विभेदलाई शिक्षाको माध्यमबाट समाप्त पार्न सकिन्छ : राष्ट्रपति
राजविराज : राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाको माध्यमबाट विभेदलाई जरैदेखि समाप्त पार्नुपर्ने बताएकी छन्।
सप्तरीको डाकनेश्वरी नगरपालिका ३ स्थित जनता माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शिक्षाकै माध्यमबाट सबैखाले असमानता र विभेद समाप्त हुने धारणा राखिन्। शिक्षा सर्वांगिण विकासको माध्यम भएको उनको भनाई छ।
उच्च शिक्षाको बलियो जग विद्यालय तहको शिक्षालाई प्रभावकारी तुल्याउन सुदृढ शैक्षिक तथा भौतिक पूर्वाधार विकासमा उनले जोड दिइन्।
आमा समूहलगायत स्थानीय समुदायलाई परिचालन गर्दै विद्यालयमा स्वस्थ्य र पौष्टिक दिवा खाजा उपलब्ध गराएर बालबालिकाको स्वास्थ्य र गुणस्तरीय शिक्षामा जोड दिन पनि राष्ट्रपति भण्डारीले आह्वान गरिन्।
प्रदेश २ सरकारले ल्याएको 'बेटी बचाऔं, बेटी पढाऔँ' अभियानमा सहभागी हुन उनले आग्रह गरिन्। जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउन, सांस्कृतिक पर्यटकिय क्षेत्रको क्षेत्रको विकास गर्न, बाढीलगायत प्राकृतिक प्रकोप नियन्त्रणको पूर्व तयारीमा लाग्न उनले ध्यानाकर्षण गराइन्।
आधारभूत स्वास्थ्य सेवा विस्तार गर्न र उद्योगधन्दाको विकासमा लाग्न उनले सरकारको ध्यानाकर्षण गराइन्। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई साधन स्रोत सम्पन्न बनाउन संघीय सरकारलाई र गजेन्द्रनारायण सिंह औधोगिक क्षेत्रको पूर्वाधार विकास गरेर सञ्चालन गर्न प्रदेश सरकारलाई राष्ट्रपति भण्डारीले आग्रह गरिन्।
चुरे पर्वत श्रृंखलाको अनियन्त्रित दोहन रोकी वृक्षरोपणलाई तिब्रता दिन उनले आग्रह गरिन्। उनले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई थप सुदृढ पारिने आशा व्यक्त गरिन्।
राष्ट्रपति भण्डारीले कृषि तथा वन क्षेत्रको विकासका लागि आधुनिक कृषि तथा वनसम्बन्धी प्राविधिक उच्च शिक्षामा जोड दिनुपर्ने बताइन्।
राष्ट्रपतिले विद्यालयको हीरक जयन्ती स्तम्भ र पक्की भवनको उद्घाटन गरिन्।
राष्ट्रपति भण्डारीले आफू तरही गाउँमा २१ वर्ष अघि आएको र केहीबेर विद्यालयमा बसेको पनि सम्झना गरिन्। विराटनगरमा २०५५ सालमा सम्पन्न अनेमसंघको राष्ट्रिय सम्मेलनबाट फर्कने क्रममा दुर्घटना परी निधन भएकी राजोदेवी यादवको परिवारलाई समवेदना प्रकट गर्न घटनालगत्तै भण्डारी तरही आएकी थिइन्। यही सम्मेलनले भण्डारीलाई अनेमसंघको अध्यक्षमा निर्वाचित गरेको थियो।
हीरक जयन्ती समारोहमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले शिक्षित र स्वस्थ्य समाजबिना समृद्ध मुलुकको कल्पना गर्न नसकिने बताए। उपलब्ध स्रोत, साधन र क्षमतालाई विकास निर्माणमा लगाउन सरकारले सक्दो प्रयास गरेको उनकले बताए।
मुख्य मन्त्री लालबाबु राउतले महिलालाई सशक्त बनाउन प्रदेश सरकारले समान अवसरका साथै शिक्षामा जोड दिएको बताए।
सांसद चन्द्रकान्त चौधरीले विरामी भई अस्पताल भर्ना भएका सांसद रेशम चौधरीको जीवन उद्धार गर्न र गिरिशचन्द्र लालको संयोजकत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे।