कार्यालय नमुना, कार्यशैली पुरानै

कार्यालय नमुना, कार्यशैली पुरानै

काठमाडौं : बिहान ९:३० मा मालपोत कार्यालय कलंकी पुग्दा गेट खुलेको थिएन। गेटमा उभिएकी एक महिलाले भित्र सरसफाइको काम भइरहेको बताइन्। ९:५० मा गेट खुल्यो। कर्मचारी धमाधम भित्र बस्न थाले। हामी पनि कर्मचारीसँगै गयौं।

कार्यालय भवनको मूल ढोकाको एकापट्टि सुखी नेपाल, समृद्ध नेपाली लेखिएको थियो भने अर्कोतिर भ्रष्टाचारविरुद्धको नारा।

भुइँतलामा पहिलो र दोस्रो काउन्टर। पहिलो तलामा तेस्रो र चौथो काउन्टर। तेस्रो तलामा आर्थिक प्रशासन। परिसरमा प्रतीक्षालय। प्रत्येक सेवाग्राही बस्न व्यवस्थित कुर्सी राखिएको छ। सूचना अधिकारीको विवरण र कार्यालय प्रमुखको कार्यकक्षको संकेत स्पष्ट देखिन्छ।

मूल ढोका छेवैमा टोकनको व्यवस्था छ भने कर्मचारीले गरेका सबै काम सेवाग्राहीले देख्न सक्छन्। तलैपिच्छे खानेपानीको व्यवस्था छ। प्रतीक्षालयमा पंखा राखिएको छ।

प्रत्येक कमर्चारीको टेबुलमा कम्प्युटर छ। उनीहरूले पेपरलेस सेवा दिइरहेका छन्। लेखापढी व्यवसायीलाई पनि परिचयपत्रको व्यवस्था छ।

कार्यालयको धेरै ठाउँमा सीसीटीभीको निगरानीमा हुनुहुन्छ भनेर लेखिएको छ।

१० बजे कार्यालय प्रमुख देवीप्रसाद भण्डारी आइपुगे। उनले सबै कर्मचारीलाई आफ्नो कार्यकक्षमा बोलाए। सेवा प्रवाह कसरी चुस्तदुरुस्त बनाउन सकिन्छ भनेर करिब ४५ मिनेटजति राय लिए।

सेवाग्राहीको चाप अत्यधिक रहेकाले सीमित कर्मचारीलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको उनको भनाइ छ। उनका अनुसार कार्यालयमा दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म सेवाग्राही आउँछन्।

प्रविधिमा पोख्त भइनसकेका सीमित कर्मचारीबाट मन्त्री, सचिव र महानिर्देशकले सोचजस्तो सेवा दिन नसकेको उनले बताए। सेवाग्राहीको भीडका कारण सेवाप्रवाह व्यवस्थित गर्न नसकिएको उनको भनाइ छ।

‘काम छिटो हुनुपर्‍यो’

कार्यालयमा भएको सुधारप्रति सेवाग्राही पनि उत्साहित देखिन्थे। उनीहरूले मालपोत कार्यालय व्यवस्थापनप्रति खुसी प्रकट गरे।

बैंकबाट ऋण लिन जग्गा रोक्का गर्न आएका आएका दक्षिणकालीका रामप्रसाद पोखरेलले भौतिक संरचनामा सुधार भएजस्तै काम पनि छिटोछरितो हुनुपर्ने बताए। ‘राम्रो भएको छ, पंखा छ, बस्ने ठाउँ छ, खानेपानी छ,’ उनले भने, ‘अब काम पनि छिटो र सहज भयो भने सुनमा सुगन्ध हुन्छ।’ उनले सेवाग्राही आफंैले सेवा लिन सक्ने वातावरण बनाउनुपर्ने बताए।

अर्का एक सेवाग्राहीले कार्यालय व्यवस्थापनअनुसार काम सहज नभएको गुनासो गरे। ‘कार्यालय त यति राम्रो भयो, तर काम गर्ने शैलीचाहिँ उस्तै छ,’ उनले भने, ‘११ बजे आएको, चार बज्न लाग्यो काम सकिएको छैन।’ चार बजेसम्म पनि कार्यालयमा बाक्लै चहलपहल थियो।

प्रविधिमैत्री छैनन् कर्मचारी

प्रधानमन्त्री केपी शर्माले गत फागुन ४ गते मालपोत कार्यालयलाई नमुना घोषणा गरेका हुन्। कार्यालय उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले कार्यालयको भौतिक संरचनाका साथै सेवासमेत चुस्तदुरुस्त गराउन निर्देशन दिएका थिए। तर कर्मचारी प्रविधिमैत्री नभएका कारण कार्यान्वयनमा समस्या देखिएको छ। कर्मचारीलाई एउटा काम गर्न पनि धेरै समय लागेको थियो।

पोसाकमा कर्मचारी

कार्यालयमा आउने कर्मचारी अधिकांश पोसाकमै थिए। कार्यालय बैठकमै एक कर्मचारीले स्मार्ट कार्यालय भएपछि पोसाकमा उत्तिकै ध्यान दिनुपर्ने बताए। कोट राख्न ह्यांगरको व्यवस्था गर्न उनीहरूले कार्यालय प्रमुखलाई अनुरोध गरिरहेका थिए। ‘कार्यालय त स्मार्ट भयो। अब हामी कर्मचारी झारेझुरे भइयो भने त यहाँ म्याचै गर्दैन नि। त्यसैले सबैले कोट लगाउनुपर्छ’, ती कर्मचारीले भने।

खाजा समय आधा घण्टा

अन्य सरकारी कार्यालयमा खाजा समय एक घण्टा तोकिएको हुन्छ। तर मालपोत कलंकीमा दिउँसो डेढ बजेदेखि २ बजेसम्म खाजा समय तोकिएको छ। कार्यालय प्रमुख भण्डारीले सेवाग्राहीको चाप हुने भएकाले खाजा समय आधा घण्टा मात्रै छुट्याइएको बताए।

००

टोकन ३ बजेसम्म मात्रै

अनलाइनमार्फत सेवा थालेको कलंकी मालपोतमा १० देखि ३ बजेसम्म टोकन खुला हुन्छ। तीन बजेपछि टोकन दिँदा काम नसकिने भएकाले समय तोकिएको एक कर्मचारीले बताए।

००

कर्मचारी सुध्रिएनन्  : मन्त्री

हाँसेर सेवा लिन भने अझै कर्मचारी हिचकिचाउँछन्। उनीहरूको व्यवहार रूखो छ। सेवाग्राहीको भीडका कारण मुस्कानसहितको सेवा दिन नसकेको एक कर्मचारीले बताए। उद्घाटनकै दिन भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी आर्यालले कर्मचारी मानसिकता अझै नसुध्रिएको बताएकी थिइन्। उनले नमुना कार्यालय असफल पार्न कार्मचारी नै लागेको आरोप लगाएकी थिइन्। अन्नपूर्ण टिमले कार्यालय प्रवेश नगर्दै बल्खु खोलाको पुलमा सेवाग्राहीसँग मोलमोलाइ गरिरहेका कर्मचारीलाई भेटेको थियो। टोकन प्रणाली लागू भए पनि बिचौलियाले कानेखुसी गरेपछि उनीहरुका काम कर्मचारीले फाटाफट गरेको पनि देखियो।

नमुना कार्यालयमा लेखापढी व्यवसायीलाई कार्यालय परिसरभित्र प्रवेश गर्न नदिने निर्णय एक दिन पनि टिकेन। असार ५ गते बिचौलिया प्रवेशमा रोक लगाइयो।

उद्घाटन भइसके पनि कार्यालयको पूर्ण व्यवस्थापन हुन सकेको छैन। कार्यालय प्रमुख भण्डारीले आफ्नो कार्यकक्षको निर्माण भइनसकेको बताए। ‘मेरो कार्यकक्ष बनिसकेको छैन। अझै धेरै काम बाँकी छ,’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.