वैदेशिक रोजगारी : एक दशकमा ७,३०४ को मृत्यु

वैदेशिक रोजगारी : एक दशकमा ७,३०४ को मृत्यु

काठमाडौं : वैदेशिक रोजगारीमा गएकामध्ये पछिल्लो एक दशकमा ७ हजार तीन सय चार जनाको ज्यान गएको छ। नेपालबाट हरेक वर्ष चार लाख हाराहारीमा जनशक्ति वैदेशिक रोजगारीमा जाने तथ्यांक छ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले रोजगारमा जाने नेपालीलाई अपर्याप्त आराम, न्यून पारि श्रमिक, स्वास्थ्यमा लापरबाही र पारिवारिक झमेला तथा दबाबका कारण वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु हुने गरेको जनाएको छ। धेरै र कमसल रक्सी खाने, पानी कम पिउने, समयमा खानपानको प्रबन्ध नहुँदा स्ट्रोक, हृदयाघातजस्ता कारणले मृत्यु हुने गरेको छ। कार्यस्थलको असुरक्षा तथा अव्यवस्थित बसाइ मृत्युका अन्य कारण हुन्।

आर्थिक वर्ष ०६६/६७ देखि यस आवको जेठसम्म वैदेशिक रोजगारीमा मृत्यु हुनेमध्ये १६८ महिला छन्। बोर्डका अनुसार चालू आर्थिक वर्षको जेठसम्म वैदेशिक रोजगारीका क्रममा ६६७ जनाकोे मृत्यु भएको छ। त्यसमा २१ जना महिला थिए।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले कार्यस्थलमा सुरक्षित वातावरण, अन्तर्राष्ट्रिय श्रम संगठनको निर्देशिकाअनुसार आराम, राम्रो बसोबासको व्यवस्थाबाट दुर्घटना न्यून गर्नुपर्ने बताए। यसका लागि सरकारले द्विपक्षीय श्रम सम्झौता गरेरमात्र कामदार पठाउनुपर्ने उनको भनाइ छ।

वैदेशिक रोजगारीका क्रममा दैनिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ देखि ३ जनाको शव आउने गरेको छ। कतिपय उतै दाहसंस्कार गर्ने चलन पनि छ। श्रम स्वीकृति लिएका कामदारका परिवारले मात्रै वैदेशिक रोजगारीका क्रममा मृत्यु भएमा बोर्डबाट आर्थिक सहायता पाउँछन्।

अवैध रूपमा काम गरेर बस्नेको मृत्यु भएमा सहायता दिन कठिन हुने श्रेष्ठ बताउँछन्। वैदेशिक रोजगारीमा रहेका कामदारले खानपान, आराम तथा कार्यस्थलमा अपनाउने सुरक्षा सचेतना हुनसके वैदेशिक रोजगारीमा हुने मृत्यु रोक्न सकिने श्रेष्ठले बताए। आउँदो साउनदेखि पूर्वप्रस्थान अभिमुखीकरण कार्यक्रममा व्यापक सुधार गर्न लागेको उनको भनाइ छ। ‘हामीले कार्यस्थल सुरक्षा, तनाव व्यवस्थापन, कसरी स्वस्थ रहने गरी तालिम दिने तयारी गरेका छौं’, उनले भने।

कतिपयले भने पारिवारिक मनमुटाव, चर्को ऋण, श्रमसम्झौताअनुसार सेवासुविधा नपाउनुका कारण आत्महत्या बढेको अनुमान छ। वैदेशिक रोजगारीका क्रममा हुने मृत्युको वास्तविक पहिचान गर्न २०७४ मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा. केदार बरालको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरिएको थियो। मलेसियामा सुतेकै अवस्थामा अचानक मृत्यु (सडेन डेथ) र कतारमा मुटुको कारण मृत्यु (कार्डियाक डेथ) हुने गरेको कार्यदलले प्रारम्भिक प्रतिवेदन तयार पारेको थियो। तर उक्त कार्यदलले पनि वैदेशिक रोजगारीमा वास्तविक मृत्युको कारण र रहस्य पत्ता लगाउन सकेन।

श्रमविज्ञ गणेशमान गुरुङले श्रम सम्झौता हुँदा बिमाबाट पोस्टमार्टम गर्ने व्यवस्था गर्नसके मात्र वास्तविक तथ्य पत्ता लाग्ने बताए। यहाँ मेडिकल फिट भएर पनि उता विभिन्न कारणले मृत्यु हुने गरेको छ। चर्को गर्मी र अत्यधिक चिसोका कारण पनि नेपाली कामदारको मृत्यु हुने गरेको छ। दिनभर ५५ डिग्रीसम्ममा काम गर्ने र राति एसीमा सुत्ने कारण पनि बिहान उठ्दा कतिपयको मृत्यु हुने गरेको उनको बुझाइ छ। केहीले कमसल रक्सी खानाले पनि मृत्यु हुने गरेको गुरुङले बताए।

बोर्डले मृत्यु भएका कामदारलाई एक अर्ब ९५ करोड ८२ लाख ५४ हजार रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ। चालू आवको जेठसम्म ४४ करोड २७ लाख ५० हजार, आव २०७४/७५ मा ४५ करोड ६५ लाख, आव २०७३/७४ मा २२ करोड ६३ लाख, आव २०७२/७३ मा २२ करोड ३१ लाख ५० हजार आर्थिक सहायता दिएको छ।

यस्तै २०७१/७२ मा २१ करोड ७४ लाख ४० हजार, २०७०/७१ मा १२ करोड ६ लाख, २०६९/७० मा ९७ करोड ९३ लाख, २०६८/६९ मा ७ करोड ७३ लाख, २०६७/६८ मा ४ करोड ९५ लाख र आव २०६६/६७ मा ३८ करोड ९७ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरिएको छ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले एक दशक अवधिमा अंगभंग र बिरामी भएका एक हजार ४७३ जनालाई २२ करोड १० लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.