६५ वर्ष कटेपछि पार्टी छाडौँ : सिटौला
काठमाडौं : कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टी पुनर्जागरणका लागि युवालाई नेतृत्वमा ल्याउन आवश्यक रहेको बताएका छन्।
जीपी कोइराला अध्ययन केन्द्रले सोमबार राजधानीमा आयोजना गरेको अन्तक्र्रियामा उनले ६५ वर्ष उमेर कटेका नेताले पार्टीबाट नेतृत्व छाड्नुपर्ने बताए।
‘६५ नाघेका हामीजस्ताले पार्टी नेतृत्व युवालाई हस्तान्तरण गर्नुपर्छ’, उनले भने, ‘युवा साथीहरू अगाडि आउनुप¥यो।’ सत्ता र प्रतिपक्ष दुवै गलत बाटोमा हिँडिरहेको उनको भनाइ थियो।
अर्का नेता गगनकुमार थापाले पार्टी नेतृत्वले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने बताए। पार्टीको संगठनात्मक संरचना नरहेको अवस्थामा जागरण अभियान गर्नुको तुक नभएको उनको भनाइ थियो। ‘हामीले आउँदो फागुनमा महाधिवेशन गर्न नसके पनि यो मितिमा गर्छौँ भनेर कार्यतालिका ल्याउनै पर्छ’, उनले भने, ‘पार्टी बलियो बनाउन महधिवेशनको विकल्प छैन।’
अर्का नेता प्रदीप पौडेलले पार्टी पुनर्जागरणका लागि नेतृत्वमा गम्भीरता नदेखिएको आरोप लगाए। नेतृत्वमा भविष्यको चिन्ता नरहेको उनको भनाइ थियो।