सुनवल नगरपालिकामा मृत्यु संस्कारका लागि १५ लाख बजेट
परासी : पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले मृत्यु संस्कारका लागि ५ हजार दिने निर्णय गरेको छ ।
नगरपालिकाको मंगलबार सम्पन्न पाँचौं नगरसभा बैठकको नीति तथा कार्यक्रममा उक्त कुरा समेटिएको छ । त्यसका लागि वार्षिक १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगरप्रमुख भीमबहादुर थापाले बताए ।
३५ दिनभित्र मृत्यु दर्ता गराउने परिवारका सदस्यले मात्र उक्त रकम पाउने छन् । विपन्न परिवारका लागि लक्षित गरेर रकम विनियोजन गरिए पनि नगर क्षेत्रमा मृत्यु हुने सबैका लागि यो नियम लागु हुने नगरप्रमुख भीमबहादुर थापाले बताए ।
यो निर्णयले अति विपन्न वर्गका परिवारलाई प्रत्यक्ष सहयोग पुग्ने नगरपालिकाले विश्वास लिएको बताइएको छ । कसैले रकम लिन नचाहेमा उक्त रकम कोषमै रहने छ ।
विभिन्न जिल्लामा मृत्यु भइसकेपछि पनि सामाजिक सुरक्षावापतको रकम वितरण भएको गुनासो सुनिरहेका बेला यो निर्णयले नगर क्षेत्रमा कसैले ढाँटछल गरी रकम दुरुपयोग गर्न नसक्ने पनि बताइएको छ ।
साथै यस्तो रकम मृत्यु हुने सबै उमेर समूहका परिवारका सदस्यलाई उपलव्ध गराइने छ । मृत्यु दर्ता भएपछि उक्त व्यक्तिको नाम रेकर्डबाट हट्ने र नगरपालिकाको वास्तविक जनसंख्यामा पत्ता लगाउन सहयोग पुग्ने पनि नगरप्रमुख थापाले बताए ।