कुपोषणले ग्रस्त दलित बालबालिकामा
बाजुरा : जिल्लाका दलित बालबालिका कुपोषणले ग्रस्त बनेका छन् । कमजोर आर्थिक अवस्थाका कारण आवश्यकताअनुसारको पोषणयुक्त खानाबाट वञ्चित अधिकांश बालबालिका कुपोषणको चपेटामा छन् । जिल्ला स्वास्थ्य कार्यालय र ब्रह्मतोला स्वास्थ्य चौकीको तथ्यांकमा बुढिगंगा नगरपालिका–१ अम्कोटमा ३ वर्षकी फुलचना नेपाली मात्र कुपोषित छन् ।
तर, त्यही गाउँका ६० भन्दा बढी दलित परिवारका अधिकांश बालबालिका कुपोषित छन् । फुलचना नेपाली मात्र हैन उसकी २ वर्षकी बहिनी सुचना नेपाली पनि कुपोषणबाट ग्रस्त छिन् । आमा मनकला सनाइले भनिन्, ‘फुलचना धेरै कुपोषित भएर स्वास्थ्य संस्थाको तथ्यांकमा राखियो, तर अर्की छोरी पनि अहिले कुपोषणले थलिएकी छ ।’ सात सन्तानकी आमा मनकलाका सबै बालबालिका कुपोषणमै हुर्केका उनले बताइन् ।
‘सुत्केरी हुँदा मैले त पोषिलो खानेकुरा खान पाइन, बालबच्चाले कसरी पाउन् ? ’ मनकलाले थपिन्, ‘दुई छाक जार्न पनि मुस्किल हुँदा धेरै बालबच्चालाई आवश्यकता अनुसारको पोषकतत्व खुवाउन पाइन, हुर्केका बच्चा पनि स्वस्थ्य छैनन् ।’ सोही गाउँकी सेतु नेपालीका तीनवटा बच्चा छन् । ४ वर्षकी छोरी इशिका, डेढ वर्षकी बबिता र तीन महिनाकी पार्वती नेपालीको पनि उमेर उनुसार बृद्धिविकास भएको छैन । सबै मध्यम खालका कुपोषित छन् ।
‘घरमा खान लगाउन पुग्दैन लगाएको अन्नबालीले तीन महिना पनि खान पुग्दैन’ पार्वतीले भनिन् । उनी सुनौलो हजार दिनकी आमा हुन् । यस्तै देबी नेपाली १८ वर्षकी भइन् । उनीबाट डेढ वर्षकी छोरी र चार महिनाको छोरा छ । चार महिनाको छोरा त ठिकै अवस्थामा रहेको छ । छोरी भने कुपोषणले ग्रस्त छिन् ।
यीत त अम्कोटका दलित कुपोषित बालबालिका प्रतिनिधि पात्र हुन् । ६० परिवार रहेको दलित बस्तीका हरेक परिवारमा कुपोषणबाट ग्रसित बालबालिका छन् । अमकोट गाउँमा ७० प्रतिशतभन्दा बढि कुपोषित बालबालिका रहेको स्थानीय तारा नेपालीले बताइन् । ‘कुपोषणले नछोएका कुनै परिवारमा बालबालिका छैनन्’ उनले भनिन्, ‘खान लाउन नै धौ पर्ने दलित परिवारलाई बालबालिका र सुत्केरीका लागि पोषणयुक्त खाना जुटाउन असम्भव नै छ ।’
गाउँभरी कुपोषणले बालबालिका ग्रसित भए पनि स्वास्थ्य तथ्यांकमा एउटा मात्रै पर्नुले दलित बालबालिकाको वास्तविक अवस्था स्वास्थ्य कार्यालयले बुझ्न नसकेको उनको भनाइ छ । आन्तरिक आम्दानीले तीन महिनामात्रै खान पुग्छ । बाकी समय मजदुरी गरेर ल्याएको रकमले किनेरै छाक टारिरहेका छन् ।