पोखरामा तालको मापदण्ड मिचेर घर बनाउनेलाई महानगरको स्पष्टिकरण
पोखरा : पोखराको दोस्रो ठूलो बेगनास ताल किनारमा मापदण्ड विपरित नयाँ घर बनाएका स्थानीयलाई पोखरा महानगरपालिकाले पत्रचार गरी स्पष्टिकरण सोधेको छ। बेगनास ताल किनारमा पछिल्लो समयमा मापदण्ड भित्र नै धमाधम घर बन्ने क्रम बढेपछि महानगरपालिकाले ताल किनारका स्थानीयलाई घर बनाउन तत्काल रोक्न र बनाइसकेकालाई के कति कारणले घर बनाएको हो कागजाजसहित विवरण पेश गर्न भनेको हो।
बेगनासताल र रुपाताल किनारको सिमादेखि १ सय मिटर भित्र घरलगायत कुनै पनि भौतिक संरचना बनाउन नपाइने महानगरपालिकाको मापदण्ड छ। फेवातालको मापदण्ड भने ताल किनारबाट ६५ मिटर हो। अन्य साना तालको मापदण्ड ताल किनारबाट ५० मिटर रहेको छ।
बेगनास ताल किनारको मापदण्डभित्र पछिल्लो समयमा घर बन्ने क्रम तिब्र बढेकोले महानगरपालिकाले घर बनाउन तत्काल रोक्न घर बनाइरहेकालाई पत्रचार गरेको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए।
महानगरपालिकाको मापदण्ड मानेर अघि बढ्न पनि स्थानीयलाई मेयर मानबहादुर जिसीले अनुरोध गरे। बेगनास ताल किनारमा पछिल्लो समयमा तालको मापदण्डभित्र २७ घर निर्माण भएको पोखरा महानगरपालिकाका कानुन अधिकृत राममणि अधिकारीले बताए। बेगनासताल किनारको मापदण्ड भित्र व्यक्तिको लालपुर्जाको जग्गामा मात्र नभई तालको डुवानमा पर्ने स्थानकाले मुअब्जा लिइसकेको जमिन र सार्वजनिक वनमा समेत घर बनेको पाइएको उनले बताए।
बेगनास ताल किनारमा नयाँ घर बन्ने क्रम अझै बढेको छ। बेगनास तालको सय मिटर मापदण्ड भित्र तारे होटल बेगनास ताल रिसोर्टको केही भाग पनि पर्ने बताइएको छ। बेगनास ताल रिसोर्ट तत्कालीन बेगनास गाउँ विकास समिति हुँदै बनेको हो। बेगनास तालको किनारमा मापदण्ड भित्र पुराना करिव ६० घर पर्ने बताइएको छ।
बेगनासताल किनारमा फेवाताल किनार जस्तो अहिलेसम्म जटिल समस्या नभएकाले समयमै बेगनास ताल क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने नागरिक समाज पोखराका अध्यक्ष विष्णुहरि अधिकारीले बताए। नागरिकका लालपुर्जाका जमिनलाई मुअब्जा दिएर प्राकृतिक जैविक विविधताको संरक्षण गर्दै तालको सौन्दर्यकरण गर्नु पर्ने उनले सुझाए।
मापदण्ड घटाउन स्थानीयको माग
बेगनास ताल किनारका स्थानीयले बेगनास तालमा फेवातालमा भन्दा बढी मापदण्ड लगाइएको भन्दै मापदण्ड घटाउन माग गरेका छन्। बेगनास तालमा सय मिटर भित्र घर बनाउन नपाइने महानगरपालिकाको मापदण्ड धेरै भएको स्थानीयको गुनासो छ।
पोखरा महानगरपालिकामा रहेका फेवाताल, बेगनास, रुपा, कमलपोखरी, खाष्टे, गुदे, निउरेनी, दिपाङ, मैदी ९ ताल अन्तर्राष्ट्रिय महत्वको रामसारमा सूचिकृत ताल हुन्। पोखराका सबै जसो ताल, खोला, नदीहरु अतिक्रणका चपेटामा परेका छन्। पोखरा महानगरपालिकाले मापदण्ड कडाईका साथ कार्यन्वयन नगर्दा यहाँका ताल, खोला र नदी अतिक्रमणको चपेटामा परेका हुन्।
पोखरा महानगरपालिकाले यस अघि फेवातालको ६५ मिटर मापदण्डभित्र बनेका संरचना पत्काउन पत्रचार गरेको थियो। ताल छेउछाउका सरोकारवालाले हालेको रिटमा उच्च अदालत पोखराले पहिला तालको ४ किल्ला कायम हुनुपर्ने भने पछि अहिले रोकिएको छ। तालको सीमांकन भइसकेपछि मात्रै ६५ मिटरभित्रका संरचना हटाउन बाटा फुक्ने उच्चले ठहर गरेको छ।
बेगनास तालको समस्या पनि उस्तै रहेको पोखरा महानगरपालका ३१ का वडा अध्यक्ष कमलबहादुर थापाले बताए। बेगनास तालको ४ किल्ला कायम नभएकाले तालको कुन सीमालाई मानेर मापदण्ड तोक्ने हो समस्या रहेको उनले सुनाए। तालको बेगनास तालको मापदण्ड पनि धेरै भएको स्थानीएको गुनासो भएकाले आफूले महानगरपालिकामा बेगनासतालको मापदण्ड घटाउन अनुरोध गरे पनि सुनुवाइ नभइएको उनले सुनाए।