बलात्कार कसुरमा ६ वर्ष कैद
राजविराज : बलात्कारको घटनामा संलग्न भएको कसूर ठहर गर्दै सप्तरी जिल्ला अदालतले आरोपित एक युवकलाई मंगलबार ६ वर्षको कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले सप्तरीको बोदे बर्साइन नगरपालिका–७ मानराजाका १८ वर्षीय घुरनकुमार यादवलाई ६ वर्ष कैद सजाय तोकेको हो ।
फैसलामा पीडित किशोरीलाई ५० हजार क्षतिपूर्ति भराउन पनि अभियुक्तलाई आदेश दिइएको छ । कसूरदारले घरमा कोही नभएका बेला २०७४ चैत ९ गते १६ वर्षीया किशोरीको घरमा प्रवेश गरी बलात्कार गरेको आरोपमा पीडितले २०७४ चैत १० गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिइकी थिइन् । पीडित किशोरीले उजुरी दिएकै दिन आरोपितलाई पक्राउ गरेको थियो ।
जिल्ला अदालतका तत्कालिन न्यायाधीश ध्रुबराज त्रिपाठीको आदेशमा आरोपित ०७५ बैशाख ७ गतेदेखि राजविराज कारागारमा थुनामा छन् ।