शिशिरको जोगी रूप

शिशिरको जोगी रूप

काठमाडौं : गुगल सर्च गर्ने हो भने गायक शिशिर योगीको प्रायः सबै तस्बिर एकै प्रकारको फेला पर्छ— बाक्लो कालो जुँगामा हँसिलो मुहार। तर अहिले गायक योगीको मुहार फेरिएको छ। माघ १ बाट पाल्न सुरु गरिएको उनको दाह्री झ्याप्पै भएको छ। सवा पाँच महिनामा एक पटक पनि नकाटिएको दाह्रीले उनलाई जोगीको भेषमा देखाउँछ।४८ वर्षमा हिँड्दै छन् शिशिर तर उनको झ्याप्ले सेतो दाह्रीले ५५ कटेको देखिन्छ।

दाह्री पाल्नुको कुनै संकल्प छ कि भन्ने प्रश्नमा उनी भन्छन्, ‘छैन छैन, कुनै संकल्प छैन। दाह्री पाल्ने रहरले पाल्न सुरु गरेको हुँ। अब यो दाह्रीमा कैंची चलाउने विचार छैन, जति बढे बढोस्।’ उनले दाह्री पालेकोमा श्रीमतीको गुनासो छ। ‘तिम्रा बूढा साँच्चिकै बूढाझैं देखिए, दाह्री फाल्न भन’, श्रीमतीका सहेलीहरूको यस्तो भनाइले श्रीमती पनि कचकच गरिरहन्छिन्।
करिब पाँच सयभन्दा बढी गीत गाइसकेको बताउने शिशिर पछिल्लो पटकको कामले आफूलाई निकै सन्तुष्ट बनाएको बताउँछन्। उनले शताब्दीपुरुष सत्यमोहन जोशीको कवितामा स्वर दिएका छन्। ‘क्रान्तिका लहर’ नामक यो एल्बम बजारमा आउँदै छ।

शिशिरले आठवटा एल्बम बजारमा ल्याइसकेका छन्। एक दशकअघि आएको आफ्नो पहिलो एल्बम ‘पहिचान’ले आफ्नो पहिचान बनाएकाले यो एल्बमका गीत उनी आफैंलाई मन पर्छ। भन्छन्, ‘यो एल्बम अम्बर गुरुङको संगीतले लिपिबद्ध छ। कालीप्रसाद रिजाल, कमल दीक्षित, भीम विराग, सत्यमोहन जोशीका गीत यसमा समावेश छन्। यस्ता दिग्गजका रचनामा स्वर दिन पाउनु मेरो ठूलो अहोभाग्य हो।’

उनले आफ्नै नाममा सातौं एल्बम ‘शिशिर’ ल्याएका थिए। आफ्नै नामप्रति यति मोह किन ? उनले मुस्कुराउँदै भने, ‘मलाई नामप्रति कहिल्यै मोह जागेन। म सकेसम्म आफ्नो परिचय लुकाउन चाहन्छु। वसन्त ऋतु लाग्नेबित्तिकै मैले अर्को ऋतुको रूपमा शिशिर एल्बम ल्याएको हुँ।’ आफ्नो पहिचान नखुलोस् भनेर उनले पहिचान एल्बमको कभरमा समेत तस्बिर नराखेको जनाए।

जिन्दगीमा अनेक मोड आउँछन्। उनले छैटौं एल्बमको रूपमा ‘मोड मोडमा’ एल्बम ल्याए तर बजारमा सार्वजनिक गरेनन्। थोरबहुत पुस सेल गरे। लगानी उठाउन भने सकेनन्। धेरैलाई लाग्दो हो, यी चल्तीका गायकले मनग्गे रोयल्टी हात पार्छन्। तर उनले अचम्मलाग्दो फिगर सुनाए, ‘अहिलेसम्म मैले गीत रेकर्डमै करिब २९ लाख रुपैयाँ झ्वाम पारेको छु। यो रकमले चारपांग्रे चढ्न सकिन्थ्यो होला। तर रोयल्टीका रूपमा आफ्नो भट्भटेमा वर्ष दिनलाई तेल हाल्न पुग्ने रकम पनि हात परेको छैन।’

अनि घरखर्च कसरी चल्छ त ? शिशिर भन्छन्, ‘यो जोगीले धेरै आशा राख्दैन। साँझबिहान हातमुख जोड्न भगवान्ले जुराइदिएका छन्। कहिलेकाहीँ कुनै कुनै स्कुलमा संगीत कक्षा लिन जाने गरेको छु। कसैकसैले कार्यक्रममा बोलाउँछन्। यसैमा टरेको छ दालभात।’

आफूले गम्भीर सन्देशमूलक गीत गाउने, युवालाई नचाउने खालको गीत नगाउने भएकाले मेला आयोजकहरूको रोजाइमा नपर्ने गरेको उनको ठम्याइ छ। अहिले पुङ न पुच्छरका गीत पनि युट्युबमा अपलोड भएर हिट भइरहेका छन्। खै त उनका गीत युट्युबमा ? शिशिर भन्छन्, ‘मलाई युट्युबमा अपलोड गर्न हतारो छैन। म्युजिक नेपालले बिस्तारै महिनामा दुई/दुईवटाका दरले युट्युबमा अपलोड गर्ने व्यवस्था मिलाउँदै छ। युट्युबमा भ्युअर्स बढ्नु लोकप्रिय गीतको मानक होइन।’

आमाको मुख हेर्ने दिनको अवसरमा ल्याइएको शिशिरको आमाबारेको गीत ‘यता खोज्छु आमा, उता खोज्छु आमा...’ हिट छ। उनलाई अब बुवाबारेको गीत गाउने मोह छ। तर आदर्श बुवाको वर्णन गरिएको गीत फेला पार्न सकेका छैनन्। फेरी लगाउने जोगीले गाउने भाकाको गीत गाउने मन छ। तर ओरिजिनल भाका फेला पार्न सकेका छैनन्।

दाङदेउखुरीको वसन्तापुर (बाघढड्डी)मा जन्मिएका शिशिरको बाल्यकाल थारू गोचाली (साथी)हरूको सरसंगतमा बित्यो। उनलाई खेती गर्दा गाइने थारू सजना गाउने मन छ, तर भाका पाएका छैनन्।

अम्बर गुरुङका सर्वोत्कृष्ट चेलो शिशिरलाई अझ सरलभन्दा सरल गीत गाउन मन छ। तर शब्दले छोएन भने उनी रेकर्डमा बस्ने जाँगर गर्दैनन्। २०५९ सालमा उनको पहिलो एल्बम ‘पहिचान’ बजारमा आएको थियो। बस, टेम्पोजस्ता सार्वजनिक साधनमा यात्रा गर्दा धेरैले आफ्नो एल्बमको गीत गुनगुनाएको, यो गीत गाउने को होला ? भनेर गन्थन गरेको सुन्दा आफूलाई अपार आनन्द आएको बताउँछन्।

शिशिरसँग गफिँदाको दिन संगीत रोयल्टी संकलन समाजको साधारणसभा थियो। नेपाल एकेडेमीमा भएको कार्यक्रममा बाझाबाझ भएको देख्दा उनी धेरै बेर बस्न नसकेर निस्किए। अनामनगरको कन्काई खाजा घरमा उनीसँग गफ गरेर बाहिर निस्किँदा एक अधबैंसेले सोधे, ‘तपाईं शिशिर योगी होइन ? ’ उनले ‘हो’मा टाउको हल्लाएपछि ती व्यक्तिले इच्छा राखे, ‘तपाईंसँग एउटा सेल्फी खिच्छु है।’

आफ्नो बा. २९ प ९०१२ नम्बरको बाइक स्टार्ट गर्दै शिशिरले भने, ‘लामो दाह्री पाली पहिचान लुकाउने कोसिस गर्दा पनि मान्छेले चिनेर सेल्फी खिचौं है भन्दै दिक्क लगाइरहन्छन् भन्या।’ एकैछिनमा उनको बाइक ओझेल पर्‍यो। सायद उनी हावाको बेगसँग सुसेल्दै थिए— जोगीको भेषमा यो देशमा एउटा मानिस खोजिरहेछु।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.