खाल्डोमा खसेर बेपत्ता भएका सहचालक मृत भेटिए
ताप्लेजुङ : पानीले भरिएको खाल्डोमा खसेर मंगलबारदेखि बेपत्ता ट्याक्टरका सहचालक मृत भेटिएका छन् ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१ को दर्गुनेमा बन्दै गरेको पुलको खाल्डोमा ट्याक्टर खस्दा सहचालक १७ वर्षीय अर्पण मुखिया बेपत्ता भएका थिए ।
तमोर नदीमाथि मोटरेबल पुल निर्माण हुँदै छ । पाथिभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङका मुखियाको शव करिब ६ घण्टापछि ट्याक्टर डुबेकै खाल्डोबाट निकालिएको ताप्लेजुङ प्रहरी प्रमुखसञ्जय सिंह थापाले जानकारी दिए ।
दुईओटा मोटरको प्रयोग गरी खाल्डोमा जमेको पानी बाहिर निकालेर सहचालकको शव र ट्याक्टर दुवै निकालिएको हो । पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको डिएसपी थापाले बताए ।