नेपाल–भारत सीमा सडक : मार्ग फेरेर स्तरोन्नति
लखनऊ : भारतले वन्यजन्तु र जंगल क्षेत्र जोगाउन उत्तर प्रदेशसँग जोडिएको नेपाल–भारत सीमा सडकको मार्ग (रुट) परिवर्तन गर्ने भएको छ। जग्गा अधिग्रहण र जंगल फँडानीलगायत विषयमा समस्या आएपछि यो सडक स्तरोन्नतिको काम रोकिएको थियो। रुट परिवर्तन गरेर स्तरोन्नतिको काम सुरु भएको छ।
नेपाल–भारत सीमाअन्तर्गत उत्तर प्रदेशको ५ सय ७० किलोमिटर सडकको रुट फेर्न लागिएको हो। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारत सीमा सडकको रुट परिवर्तन गर्न लागिएको जानकारी दिए।
‘नेपाल–भारत सीमाको पर्यावरण र वन्यजन्तुलाई ध्यानमा राखेर रुट परिवर्तन गर्ने सहमति भएको हो। सीमा सडकको स्तरोन्नतिका लागि निर्देशन दिएको छु’, आदित्यनाथले भने। यसअघि ५५ हजार रुख काट्नुपर्ने भएकामा नयाँ सिमांकनअनुसार १५ सय हाराहारीमा मात्र रुख काटिने उनले बताए।
यूपीको पिलिभित, लखिमपुर खिरी, बहराइच, श्रावस्ती, बलरामपुर, महराजगञ्ज र सिद्घार्थनगरसँग जोडिएको करिब ५ सय ७० किलोमिटर लामो नेपाल–भारत सीमा छ। यहाँबाट २ सय ९९ किमि सीमा टाइगर रिजर्भ, सेञ्चुरी वन्य जीव आरक्षित वन क्षेत्रअन्तर्गत छ।
नेपालको सीमा करिब १ हजार ८ सय ५० किलोमिटरमा भारतका ५ वटा प्रदेशसँग जोडिएको छ। दुधवा क्षेत्र नेपालका दुई वन्यजन्तु आरक्षण क्षेत्र र राष्ट्रिय निकुञ्ज आवतजावत गर्ने वन्यजन्तुका लागि महत्त्वपूर्ण मानिन्छ।
दुधवाबाट शुक्लाफाँट वन्यजन्तु आरक्षण क्षेत्र तथा बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ र हात्ती ओहोरदोहोर गर्छन्। पुरानो रुटबाट सडक विस्तार हुँदा नेपालका वन्यजन्तुलाई समेत प्रभाव पार्ने खतरा थियो।
लोपोन्मुख वन्यजन्तु संरक्षण गरिरहेको नेपाल र भारतका आरक्षण क्षेत्र र राष्ट्रिय निकुञ्ज करिडर प्रभावित हुने भएकाले भारत रुट परिवर्तन गर्ने निष्कर्षमा पुगेको हो। सडक स्तरोन्नतिले नेपाल भारत व्यापार विस्तारमा सघाउ पुग्नेछ। भारतको केन्द्रीय गृह मन्त्रालयले सन् २०११ मा नेपाल–भारत सीमा सडक बनाउन सैद्घान्तिक सहमति दिएको थियो। भारतको केन्द्र सरकारले १६ अर्ब २१ करोड भारतीय रुपैयाँ उल्लेखित रुटमा सडक निर्माणका लागि छुट्टयाएको छ।
पुरानो सीमांकनमा सडकको ९ देखि १५ मिटर चौडा थियो। अब यसको चौडाइको ४ देखि ७ मिटर हुने भएको छ। सीमामा पहिले नै सडक भएकाले पिलिभितमा निर्माणको ८० प्रतिशत हिस्सा कम हुनेछ।
महराजगञ्जको नहर किनारालाई पनि पक्का बनाउने बताइएको छ। सिद्घार्थनगरमा पहिला पनि रूट जंगल क्षेत्रभन्दा सिमांकन गरिएको थियो।
राष्ट्रिय सुरक्षालाई ध्यानमा राखी अत्यन्त अपरिहार्य परिस्थितिमा सेञ्चुरीमा जग्गाको भाउ ५ गुणा र नेसनल पार्कमा १० गुणा मूल्य जम्मा गर्नुपथ्र्याे। यसले परियोजना लागत पनि बढ्ने अवस्था थियो। पुरानो रूट पिलिभित र दुधवा टाइगर रिजर्भ तथा सोहेलवा र सोहगी बिरवा वन्य जीव अभ्यारण्य हुँदै जान्थ्यो। यसका लागि जग्गा अधिग्रहण सहज थिएन। बहराइच र श्रावस्तीमा आरक्षित वन क्षेत्रबाट यसको रूट निर्धारित गरिएको थियो।