कलासँग डराउँछ सरकार

कलासँग डराउँछ सरकार

भित्तामा राजनीतिक दलका नारा लेख्न हुने, प्रधानमन्त्रीका फोटो टाँस्न करोडौं रुपैयाँ खर्च गर्न हुने ? चित्र कोर्न किन नहुने ?


वीर अस्पतालदेखि भोटाहिटीसम्मका भित्तामा गएको शनिबार चित्र कोरिएको थियो, ‘नालायक म’। खोज समूह दिनभर चित्र बनाएर साँझ घर फर्कियो। भोलिपल्ट जाँदा त्यहाँ चित्रको नामोनिशान थिएन। अर्थात्, चित्रमाथि ‘सरकार लागिसकेको’ थियो। भित्तामा चित्र होइन, सेताम्मे थियो। छेउकै ‘डेड सरकार’ शीर्षकको चित्रमा पनि सेतो रङ पोतिएको थियो।

मात्रै हेर्नका लागि थिएन चित्र। चित्रमा सन्देशसहितको आह्वान थियो, ‘हरेक मान्छेले आफैंलाई मूल्यांकन गर्नुपर्छ।’ हरिया, राता, काला, पहेंला अनेक रङ छ्यापेर ‘नालायक म’ चित्रको बहुअर्थी थियो। चित्रमा कुनै युवक भीडमा हराएजस्तो। अनि जताततै भद्रगोल।

चित्रका रचनाकार लक्ष्मण श्रेष्ठ भन्छन्, ‘सहरको भीडभाड र स्वार्थको हुलमूलमा मान्छेले मानवता भुल्यो। मान्छे–मान्छेबीचको मानवीय धर्म, सद्भाव र आत्मीयतालाई पैसाको बिटोले किनिदियो। मान्छे विवेकशून्य भयो। हरेक मान्छे आफ्नै निम्ति नालायक भएको छ आज। पैसा छ खास खुसी छैन। सम्बन्ध छ विश्वास छैन। मानवता बिक्रीमा राखेको आजको मान्छेले आफैंलाई भन्ने गर्छ– ‘नालायक म’।

यो चित्रलाई बहुअर्थी रूपमा बुझ्न सकिन्छ। उनको व्याख्यामा भनिएको छ, ‘चित्रले राजनीतिक संस्कार प्रतिबिम्बित गर्छ। मान्छे आफ्नो स्वार्थका लागि रातदिन काम गर्छ। तर समाज, संस्कृति र मानवीय संवेदना जोडिने विषयमा चुप लाग्छ। आफ्नै अघिल्तिर मन्दिर मासिएको देख्छौं, हामी तर चुप छौं। आँखैअघि अन्याय देखिरहन्छौं। तर बोल्दैनौं। गलत मानिसलाई सत्तामा पुर्‍याउँछौं र पीडित बन्छौं। आखिर हामी सब नालायक हौं।’

चित्रले हरेकलाई आत्ममूल्यांकन गर्न बाध्य बनाउँछ भन्ने उनको विश्वास हो। खोज समूहमा लक्ष्मण श्रेष्ठ, शिवकुमार शर्मा, सञ्जय जुगजाली, विदेश चाम्लिङ राईलगायत सक्रिय छन्। यो समूहले सहरका खाली भित्तालाई रचनात्मक कला प्रदर्शन गर्ने ठाउँ बनाएको छ।

प्रायः कलाकार एकान्त मन पराउँछन्। स्टुडियोमा घन्टौं कुची चलाउँछन्। तर, लक्ष्मण भिन्न छन्। उनी भन्छन्, ‘कला देखिने हुनुपर्छ। समाजबाट जे कुरा कलाकारले सिक्छ त्यसको प्रतिक्रिया हो आर्ट। यसले जनमानसमा प्रभाव ल्याउन सक्नुपर्छ।

सडकमा पेन्टिङ किन त ? समाजका सबै मान्छेको साझा ठाउँ हो सडक। यहाँ समाजका अति विपन्नदेखि अति सम्पन्न मानिसलाई पनि सडकमै भेटिन्छ। कला प्रदर्शन गर्ने र आफ्ना विचार पोख्ने उपयुक्त ठाउँको रूपमा सडक प्रयोग गर्ने गरेको उनले बताए। उनी भन्छन्, ‘कलाले सबैलाई समान मानिसको रूपमा हेर्छ। बुझाइअनुरूप महसुस गर्छ। कलाले सडकका खालि भित्ता सुन्दर देखाउ“छ। त्यहीकारण, हामीले सडकका भित्ता कर्मथलो बनाएका हांै।’

गत शनिबार बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म उनीहरू निरन्तर ‘स्ट्रिट पेन्टिङ’ मा तल्लीन थिए। ‘के गरेका होलान् ? ’ त्यो बाटो हिँंड्नेहरू चाख मानेर हेर्थे। ड्युटीका प्रहरीको ध्यान खिचेको थियो। चित्र कोरे र उनीहरू घरतिर लागे। बिहान फेरि हेर्न जाँदा त भित्ता सेताम्ये बनिसकेको थियो।

उनी आक्रोशित छन्। भन्छन्, ‘यो सरकार चित्रसँग पनि डराउँछ। कलाकार सिर्जित विचारसँग तर्सनेहरू छन्। विचार राख्नेहरूलाई कहिलेसम्म थुन्न सकिन्छ र ? ’ न्युज लेखेकै भरमा पत्रकारलाई पक्रिन्छ सरकार। कमेडी कार्यक्रम चलाएकै भरमा हिसासतमा राख्छ। हुँदाहँुदै कुनै कलाकारले बनाएको आर्ट मेटाइदिन्छ। उनले आक्रोश पोखे, ‘यो कसको सरकार हो ? ’

काठमाडौं महानगरका प्रहरीपरिसरका डीएसपी राजु पाण्डेले आफूहरूले चित्र मेटेको स्विकारे। ‘किन त ? ’ उनको जवाफ रह्यो, ‘विनास्वीकृति कुनै पनि सार्वजनिक ठाउँमा पोस्टर, पम्प्लेट र चित्र बनाउन पाइन्न। अझ चित्रले सरकारको विरोध गरेको हुँदा हटाएका हौं।’

स्ट्रिट पेन्टिङ गरेर कसैले पैसा दिँदैन। घन्टौं उभिएर चित्र बनाइरहँदा कसैले चियासमेत खाऔं भन्दैन। भोकभोकै काम गर्नुपर्छ। अरूले पनि पैसा नआउने यो स्ट्रिट आर्ट किन गर्छस् भन्छन् तर उनलाई यस्ता कुनै प्रश्नको जवाफ दिनु छैन।

उनको दाबा रह्यो, ‘विनास्वीकृतिका चित्रले दृश्य प्रदूषण निम्त्याउँछ। सार्वजनिक रूपमा केही लेख्नुपरे, केही बनाउनुपरे महानगरको स्वीकृति लिनुपर्छ।’ तर होडिङबोर्ट, पम्प्लेट, प्रचार–सामग्री जताततै किन छ त ? चित्तबुझ्दो जवाफ दिन सकेनन्। अझ तिनले ‘डेड सरकार’ नामक चित्र बनाएर सरकारको बेइज्जत गरेकोमा आक्रोश पोखे। उनकै प्रश्न शृंखला थियो, ‘यस्तो पनि लेख्न मिल्छ ? सरकार कहिले डेड हुन्छ ? यो पनि कुनै चित्र हो।’

ललितकला प्रज्ञा प्रतिष्ठान चित्रकला विभागकी प्रमुख सुष्मा राजभण्डारी कला, संस्कृति र साहित्य राष्ट्रको गहना भएकाले सरकारले मेट्न नहुने तर्क गर्छिन्। उनले सार्वजनिक ठाउँमा अश्लील चित्र बनाउन नपाइने र कुनै उद्देश्यले महानगरको स्वीकृति लिनुपर्ने बताइन्। तर कुनै सन्देश बोकेको कला सिर्जनालाई सरकारले पनि स्वीकार गर्नुपर्ने जानकारी दिइन्। सार्वजनिक ठाउँमा कला सिर्जना गर्ने प्राक्टिस नेपालमा मात्रै होइन, संसारभर रहेको बताउँदै कलाले कसैको व्यक्तिगत चरित्र, राष्ट्रियताका विषयमा आँच ल्याउन भने नपाइने बताइन्। वीर अस्पतालअगाडिको पेन्टिङ मेटिएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताउँदै उनले यो विषयमा महानगरका मेयरसँंग छलफल गर्ने र एउटा ठोस निर्णय ल्याउन पहल गर्ने आश्वासन दिइन्।

महानगरीय प्रहरीपरिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीका अनुसार सार्वजनिक ठाउँमा अश्लील चित्र बनाउने तथा राष्ट्रियतामा खलल पुग्ने खालका कुरा देखेमा प्रहरी परिचालन गरेर मेट्ने पनि गरिएको छ। तर खोज समूहका चित्र मेटिनुमा प्रहरीको भूमिका छैन। काठमाडौंका सडक, भित्ता सरसफाइको जिम्मा महानगरको हो।

२०७२ सालको भूकम्पपछि भारतले लगाएको नाकाबन्दीको बेला पेट्रोल र ग्याँसमा कालोबजारी खुब बढेको थियो। यसैको विरोध गर्दै यो समूहले भृकुटीमण्डपमा ‘ग्याँस सिलिन्डरमा मिडिल फिंगर’ शीर्षकको चित्र बनाएका थिए। केही दिनपछि महानगरको कुनै कर्मचारीले अश्लील चित्र किन बनाएको भन्दै फोन गरे लक्ष्मणलाई। ‘चित्र हेर्ने तपाईंको नजर नै अश्लील छ महोदय। कृपया कलालाई सभ्य आँखाले हेर्नुहोस्।’ फोन गर्ने मानिसलाई उनले जवाफ फर्काए। यो तीन वर्षअगाडिको कुरा थियो।

गत माघ महिनामा यही ठाउँमा बनाएको ‘डेड सरकार’ नामक चित्रमा पनि महानगरका कमचारीले रङ पोतेरे सेताम्मे बनाएका थिए। चित्रको शीर्षकमा उनीहरूको आपत्ति थियो। जहाँ डेड सरकार लेखिएको थियो शब्द नै गायब बनाइएको थियो। खोज समूहले चित्रमा पुनः ब्लाइन्ड सरकार लेखे। यो शब्द पनि केही दिनको पाहुना मात्रै बन्यो। अर्थात् सरकारले ब्लाइन्ड सरकार शब्द मेटाइदियो।

यसरी गाली खान थालेको वर्षौं भइसक्यो। कहिले महानगरपालिकाले धम्क्याउँछ त कहिले स्थानीयले धपाउँछन्। आफ्नो घरका भित्तामा चित्र कोर्न दिन्न भन्दै घरबेटी कुर्लिन्छन्। तैपनी उनलाई स्ट्रिट पेन्टिङको रहर मरेको छैन। आम्दानीको बाटो केही छैन। रङ र कुची किन्न पनि महिनौं मेहनत गर्नुपर्छ। तर सडकप्रति एक खालको लगाव छ उनको। यो बीचमा कति साथी आउँछन्, टिक्न नसकेर जान्छन् तर उनी अनवरत रूपमा सडकका भित्ता रंगाइरहेका छन्।

‘भित्तामा राजनीतिक दलका नारा लेख्न हुने ? प्रधानमन्त्रीका फोटो टाँस्न करोडौं रुपैयाँ खर्च गर्न हुने ? मैले चित्र कोर्न किन नहुने ? यो देश नेताको मात्रै हो या प्रधानमन्त्रीको मात्रै ? स्ट्रिट पेन्टिङमा मैले सामाजिक, राजनीतिक विषयमा देखिएको लापरबाहीको विरोधस्वरूप बाटोका भित्तामा चित्र कोर्न सुरु गरेको हुँ’, श्रेष्ठ स्पष्टीकरण दिन्छन्।

भीमसेनगोलादेखि मध्यबानेश्वर आउने सडकका भित्ता सुन्दर चित्रले रंगिएका छन्। सन् २०२२ सम्म यो टोलमा करिब एक सय एक वटा स्ट्रिट चित्र बनाउने महत्त्वाकांक्षी योजना बनाएको छ उनीहरूको समूहले। उनीहरूले संसद् भर्सेस जनता, भद्रगोल देशका व्यस्त नागरिक, म मस्त देश अस्तव्यस्त, जलाइएकी म, सचेतमा भ्रूणहत्या, विकास भर्सेस विनाश, दायित्व जसको, नशामा होइन अब, पैसा, टेका, चासो जसलाई, बहुला म, न्यानो, पागल तँलगायतका दर्जनौं स्ट्रिट पेन्टिङ गरिसकेका छन्।

नेपालगन्जका स्थानीय हुन्, लक्ष्मण। म्यानेजमेन्टका विद्यार्थी हुन्। सानैदेखि चित्रकलाका सौखिन। उनले पहिलोपटक नेपालगन्जमै चित्र बनाएका थिए। उनी सम्झन्छन्, ‘संविधानसभाको पहिलो चुनाव सकिएपछिको समय थियो। प्रत्यक्ष र समानुपातिक पद्धतिबाट निकै सांसद चयन भएका थिए। यहीबेला श्रेष्ठले नेपालगन्जकै रोडमा ‘सांसद् भर्सेस जनता’ शीर्षकको चित्र बनाएका थिए, जहाँ बक्सिङ रिङभित्र सांसद र जनता पक्ष प्रतिपक्षमा उभिएका थिए।

त्यो चित्र धेरैको ध्यान खिच्न सफल भएको थियो। उनको चित्रकारिताको चर्चा हुन थाल्यो। उनले नेपालगन्जकै सडकमा ‘भद्रगोल देशका व्यस्त नागरिक’ म मस्त देश अस्तव्यस्त’ लगायतका सिरिजमा केही काम गरे। फाइन आर्टमा केही समय अध्ययनसमेत गरेका हुन् उनले। तर पढाइलाई निरन्तरता दिएर पूरा गर्न भने सकेनन्। कुची र रङ लिएर बाटोमा चित्र बनाउँदै हिँडे उनी। भन्छन्, ‘जीवन अनिश्चित छ। मसँग सिर्जना गर्ने क्षमताचाहिँ छ तर कस्तो आर्ट बनाउँछु कुनै निश्चित छैन। जीवनका घटना पनि यस्तै अनिश्चित छन्।’ भोलि जे होला होला, आजको दिन भरपूर काम गरांै केही सिर्जनशील बनाऔं भन्ने उनको आफ्नै सिद्धान्त छ।

स्ट्रिट पेन्टिङ गरेर कसैले पैसा दिँदैन। घन्टौं उभिएर चित्र बनाइरहँदा कसैले चियासमेत खाऔं भन्दैन। भोकभोकै काम गर्नुपर्छ। घरपरिवार, साथीभाइ र अन्य कलाकारले पनि पैसा नआउने यो स्ट्रिट आर्ट किन गर्छस् भनेर सोध्छन् तर उनलाई यस्ता कुनै प्रश्नको जवाफ दिनु छैन। भन्छन्, ‘जिन्दगी सडकजस्तै भइसक्यो, भविष्यको के कुरा ? नेपाली समाजमा फैलिएको विकृति, राजनीतिक पाटीले जनतालाई दिएको सास्ती, सरकारले गरेका गलत काम देख्दा उनलाई सबै कुरा सडकमा छताछुल्ल पारिदिऊँ जस्तो लाग्छ।’

उनी भन्छन्, ‘म सामान्य जनताको सन्तान मैले मजस्तै सम्पूर्ण नेपालीको आवाजलाई चित्रमा समेट्नु छ। मैले सक्दासम्म चित्र बनाउँछु, मागेरै भए पनि स्ट्रिट पेन्टिङ गर्छु। आशा छ– आउने पुस्ताले हाम्रो यो कामलाई मूल्यांकन गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.