सहारा खोज्दै अस्पतालको भुइँमा

सहारा खोज्दै अस्पतालको भुइँमा

राजविराज : एक महिनाअघि सडकमा बेहोस अवस्थामा फेला परेका एक पुरुषलाई प्रहरीले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पु‍र्‍यायो। उनको शारीरिक अवस्थामा सुधार आएपछि अस्पतालले एक साताअघि डिस्चार्ज गर्‍यो। बिरामी निको भए पनि जाने ठाउँ नभएर उनी अलपत्र परेका छन्। मानसिक सन्तुलन गुमाएका उनको घरपरिवारका सदस्य कोही फेला नपरेकाले अलपत्र परेको अस्पतालले जनाएको छ।

अस्पतालको शैयाबाट हटाइएपछि उनी एक सातादेखि आकस्मिक कक्षको मुल ढोकाको भुइँमा सुत्ने गरेका छन्। गत फागुन ९ गते सप्तरीको सप्तकोशी नगरपालिका–४ फत्तेपुरको बलार्दह चौक नजिकबाट वेहोस अवस्थामा उनको उद्धार गरिएको थियो।

अग्नीसाइर कृष्णसवरन गाउँपालिका–१ बाट फागुन ९ गते हात्तीको आक्रमणमा परी घाइते अवस्थामा फेला परेकी बेवारिस महिला पनि सोही अस्पतालको आकस्मिक कक्षको मूल ढोकामा भुइँमै अलपत्र छिन्। ‘घाइते महिला अस्पतालमा बेवारिस’ शिर्षकको समाचार चैत २० र २१ गते अन्नपूर्ण पोस्ट् र अन्नपूर्ण अनलाइनमा प्रकाशन भएपछि अन्नपूर्ण पोस्ट्का प्रतिनिधीकै पहलमा उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा निशुल्क उपचार र स्याहार सुरु भएको थियो।

डिभिजन वन कार्यालय, सप्तरीले अन्नपूर्ण पोस्ट्का प्रतिनिधीको रोहवरमा १० हजार रुपैयाँ उपलब्ध गराएपछि वेवारिस महिलाको दाहिने हातमा स्टिल जडान गरी सरसफाइ र स्याहार सुरु भएको थियो। पुर्नस्थापनाको प्रयास भइरहेकै बेला बैशाख १४ गते अस्पतालबाट बेपत्ता भएकी महिला बुधबार पुन अस्पतालमा देखा परेकी हुन्।

प्रहरीले पत्ता लगाएर घरपरिवारको जिम्मा लगाउने भने पनि हालसम्म उनीहरुको पहिचान खुल्न नसक्दा अलपत्र परेको सप्तरी प्रहरीले जनाएको छ। मानसिक सन्तुलन ठीक नभएकै कारण घरपरिवारले छाडने गरेकाले मानसिक सन्तुलन गुमाएका हरेक महिना शहरमा थपिने गरेको डीएसपी भावेश रिमालले बताए।

अस्पतालमा प्रत्येक महिना एक/दुई जना मानसिक सन्तुलन गुमाएका व्यक्ति भर्ना हुने गरेको र लामो समयसम्म पुर्नस्थापना हुन नसक्दा अस्पताललाई समस्या बढेको अस्पताल प्रशासनले जनाएको छ। ‘मानसिक उपचार गर्ने अस्पताल नभएकाले शारीरिक स्वास्थ्य उपचारपछि कहाँ पठाउने भन्ने समस्या आउँछ’, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए।

उपचारमा रकम खर्च गर्नु नपरोस् भनेर मानसिक सन्तुलन गुमेका अधिकांशलाई घर परिवारले नै सडकमा छाडने गरेको डिएसपी रिमालको दाबी छ। मानसिक सन्तुलन गुमाएकाहरु शारीरिक रूपमा पनि कमजोर हुने त्यसैमाथि उचित हेरचाह नहुँदा र पोषणयुक्त खानपान अभावमा रोगहरुको संक्रमण चाँडै हुने गरेको चिकित्सकहरु बताउँछन्। यस्तो अवस्थामा आफन्तको साथ नपाउँदा मानसिक रोगीहरु बढी जोखिममा हुने गरेको डा. रन्जित झाको भनाई छ।

बिरामीहरुलाई सुरक्षित स्थानमा राखेर नियमित मनोविमर्श र मानसिक उपचार गर्न सके मात्रै जीवन जोगाउन सकिने ओसिएमसीकी फोकल पर्सन मनिषा सिम्खडा बताउँछिन्। जिल्लामा मानसिक रोगीहरुलाई राख्ने सुरक्षित आवासगृह नभएकाले अन्यत्र जिल्लाका परोपकारी संस्थाको भर पर्नु पर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए। सबै जिल्लामा आवास गृहको व्यवस्था नभएकाले बर्षेनी बेवारिसेहरु भेटिने र तिनको संरक्षणमा समस्या आइरहेको उनले बताए।

बेवारिसे र असहाय मानसिक रोगीको उपचार खर्च राज्यले व्यहोर्ने भन्दै सरकारले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई आर्थिक वर्षको बजेटभित्र रहेर कार्यक्रम सञ्चालन गर्न निर्देशन दिए पनि अस्पतालमै बिरामीहरु भुईमा अलपत्र परेका छन्। अशक्त, असहाय र बेवारिसे मानसिक रोग वा मनोसामाजिक समस्या भएकाहरूको उपचार तथा पुनस्र्थापना कार्यक्रम सञ्चालन कार्यविधि, २०७६ सरकारबाट बैशाख १६ गते स्वीकृत भएसँगै प्रक्रिया अघि बढेको जनाए पनि मानसिक तथा मनोसामाजिक समस्या भएका बिरामीहरु अस्पताल र सडकहरुमा अलपत्र परेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.