युवा कृषकको माग ‘गाई जोन’
भद्रपुर : गर्न सक्दा अवसर आफ्नै अगाडि छन्। कसैको ढोका ढकढकाउन पर्दैन। गोबरग्यास कम्पनीमा काम गर्दागर्दै दौडधुप बढी, तर सोचेजस्तो सन्तुष्टि नपाएपछि झापा मेचीनगर–४ का किसान केशव सुवेदी गाउँमै आएर गाइ पाल्न थाले। सुरुमा १० बाट सुरु गरेका उनले हाल एक सय १० वटा गाई पालेका छन्।
विदेशमा बसेर आएका दुई, चारजना साथीभाइले गाईपालन व्यवसाय चलाइरहेका थिए। उनीहरूसँगै गएर बुझ्ने क्रममा यत्तिकै खटाइ हुने हो भने गाईपालन व्यवसायमा राम्रो गर्न सकिन्छ भन्ने लागेरै सुवेदीले व्यवसाय सुरु गरे। ४१ वर्षीय उनले दैनिक ११ सय लिटर दूध बिक्री गर्छन्।
सुवेदीले १३ जनालाई प्रत्यक्ष रूपमा रोजगार दिएका छन्। उनको खर्च कटाएर मासिक अढाइ लाख आम्दानी हुने गर्छ। गत वर्ष खोरेत रोग लागेर ३० गाई मरे। ‘त्यतिबेला अलि डर लाग्यो, कतै यो रोग सबैमा लाग्ने त हैन भनेर’, उनले भने, ‘प्रदेश सरकारबाट प्राविधिक आएर उपचार गरेपछि पैmलिन पाएन।’
सुरुमा आठ लाख रूपैयाँबाट व्यवसाय सुरु गरेका सुवेदीसँग हाल २ करोड रूपैयाँ बराबरको पुँजी छ। उनले १७ बिघा जग्गा भाडामा लिएर त्यसमा घाँस र मकै छर्ने गरेका छन्। झापाको मेचीनगर नगरपालिकाको वडा नम्बर ४ गाई जोन क्षेत्र घोषणा हुन मात्र बाँकी छ। उक्त वडामा मात्र साना ठूला गरी २६ वटा गाई फार्म सञ्चालनमा छन्। २०६७ सालमा स्थानीय युवा निरोज बोगटीले मेचीनगरमा पहिलोपटक व्यावसायिक रूपमा गाईपालन सुरु गरेका हुन्। त्यतिबेला २ लाख रुपैयाँको वैदेशिक रोजगारी छोडेर उनी नेपालमै परिवारसँगै बसेर पनि केही गर्न सकिन्छ भन्ने उद्देश्यले फर्केका थिए। परिवारमा सल्लाह गर्दा कसैले अनुमति दिएनन्। ‘सुरुवाती दिनमा बोगटी बौलायोसम्म भने तर अहिले धेरै युवा गाईपालनमा आकर्षित भएको देख्दा खुसी लाग्छ’, उनले भने।
अचम्मको कुरा के छ भने मेचीनगर–४ मा फर्म खोल्ने क्रम अझै जारी छ। विदेश गएका युवा पनि फर्किने क्रम उत्तिकै छ। सबैलाई प्रेरणाको स्रोत बनेका छन् मेचीनगर ४ का युवा। त्यसो त उक्त वडामा विगत वर्षमा मिल्क होलिडे भन्ने हुन्थ्यो। दूध नबिकेर बाटामा पोखिने स्थानीय कृषकको भनाइ छ। अहिले इटहरीमा खोलेको र छिट्टै सञ्चालनमा आउन लागेको पाउडर दूधको कारखानाले जति दूध उत्पादन भए पनि बिक्री हुन्छ।
स्थानीय युवा राजु बास्कोटा कतारमा कमाएको पैसा गाईपालनमा लगानी गरेका छन्। १ सय गाई भएका उनले १२ जनालाई रोजगार दिएका छन्। ‘लाख लगानी गरेर यस व्यवसायमा आएका अधिकांश युवासँग करोडको पुँजी भइसकेको छ’, उनी भन्छन्।
मेचीनगर नगरपालिकाले पनि बाहुनडाँगी–४ मै पशु अनुसन्धान केन्द्र स्थापना गर्ने तयारी गरेको छ। पशुपालन गर्दै आएका किसानलाई संख्या हेरेर दुई लाख रूपैयाँसम्म अनुदान दिने गरेका नगर प्रमुख विमल आचार्यले बताए। बेलाबेला किसानलाई दक्ष प्राविधिकको आवश्यक भए पनि नगरपालिकाले उपलब्ध गराउन नसकेको उनी बताउँछन्। ‘अब छिट्टै पशु चिकित्सक सहितको प्राविधिक टोली व्यवस्था गर्नेछौं’, आचार्यले भने।