जोमसोममा राष्ट्रिय गौरव आयोजनाकाे हालत : सडक स्तर बृद्धि १० महिनादेखि ठप्प
जोमसोम : उत्तरी कोरला जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको जोमसोम–कोरला खण्डमा पर्ने चराङ–छोसेर सडक स्तरबृद्धि १० महिनादेखि ठप्पै छ ।
करिडोरकै अन्य खण्डमा धमाधम काम भइरहँदा यहाँ भने पूरै काम ठप्प भएको हो । करिडोरको जोमसोम–कोरला १ सय १० किमी सडकको ११ मिटर सडक स्तरबृद्धि २०७३ साल असारमा सम्झौता भएको हो ।
२०७४ सालबाट थालिएको सडकको काम अहिले अन्तिम चरणमा पुग्दा चराङ–छोसेर खण्डको काम कन्ट्रक्सनकै कारण ठप्पै भएको हो । जोमसोम–कोरला खण्डमा ७ प्याकेज छन् । जसमध्ये छोसेर–कोरला १४ किमी सडकको काम १० महिना अघि नै करिडोरलाई हस्तान्तरण भइसकेको छ ।
बाँकी ४ खण्डको काम पनि अन्तिम चरणमा पुगेको करिडोरले जनाएको छ । सुरुवातमा तिव्र गतिमा काम अघि बढेको चराङ–छोसेर सडकखण्ड गत असोजदेखि रोकिएको हो । चराङ–छोसेर खण्डको सडक स्तरबृद्धि दूरी २५ किमी छ ।
तामाङ गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभी कन्ट्रक्सनले यहाँ ६० प्रतिशत काम सके पनि अरु काम अघि बढाउनेतर्फ कुनै चासो नदिएको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट बताउँछन् ।