खडेरीले बाली सुक्न थाले
मुगु : लामो समयदेखि वर्षा नभएपछि खडेरीका कारण अन्नबाली सुक्न थालेपछि कृषक भोकमरी हुने चिन्तामा छन्। आकासे वर्षा नहुँदा जिल्लाका चारै स्थानीय तहका कृषकले चैत्र महिनामै खेतबारीमा लगाएको कोदो, धानलगायत बाली सुकेको हो।
वर्षा नहुँदा खेतबारी सुकेर नांगै हुन थालेपछि यो वर्ष भकारी रित्तो हुने देखिएको हो। हिउँदमा राम्रै हिमपात हुँदा हिउँदे बाली तथा फलफूलको उत्पादन हुने आशमा कृषक खुसी छन्। उम्रेको बाली केही त खडेरीले डढेर गयो बचेको पनि किराले खाएर सखाप पार्न थालेपछि यो वर्ष भोकमरी हुने भएको छ। वर्षभरीको खेतीले ३ महिनादेखि ६ महिना खान नपुग्ने छायाँनाथ रारा नगरपालिका–४ का कृषक सुनबहादुर रोकाया बताउँछन्।
चारवटै स्थानीय तहमध्ये खत्याड गाउँपालिकामा केही सिँचाइयोग्य जमिन छन्। यहाँ समयमै रोपाइँ भए पनि भुवा जग्गामा रोपेको कोदो बाली सुकेको छ। छायाँनाथ रारा नगरपालिका र सोरु गाउँपालिकामा भने धानका बिउ ब्याडमै सुक्न थालेको छ। यता मुगुम कार्मारोङ गाउँपालिका पूरै सुख्खा क्षेत्र भएकाले कृषकले खेतबारीमा लगाएको चिनो, कागनु, कोदो, मार्से भने पूरै खडेरीले सखाप भएपछि यहाँको खेतीयोग्य जमिन बाँझो हुन थालेको कृषकले बताए।
अहिले खडेरी परेको तथा सुख्खा मौसम हुँदा बालीनालीमा विभिन्न रोग र किराको संक्रमण बढ्ने कृषि सम्पर्क केन्द्र मुगुले जनाएको छ। अहिले सम्पर्क केन्द्रसँग रासायनिक तथा जैविक विषादीको औषधि नभएका र प्राविधिक जनशक्तिसमेत अभाव छ। निजी एग्रोभेटमा विषादी किन्न सकिने सम्पर्क केन्द्रका निमित्त प्रमुख सुकिराम नेपालीले जानकारी दिए। बालीनालीमा किरा लागेको भन्ने विषयमा सम्बन्धित स्थानमै पुगेर संक्रमित किराको विषयमा यकिन भन्न सकिन्छ। खडेरीले बालीमा विभिन्न खाले रोग लाग्छन् निमित्त प्रमुख नेपालीले बताए।