राहुघाट पाँच वर्षपछि चालु
बेनी : ४० मेघावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको काम पाँच वर्षपछि सूचारु भएको छ। तत्कालीन ठेकेदार कम्पनी आईभीआरसीएल टाट पल्टिएपछि ४ वर्षमा १० प्रतिशत पनि काम नगरी राहुघाटलाई अधकल्चो बनाएर छाडेको थियो। नेपाल विद्युत् प्राधिकरणले २०६६ देखि सुरु गरेको आयोजनाको काम २०७१ देखि रोकिएको थियो।
आईभीआरसीएलसँग ठेक्का तोडेपछि राहुघाटको मुख्य काम सुरुङ निर्माण आइतबारदेखि चालु भएको हो। प्राधिकरणले सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेड बनाएर कम्पनी मोडलमा राहुघाट बनाउन सुरु गरेको हो।
२०७२ मा पुरानो ठेक्का तोडेर कम्पनी मोडलमा अघि बढाइएको थियो। पहिले ३२ मेगावाटमा डिजाइन गरिएकोमा पछि ८ बढाएर ४० मेगावाट पुर्याइएको छ। पहिलेको कार्यतालिका र सम्झौताअनुसार राहुघाट २०७० मा सकिनुपर्ने थियो।
रघुगंगा गाउँपालिका ३ पिप्लेको बगैंचास्थित अडित न. ३ ब्लास्टिङ गरेर सुरुङ निर्माणको काम सुरु गरेको रघुगंगा हाइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक गणेश केसीले बताए। ‘ठेकेदार कम्पनीले सबै तयारी सकेर सुरुङ निर्माण सुरु गरेको छ’, केसीले भने, ‘आयोजना निर्धारित समयमा सम्पन्न गर्न कार्यतालिका बनाएर अघि बढ्दै छौं।’
२०७४ मंसिर ५ मा ६ अर्ब रुपैयाँमा सम्झौता गरेको भारतीय ठेकेदार कम्पनी जेपी एसोसियट्सले २०७५ जेठ १० गते कार्यादेश पाएको थियो। पहुँचमार्ग, आवास, निर्माण सामग्री आपूर्तिलगायत पूर्व तयारी गरेको कम्पनीका सहायक निर्देशक गोपाल पाठकले बताए।
घुमाउने तालदेखि झिँ र दग्नामको सिमानामा निर्माण हुने बाँधसम्म १० किलोमिटर सडकको ट्र्याक पुगिसकेको छ। बाँधतर्फ जाने बाटोमा पर्ने बुक्लस्थित रघुगंगा नदीमा ४० मिटर लामो मोटरेबल पुल निर्माण सुरु भएको छ। निर्माण सामग्रीको आपूर्तिका लागि चमेरेमा क्रसर र पिप्लेमा बेचिङ पलान्ट बनाएको छ।
विद्युत्गृह निर्माण हुने तिल्नेनीको अडित न. ४ बाट पनि सुरुङ खन्ने तयारी भएको ठेकेदार कम्पनीका इन्जिनियर आरके श्रीवास्तवले बताए। ‘भौगोलिक विकटता, मौसमी प्रतिकुलता र पहिरोको समस्याले अधेरीखोलाको २ नम्बर र बाँधको १ नम्बर अडिटको सुरुङ खन्ने काम भने बर्खापछि सुरु गर्छौं’, उनले भने।
आयोजनाको ६ किलोमिटर २ सय मिटर सुरुङ र एक किलोमिटर पेनस्टक निर्माण गर्नुपर्नेछ। पिप्ले, झिँ र दग्नाममा ९ वर्षअघि नै २८२ रोपनी जग्गा अधिग्रहण गरिसकेको आयोजनाले वनसम्बन्धी सबै प्रक्रिया पूरा गरेको छ। राहुघाटको विद्युतगृह रहने तिल्केनीचौर बेनी–जोमसोम सडक छेउमा पर्छ।
इलेक्ट्रिोमेकानिकल ठेक्काका लागि परेका तीनवटा प्रस्तावको प्राविधिक मूल्यांकन गरी स्वीकृतिका लागि ऋण लगानीकर्ता एक्जिम बैंकलाई पठाइएको छ। वित्तीय प्रस्ताव खोलेर मूल्यांकनको क्रममा रहेको उपनिर्देशक पवन बस्नेतले बताए। इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्ट्र्याक्ट (ईपीसी) प्रारुपमा निर्माण हुन लागेको आयोजनाले गत चैत १८ गते प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता गरेको थियो।
भारतीय एक्जिम बैंकको ४४ मिलियन डलर सहुलियतपूर्ण ऋण, नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानी रहने यस आयोजनाको कुल लागत निर्माण अवधिको ब्याजसहित ८ अर्ब ५९ करोड रुपैयाँ अनुमान गरिएको छ।
अर्धजलाशययुक्त (पीआरओआर) प्रविधिको बाँध रहने यस आयोजनाले सन २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। रघुगंगालगायत निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय प्रशारण लाइनमा जोड्न विद्युत् प्राधिकरणले खुर्कोट दाना प्रशारण लाइनका साथै राहुघाटमा सब स्टेसन बनाउन जग्गा अधिग्रहण गरिएको छ। लामो समयदेखि सुस्ताएको आयोजनाको कामले गति लिएपछि स्थानीयलाई उत्साहित बनाएको पिप्लेका विजय शर्माले बताए।