फुटबल खेलाउन ‘डोजर’ को सहारा
धादिङ : सदरमुकाम धादिङबेसीमा जिल्लास्तरीय एन्फा लिग फुटबल प्रतियोगिता चलिरहेको छ। खेलाडीहरू हिलाम्मे मैदानमा प्रतिस्पर्धा गरिरहेका छन्। मैदानभित्र पहेँलो जर्सी लगाएका रेफ्रीहरू खेल खेलाइरहेका छन्। मैदानको घेरा बाहिर एउटा पहेँलो कलरकै डोजर पनि तैनाथ छ। फुटबल खेलमा डोजरको आवश्यकता किन ? भनेर धेरैलाई जिज्ञासा लाग्न सक्छ। तर सदरमुकाम धादिङबेसीको खुलामञ्चमा फुटबल खेलाउँदै गर्दा डोजरको सहारा लिनु आयोजकको बाध्यता हो।
बर्खामास भएकाले बेलाबेलामा पानी परिरहने तथा पानी पर्नासाथै फुटबल खेलाउनै नसक्ने गरी मैदान हिलो हुने र पानी जम्ने भएपछि हिलो फाल्न र पानीको निकास गराउनको लागि आयोजक धादिङ जिल्ला फुटबल संघले मैदानको छेवैमा लगेर डोजर राखेको हो। जिल्ला फुटबल संघका महासचिव रामहरि थापाले भने, ‘बजेट पर्याप्त छैन, निश्चित दिनभित्रमा प्रतियोगिता सम्पन्न गराई सक्नुपर्छ, पानी पर्दापर्दै हिलाम्मे अवस्थामा पनि खेलाउनुपर्ने बाध्यता भएकाले हिलो हटाउन र पानी कटाउनको लागि डोजर राखिएको हो।’
धादिङ जिल्लाभरमै एउटै पनि गतिलो खेलमैदान छैन। कामचलाउ मैदान खेलाडी सामान्य लड्दा पनि ठूलो चोटपटक लाग्ने अवस्थाका छ। जिल्ला सदरमुकाममा भएको एकमात्रै खेलमैदान धादिङबेसीको खुलामञ्च जुन फुटबल खेलाउनको लागि सामान्य मापदण्ड पनि पुगेको छैन। पानी परे हिलो र घाम लागे धुलोले खेल्नै नसक्ने अवस्थामा रहेको हुन्छ। गजुरी गाउँपालिकाको गलौदीको त्रिशूली किनारमा रहेको फुटबल मैदान पनि त्रिशूली नदीमा बाढी आउँदा हरेक वर्ष डुवानमा पर्छ।
जिल्लामा गतिलो खेलमैदान नहुँदा खेलाडी र खेलप्रेमी निराश छन्। खेलमैदान नभएकै कारण जिल्लामा खेलकुदका गतिविधि नगन्य मात्रामा हुन्छन्। खेलाडीले प्रतिभा देखाउने अवसर नै नपाएको अवस्था छ।
मैदानको अवस्था खराब भएकाले नै सामान्य लड्दा पनि खेलाडीहरू घाइते भएका हुन्छन्। आइतबार जिल्ला लिग खेलिरहेको आदमघाटका गोलकिपर मैदानमा सामान्य लड्न पुग्दा हात भाँचियो। जिल्ला फुटबल संघले जिल्ला लिग आयोजना गरिरहेको ठाउँ धादिङबेसीको खुल्ला मञ्चमा शौचालयको व्यवस्था नहुँदा खेलाडीहरू मैदान छेवैमा छेल पारेर पिसाब फेर्न बाध्य छन्।
मैदानको छेवैमा भिरालो जमिन भएकाले पटकपटक बल बाहिर गएर खेल नै अवरुद्ध हुने अवस्थामा उत्पन्न भएको छ। सदरमुकाममा भएका जुनसुकै फुटबल खेल हेर्न आइपुग्ने गरेका साङकोषका फुटबल प्रेमी विष्णु श्रेष्ठले भने, ‘प्रतियोगिताको अगाडि नाम पद जोडेर मेयर कप, अध्यक्ष कप अनेक थरी कप आयोजना गर्छन्। त्यही मैदानमा आएर सानका साथ पुरस्कार पनि बाँड्छन्। तर तिनै नेताहरू मैदानको अवस्था कस्तो छ कहिल्यै विचार गर्दैनन्।’
व्यवस्थित र सुविधायुक्त मैदानकै अभावमा धादिङबाट व्यावसायिक रूपमा खेल खेल्ने खेलाडीहरू उत्पादन हुन नसकेको धादिङ समाज धादिङका कप्तान गोपी भण्डारी बताउँछन्। ‘अभ्यास गर्ने र खेल्ने गतिलो मैदान नहुँदा खेलाडीको प्रतिभा यसै मरिरहेको छ। खेल्ने ठाउँ भए न खेलाडीले प्रतिभा देखाउने हो। मैदान नै छैन भने खेलाडी कसरी उत्पादन हुन्छ’,उनले भने।
खेलमैदान बनाउन र खेल क्षेत्रको विकासको लागि कसैले पनि चासो नदेखाएको खेलाडीको आरोप छ। मैदान अभाव भएकाले नै ठूला राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्न नसकिएको धादिङ जिल्ला फुटबल संघका महासचिव रामहरि थापाले बताए। उनले भने, ‘फुटबल मैदानको सामान्य मापदण्ड लम्बाइ, चौडाइ नै नपुगेको मैदान छ। अनि कसरी प्रतियोगिता आयोजना गराउने,’ थापा भन्छन्।
बजेट जति बाटो खनेर सक्ने जनप्रतिनिधिलाई खेल क्षेत्रको विकास र पूर्वाधार निर्माणमा पनि ध्यान दिन खेलाडीले आग्रह गरेका छन्। धादिङ समाज धादिङकै खेलाडी विपिन कँडेल भन्छन्, ‘एक हप्ता नटिक्ने बाटो बनाउनको लागि हाम्रो जनप्रतिनिधि र सभासद् ३०÷३५ लाख रुपैयाँ बजेट कार्यकर्तालाई उपलब्ध गराउँछन्। तर उनीहरूको ध्यान खेलमैदान बनाउने र खेल क्षेत्रको निर्माणमा जान सकेको छैन।’