मनको उज्यालोले दिलाएको सफलता
कालो रङमा सजाएकी थिइन् रिया श्रेष्ठले आफूलाई । सानो कदको ज्यान, गोरो अनुहार, कालो लेदरको ज्याकेट, कालो चस्मा, कालै पाइन्ट र कालै जुत्ता । हँसिलो स्वभावकी उनी निकै खुलेकी थिइन् । बुवा जय र आमा रीताको साथमा अन्नपूर्ण पोस्ट्को कार्यालयमा आएकी उनी आत्मविश्वासका साथ आफ्ना अनुभव सुनाउँदै थिइन् ।
एसईई टप मोडेल आइकन–२०१९ की फस्ट रनरअप हुन् रिया । सानैदेखि फेसनमा रुचि राख्थिन् । सानो छँदा मिस नेपालजस्ता ब्युटी प्याजेन्ट टीभीमा हेर्ने गर्थिन् । चञ्चले हाँसिरहनुपर्ने, बोलिरहनुपर्ने रिया चार वर्षकी हँुदा आँखाको दृष्टि गुमाउन पुगिन् ।
जब दृष्टि गुमाइन् त्यसपछि बदलियो उनको जीवनशैली । चञ्चले उनी कोठाभित्रै समेटिन थालिन् । हिजो आफैं हिँडेको बाटो पार गर्न साथी चाहिने भयो । सँगै खेल्ने साथी नौला हुन थाले । उनी कम बोल्न थालिन् । तर उनीभित्र रहेको मोडलिङको चाहना भने दबिएको थिएन । झन् झन् चुलिँदै गयो ।
शंखरापुर नगरपालिका–६, साँखुकी स्थायी बासिन्दा हुन् रिया । साँखुकै इभरग्रिन स्कुलबाट एसईई दिएकी हुन् । परीक्षाको अन्तिम दिन थियो । स्कुलमा ब्युटी प्याजेन्टको कार्ड बाँडिएको थियो । साथीको माध्यमबाट कार्ड हात पारेकी उनले अडिसनमा जाने सोच बनाइन् । घरमा आएर आमासँग कुरा गरिन् । आमाले सुटुक्क अडिसनमा पु¥याइन् । उनी ३० जनामा छनोटमा परिन् । सबैजना आँखा देख्नेको भीडमा रियालाई यो एकमहिने तालिम पूरा गर्नु निकै च्यालेन्ज थियो । उनी सोच्थिन्, ‘म मात्रै आँखा देख्न सक्दिनथेँ । अहिलेसम्म कुनै ब्लाइन्ड सहभागीले ब्युटी प्याजेन्टमा भाग लिएको थाहा थिएन । मेरा लागि अवसर र चुनौती दुवै थियो यो प्याजेन्ट ।’
कक्षामा आउने ट्रेनरले पनि रियालाई निकै सहयोग गर्थे । डान्स र क्याटवाक गर्न असहज लाग्थ्यो उनलाई । साथीहरूले बडी पोस्चर मिलाइदिन्थे । मुभमेन्ट र बडी ल्यांग्वेजको स्टक्टचर मिलाइदिन्थे । अरूले हेरेर सिक्थे भने उनले सुनेर र आफैं फिल गरेर सिक्नुपथ्र्यो । एक खालको रमाइलो थियो तालिम अवधि ।
लजालु स्वभावकी रिया तालिममा गएपछि आत्मविश्वासी बनिन् । ब्युटी प्याजेन्टको अन्तिम प्रतिस्पर्धामा सोधिएको प्रश्नको जवाफ दिने उनको शैलीको सबैले तारिफ गरेका थिए ।
१२ वर्षअगाडि रियाको दृष्टि गुम्दा उनीहरू निकै विचलित भएका थिए । रेटिना बिगार्ने गरी रियाको आँखामा पलाएको ट्युमरको उपचार गराउने समयभर उनीहरू पलपल मरेर बाँचेका थिए ।
सृष्टि केसीले सञ्चालन गरेको ब्लाइन्ड रक्स संस्थाबाट आयोजना गरिएको कार्यक्रममा पनि उनी सहभागी भएकी थिइन् । मिस्टर एन्ड मिस ब्लाइन्ड फेसन आइकन कार्यक्रम आयोजना भएको थियो । त्यहाँ ब्लाइन्डहरूले ह्वाइटकेन लिएको फरक फरक दृश्यको फोटो पठाउनुपर्ने थियो । यो कार्यक्रमको विजेता पनि रिया नै बनेकी थिइन् । म पनि सक्ने रहेछु भन्ने लाग्यो उनलाई । एक वर्षअगाडि नेपालमा पहिलो पटक ब्लाइन्डहरूको फेसन सो सेन्ट जेभियर्स कलेजमा भएको थियो । त्यहाँ पूर्वमिस नेपाल निकिता चण्डकले कोरियोग्राफी गरेकी थिइन् । घरमा पनि उनले युट्युबमा मोटिभेसनल स्पिच सुन्ने, किताब पढ्ने, सामाजिक सञ्जालमा सक्रिय हुने जस्ता कार्य गरिरहन्छिन् ।
यो उपाधिले रियाको परिवार खुसी भएको छ । सानैमा दृष्टि गुमाउनु परे पनि रियाले आमाबुवाको सहयोग सदैव पाइरहिन् । एसईई टप मोडेल आइकनमा फस्ट रनरअपसँगै उनले क्राउन, एक लाख नगद र अवसरहरू प्राप्त गरेकी छन् । बुवा जय र आमा रितुको एउटै सपना छ- जेजस्तो क्षेत्रमा भए पनि रिया सफल बनोस् ।
यो सफलतासँगै उनीहरूको अनुहारमा खुसी ल्याएको छ । रियाका बुवाआमा भनेर चिनिनुमा भाग्यमानी ठानेका छन् । १२ वर्षअगाडि रियाको दृष्टि गुम्दा उनीहरू निकै विचलित भएका थिए । रेटिना बिगार्ने गरी रियाको आँखामा पलाएको ट्युमरको उपचार गराउने समयभर उनीहरू पलपल मरेर बाँचेका थिए । व्यापार व्यवसाय गरेर ठीकठाक चलेकै थियो जिन्दगी । तोतेबोली बोल्दै यताउता छुनमुन गर्ने छोरीले सुनमा सुगन्ध भरिएको थियो घरमा । एकाएक रियाको आँखामा समस्या देखिएपछि उनीहरूको चैन हराएको थियो ।
रियाकी आमा सुँक्कसुँक्क सुकसुकाउँदै थिइन् । छोरीले छुटाएका, अल्मलिएका कुरा उनले प्रस्ट पारिदिन्थिन् । उनी भन्दै थिइन्, ‘छोरीले अग्लो हिल लगाएर घरमा क्याटवाक गर्न सिकिरहेकी हुन्थी, लामो गाउन लगाएर स्टेजमा हिँडिरहेकी हुन्थी । म भने कतै लड्ने हो कि भनेर थरथर काम्थेँ । यहाँसम्म पुग्छे भन्ने नै थिएन मलाई । तालिम चाँडै सकिए हुन्थ्यो भन्ने लाग्थ्यो ।’ रियाको छेउमै बसिरहेका उनका बुवा जय घरिघरि छोरीलाई सिकाइरहेका हुन्थे । छोरीको सफलताले मलाई औधी खुसी तुल्याएको छ । ‘उसका हरेक चाहना पूरा गर्न सकूँ भन्ने लाग्छ मलाई’, उनले भने ।