा ५ मुरी धान पनि ढिकीमै कुटेर भोज खुवाइन्थो।' स्थानीयबासी तेजप्रसाद अधिकारीले भने, 'अहिले सत्यनारायणको पूजाका लागि चोखो पिठो कुट्न पनि पाइएन, त्यसैले सबै मिलेर सामुदायिक ढिकी स्थापना गर्यौं।'
एक पुस्ता अघिको समयसम्म गाउँ घरका घर घरमा पाइने ढिकी जाँतोलगायतका साधन अहिले लोप भइसके अवस्थामा पुगेको छ। आधुनिक प्रविधि तर्फ बढ्दो आर्कषण र सुविधाभोगी प्रवृत्ति बढेपछि तेल पेल्ने कोलमात्रै होइन, धान कुट्ने ढिकी, मकै पिस्ने जाँतोलगायतका रैथाने प्रविधि लोप हुँदै गएका छन्। ०७२ सालको भूकम्पपछि ती रैथाने प्रविधि लोप भए। सहर बजारमा नभए पनि ग्रामीण क्षेत्रका बस्ती पुर्ननिमार्णको क्रममा रैथाने प्रविधि प्राथमिकतामा पर्दै परेनन्।
आफ्नो परम्परा, संस्कृति, पहिचान र रैथाने प्रवृतिलाई जर्गेना गर्नका लागि धादिङको दामगाडेका स्थानीयको अभियान अनुकरणीय बनेको छ। रैथाने प्रविधि ढिकी संरक्षणको लागि चासो देखाएर सामुदायिक ढिकी स्थापना गरेपछि बतासे खानेपानी आयोजनाको अहिले छिमेकी गाउँमा समेत चर्चा हुन थालेको छ।