लोभ, मोह र क्रोधबाट मुक्त रहन योग : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ्य मानसिकताबाट बच्न सबैले योग गर्नुपर्नेमा जोड दिएका छन्।अन्तराष्ट्रिय योग दिवसको अवसरमा शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
समय निकालेर हरेक मानिसले दैनिक रुपमा योग गर्नु स्वास्थ्यका लागि उपयोगी हुने उनले बताए। 'योगको अभ्यास भाषा र लिपी सुरु हुनुभन्दा अघिबाट सुरु भएको हो,' ओलीले भने, 'मानिस स्वास्थ्य रहनका लागि योगको निरन्तरता जरुरी छ।'
ओलीले नेपालमा योगको अभ्यास परम्परागत कालदेखि नै हुँदै आएको प्रमाण धेरै भेटिएको बताए। 'हामीले पाँच-छ हजार वर्ष पहिलेका मूर्तिहरु हेर्यौं भने पनि तिनमा योगका विभिन्न आशन देखिन्छन्,' प्रधानमन्त्री ओलीले भने।उनले लोभ मोह र क्रोधबाट मुक्त रहनका लागि योग र नियमित ध्यान गर्नु आवश्यक रहेको औंल्याए।