फोटोमा हेर्नुस् मुस्ताङमा ‘उवा’ थन्क्याउने चटारो
जोमसोम : मुस्ताङमा गहुँ जस्तै प्रजातीको अन्नवाली उवा थन्क्याउने चटारो छ। स्याउपछिको मुख्य बाली उवा थन्क्याउन उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङका किसानलाई भ्याई नभ्याई छ।
स्याउको तुलनामा उवा खेती बढी झन्झटिलो भए पनि यहाँका किसानले उवाको खेती गर्न भने छोडेका छैनन्। उवा हेर्दा दुरुस्तै गहुँ जस्तै देखिने हिमाली अन्नवाली हो।
पहाड र तराईमा उत्पादन हुने गहुँ विभिन्न औधोगिक ब्रान्डमा प्रयोग हुन्छ। मुस्ताङमा फलाइने उवा भने स्थानीयले घरेलु मदिरा उत्पादन र भुटेर सातु बनाएर खाने चलन छ। हिउँदको पुस माघमा खेतमा उवा छरेर असारमा काटेर थन्क्याइने जोमसोमका किसान सनबहादुर खातीले जानकारी दिए।
उनका अनुसार उवा खेती गर्दा उवा छरिसकेपछि २–३ पटक खेतमा भएको झार गोडमेल गर्नुपर्ने र त्यसपछि काटेर सोवाङ अर्थात काडे धारिलो औजारमा राखेर उवाको बाला निकाल्ने गरिन्छ। निकालिएका उवाका बालालाई घाममा सुकाएर मेशिनमा हालेर उवाको केस्रा निकालिने उनले बताए।
उवा खेती बर्सेनि सिजनको एक पटक मात्र गरिन्छ। धरै जनशक्ति लाग्ने यो खेती यहाँका कतिपय किसानले पछिल्लो समय अपनाउन छाडिसकेका छन्। आवश्यकता परेको बेला कामदार नपाइने, पाइएका मजदूरको ज्याला पनि महँगो पर्ने घरपझोङ ४ का अर्का किसान अजित थकालीले दुखेसो सुनाए।
स्याउ बोटहरूको फरक खाली स्थानमा पनि लगाउन मिल्ने भएकाले किसानले दोहोरो आम्दानी लिन सक्ने उनको भनाई छ। मुस्ताङको ५ वटै स्थानीय तहमा उवा उत्पादन हुन्छ। तर, यहाँ उत्पादन हुने उवाको एकीन तथ्याङ्क उपलब्ध हुन समय लाग्ने घरपझोङ गाउँपालिकाकी नायव प्राविधिक सहायक बिष्णु भट्टराईले बताइन्।
पछिल्लो समय मुस्ताङमा उवाको दरभाउ प्रतिपाथी ५ सय रुपैयाँ छ। यो खेती लगाउनेदेखि गोडमेल, थन्क्याउने र सहज रुपमा बिक्री गर्न समेत मुस्किल पर्ने गरेको टुकुचेका किसान सपुत थकालीको भनाई छ। यहाँका किसानले उत्पादन गर्ने उवा विक्री गर्नुभन्दा पनि घरायसी प्रयोजनमा प्रयोग गरेको पाइएको हो। मुस्ताङमा स्याउ, खुर्पानी, चिली, लगायत खेतमा लगाइने उवा, जौ, फापर, सिमी र बोडी उत्पादन हुने गर्छ। मुस्ताङकै अर्गानिक ब्रान्ड भएकाले यहाँ उत्पादित कृषिजन्य बस्तुको माग स्वदेश तथा अन्तराष्ट्रिय स्तरमा रुचाइएको छ।
फोटोमा हेर्नुस् मुस्ताङमा उवा थन्क्याउने चटारो। फोटोहरूः सुन्दरकुमार थकाली/अन्नपूर्ण