न मल, न बीउ : सिन्धुलीमा ३.५ प्रतिशतमात्र रोपाईं

न मल, न बीउ : सिन्धुलीमा ३.५ प्रतिशतमात्र रोपाईं

सिन्धुली : सरकारले १६ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव २०७६ देशभर असार १५ गते आइतबार मनाउने तयारी गरिरहँदा सिन्धुलीमा भने ३ दशमलव ५ प्रतिशतमात्र रोपाईं भएको छ।

असारको मध्य हुँदा धान उत्पादन हुने जिल्लाको १६ हजार ४ सय ८२ हेक्टर क्षेत्रफल मध्ये ५७६ हेक्टर अर्थात ३ दशमलव ५ प्रतिशत क्षेत्रफलमा मात्र रोपाईं सम्पन्न भएको हो।

समयमा पानी नपर्दा जिल्लामा रोपाईं हुन नसकेको कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख राजन ढकालले जानकारी दिए।

गत वर्ष यस सिजनमा झण्डै ४५ प्रतिशत खेतमा धान रोपाईं सम्पन्न भई सकेको थियो। ‘तर, यस वर्ष भने ढिलागरी मनसुन सुरु भएका कारण धानको ब्याड राख्नै ढिला हुँदा धान रोपाईं पनि काम भएको हो,’ ढकालले भने।

जिल्लाको कमलाखोंच, मरिण, तीनपाटन र सदरमुकाममामात्र धान रोपाईं सुरु भएको छ। जिल्लाको सुनकोसीगढतीर क्षेत्रको सुनकोसी, गोलन्जोर र फिक्कल गाउँपालिकास्थित गढतीर क्षेत्रमा किसानले बल्ल धानको ब्याड राख्न थालेका छन्।

यस क्षेत्रमा हरेक वर्ष निकै कममात्रामा वर्षा हुने गरेको छ। ‘मौसमले साथ नदिएका कारण किसानले धानको ब्याड ढिलागरी राख्दा रोपाईं पनि ढिलो हुने निश्चित भएको छ,’ उनले भने।

वर्षा कम हुँदा पानीको मुहान सुकेका छन्। वर्षौंदेखि उपभोग गर्दै आएका सिंचाई कुलाहरूमा पनि पानी सुकेपछि किसानहरूले गढतीर क्षेत्रमा सुनकोसी नदीको पानि लिफ्ट गरेर धानका ब्याड राख्न थालेको भएपनि रोपाईं गर्न आकासकै पानीको भर पर्नु पर्ने बाध्यता छ।

जिल्लाको १६ हजार ४ सय ८२ हेक्टर क्षेत्रफल मध्ये ३० प्रतिशत जमिनमा मात्र सिंचाई कुलोको सुविधा छ। बाँकी ७० प्रतिशत जमिन आकासे पानीका भरमा सिंचाई हुँदै आएको छ। ‘तर, यस वर्ष सिंचाई कुलो लाग्ने जमिनमा समेत पानि नहुँदा रोपाईं हुन नसकेको हो,’ उनले थपे।

जिल्लामा पछिल्लो समय धान उत्पादनमा वृद्धि हुँदै आएपनि यस वर्ष भने मौषम अनुकूल नहुँदा उत्पादन बृद्धिदरमा कमी आउन सक्ने बताइएको छ।

असार १५ हुँदासम्म साढे तीन प्रतिशत मात्र रोपाईं भएकाले सिजनमै धान रोपाईं नसकिने पक्का जस्तै हुँदा धान उत्पादनमा कमी आउन सक्ने वरिष्ठ कृषि विकास अधिकृत देवराज अधिकारी बताउँछन्।

जिल्लामा साउनको पहिलो सातसम्म धान रोप्ने गरिएको छ। गत आर्थीक वर्ष २०७३/७४ मा जिल्लामा ३ प्रतिसतले उत्पादनमा बृद्धि भएको धान आर्थीक वर्ष २०७४/०७५ मा १३ प्रतिसतले बृद्धि आएको थियो। जिल्लामा गत वर्ष ५५ हजार ९ सय ३० मेक्ट्रिक टन धान उत्पादन भएको थियो। सिन्धुलीमा चैते र वर्षे सिजनका जातका धान बाली लगाउने गरिएको छ।

९ सय मेक्ट्रिक टन रसायनिक मल अभाव

जिल्लामा मकै तथा धान बालीका लागि ९ सय मेक्ट्रिक टन मल अभाव छ। धान, मकै लगायतका बालीका लागि जिल्लामा वैज्ञानीक प्रणाली अनुसार तीन हजार ५०० मेक्ट्रिक टन युरिया र डीएपी मल आवश्यक पर्ने भए पनि जिल्लामा दुई हजार ६ सय मेक्ट्रिक टन मात्र मल भित्रिएको कृषि सामग्री लिमिटेड अनुदान मल वितरण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जनर्दन गौतमले बताए।

‘जिल्लाका लागि ३५ सय मेक्ट्रिक टन मल आवश्यक पर्छ तर, हालसम्म २६ सय मेक्ट्रिक टनमात्र मल जिल्लामा वितरण गरिएको छ,’ उनले भने, ‘बाँकी मल किसानहरूले  माग गरे उपलब्ध गराउँछौँ।'

जिल्लामा कृषि सहकारीहरूलाई अनुदानमा मल दिने गरिएको छ। तर, मकैको सिजनमा मलको अभाव भोगेका किसानहरुले धानको सिजनमा पनि मल अभाव व्यहोर्नु पर्ने अवस्था आउन सक्ने बताउँछन्। मकैको सिजनमा ढिलागरी मल जिल्लामा आएकाले समयमा मल हाल्न नपाउँदा मकै उत्पादनमा कमी आएको किसानहरुको गुनासो छ। 

सिन्धुलीको दुधौलीमा धान महोत्सव

यसैबीच यस वर्षको धान दिवस सिन्धुलीको दुधौलीमा मनाउने तयारी गरिएको छ। दुधौली नगरपालिका २ भलुवाहीमा प्रदेश सरकारको सहयोगमा यसै वर्षबाट सुरु गरिएको सहकारीमा आधारित सामूहिक चक्लाबन्दी खेती कार्यक्रम संचालन भएको नमुना कृषि सहकारीले धान दिवसमा धान रोपेर महोत्सव मनाउन लागिएको हो।

‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने मूल नाराका साथ धान दिवस मनाउन थालिएको कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.