मुनामदन गाउँदै ठटाल
काठमाडौं : नेपाली फिल्मकी पहिलो महिला संगीतकार हुन्, शान्ति ठटाल। दार्जिलिङकी रैथाने ठटालका आवाजमा धेरै नेपाली गीत घन्किएका छन्। ८१ वर्षीया ठटाल अहिलेसम्म पनि गीतसंगीतमा सक्रिय छिन्। अघिल्लो महिना कालिकास्थानस्थित ‘आर’शालामा सञ्चालन भएको पलेँटी शृंखलामा उनले तीन दिनसम्म जादुमयी प्रस्तुति दिएकी थिइन्।
आगामी शुक्रबार सञ्चालन हुने पलेँटी सिरिजमै उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित खण्डकाव्य ‘मुनामदन’लाई लयात्मक तरिकाले वाचन गर्दैछिन्। पचासौं वर्षदेखि संगीत साधनामा सक्रिय ठटाल भन्छिन्, ‘उमेरले उकालो चढ्दै छ तर संगीतले भने साथ छोड्न मानेको छैन।’
कालिकास्थानस्थित नेपालय परिसरमा भेटिएकी ठटाल निकै फूर्तिली देखिन्थिन्। वृद्धावस्थामा हिँडिरहेकी उनी काठमाडांैमा त चिसो रै’छ नि भन्दै ऊनीको पछ्यौराले बेरिएकी थिइन्। यो एसीको हावाले बुढ्यौली शरीरलाई असर गर्ने रहेछ। छेउमै चिसो फ्याँकिरहेको एसीतिर औंल्याइन्।
संगीत मेहेनत मात्रै नभएर ईश्वरीय देन पनि हो भन्ने ठटाल आफूले सरस्वतीको वरदान पाएको बताउँछिन्। त्यसैले त जस्तोसुकै अवस्थामा पनि संगीत छाड्न सकिनँ। संगीत कर्मले गर्दा नै बिहे गर्ने फुर्सदसमेत नमिलेको उनले सुनाइन्।
दार्जिलिङका चोक बजार नेपाली संस्कृतिका लागि चर्चित छ। पहिलेदेखि नै यो चोक र नेपाली रहनसहन जोडिएर बसेको छ। उनी हुर्किंदाको समय संगीतको महत्व खासै थिएन। यसको विकास पनि भएको थिएन। नेपालीको बाहुल्य थियो दार्जिलिङको चोक बजारमा। अंग्रेजहरूले भारतमा शासन गरेको समयमा दार्जिलिङको चोक बजारलाई गुन्द्री बजार भन्थे। नेपाली किनामा, गुन्द्रुक, चोयाले बुनेका साम्रगी पाइन्थ्यो। त्यहाँ जाने नेपालीहरू तीनकुने सलहरू ओढ्ने, धाक्रोले कपाल कोर्ने गर्थे। उनलाई अहिलेसम्म पनि धाक्रोको अलिअलि अनुभव छ। यस्तै स्थानीय सुन्दरता र चालचलन हेरेर हुर्किएकी हुन् उनी।
दुःख पाएका नेपाली पनि पुग्थे त्यहाँ। सबैलाई सहयोग गर्ने उद्देश्यले दार्जिलिङे स्थानीय मिलेर ‘गोरखा दुःख निवारण सम्मेलन’ स्थापना गरेका थिए सन् १९३० मा। यो संस्थाले सामाजिक काम गर्न थाल्यो। देउसीभैलो खेल्ने र पैसा जम्मा गर्न थाल्यो। कहिलेकाहीँ नाटक देखाउने गथ्र्यो यो समूहले। नाटकका लागि गीत पनि चाहियो। यसले दार्जिलिङमा साहित्य, संगीत र कलाको विकास हँुदै गयो।
सन् १९३८ सालमा जन्मिएकी ठटालले यही समूहमा आबद्ध भएर सुरुआती संगीत सिकिन्। सानैदेखि मन्दिरहरूमा गीत, भजन गाउँथिन् उनी। लता मंगेशकरलगायतका स्वरमा रहेको सिनेमाका गीतहरू गुन्गुनाउँथिन्।
‘उनीहरूको गीत गाउँदागाउँदै पत्तै नपाई गायिका भएँ म’, उनले विगत सम्झँदै थिइन्। सन्ततेरेजा स्कुलमा उनले स्कुले शिक्षा अध्ययन गरेकी हुन्। लरेटो कलेजमा स्नातकसम्म अध्ययन गरिन्।
सन् १९५७ मा म्युजिक सिक्न कलकत्ता गइन् उनी। हल्काफुल्का गीत गाएर हुँदैन भन्ने लाग्यो उनलाई। शास्त्रीय संगीत सिक्ने रहरले उनलाई रवीन्द्रनाथ टैगोरको ‘एकेडेमी अफ डान्स ड्राम्रा इन म्युजिक कलेज’ कलकत्तामा पुर्यायो।
करिब चार वर्षको शास्त्रीय संगीतको अध्ययनले उनलाई संगीतको गहिराइ कति गहिरो छ भन्ने बुझ्न सहयोग गर्यो। कलकत्तामा अधिकांश साथी बंगाली थिए। बंगाली संगीत विश्वकै उत्कृष्ट संगीतमा पर्छ। उनले कलकत्तामा बंगाली संगीत सुन्ने र संगत गर्ने मौका पाइन्। भोकल, क्लासिकल संगीत, रवीन्द्र संगीतलगायतको सैद्धान्तिक ज्ञान लिइन्।
दार्जिलिङमा हुँदा स्टेज कार्यक्रममा गीत गाउने, नाटकमा संगीत भर्ने, विभिन्न स्थानीय मौलिक र लोकगीत गाउने गरे पनि ठटाललाई प्रोफेसर हुने रहर थियो। म्युजिक कलेजमा भर्ना भएपछि भने उनको बाटो अनि रहर दुवै बदलियो। सिक्किमको एक सरकारी स्कुलमा संगीत सिकाउने काम गरिन् करिब दुई वर्ष। सन् १९७९ मा सिक्किम सरकारले उनलाई सिक्किम कल्चरल विभागमा एसिन्टेन्ट कल्चरल अफिसरको जिम्मा दियो। त्यहाँ उनले सांगीतिक करिअर सँगै सिक्किमका भुटिया, लेप्चा जातिको संस्कृतिका बारेमा अध्ययन अनुसन्धान थालिन्। बीचबीचमा एल्बमहरू निकाल्ने काम पनि जारी रह्यो।
अविवाहित ठटाल भन्छिन्, ‘म जहाँजहाँ गएँ, संगीतले मलाई पछ्याइरह्यो। प्रेमीले जस्तै हरेक पल साथ दियो संगीतले।’
‘परालको आगो’ फिल्म बन्दै थियो नेपालमा। यो १९७७ को कुरा हो। यसका निर्माता प्रताप सुब्बा दार्जिलिङवासी थिए। ‘उडी जाऊँ भने म पन्छी होइन’ बोलको गीतमा अरुणा लामाले स्वर दिएकी थिइन्। यो फिल्ममा वसुन्धरा भुसाल नायिकाको भूमिकामा थिइन्। ठटालका भाइका साथी हुन् सुब्बा। उनले शान्तिलाई गीतमा मेलोडी बनाउन आग्रह गरे। यही गीतमार्फत उनले नेपाली फिल्म क्षेत्रमा पाइला टेकिन्। देवकोटाको ‘मुनामदन’लाई सिक्किममा वाचन गरिन्। यससँगै ‘बाँच्न चाहनेहरू’ फिल्मको गीतमा पनि उनले संगीत गरिन्। सिक्किम सरकारको सांस्कृतिक विभागको प्रमुख भएर दशकौं जिम्मेवारी पूरा गरिन्। उनको सम्हालेर राख, उडी जाऊँ भने, मेरो दुःखी मन, आकाश झुक्योलगायतका दर्जनौं गीत चर्चित छन्।
नेपाली साहित्यको चर्चित कृति हो, ‘मुनामदन।’ यो कृतिमा ठटालले सन् १९७० सालतिर आफैंले धुन भरेकी थिइन्। सन् १९७७ मा गान्तोकमा यसको प्रदर्शन पनि भएको थियो। आउने शुक्रबारदेखि आइतबारसम्म पलेँटी सिरिजमा ठटालले ‘मुनामदन’ गाउनेछिन्। उनलाई साथ दिन विमला सेन्चुरी र मीना निरौला पनि काठमाडौं आइपुगेका छन्। विस्मृत भइसकेको पुरानो धुन सम्झँदै उनले करिब एक महिनाको काठमाडांै बसाइमा परिमार्जन गरेर तयार गरेकी छन्।