खेतमा धाँजैधाँजा, किसान निरास
काठमाडौं : मध्यअसारसम्म वर्षा नभएपछि तराईका खेतमा धाँजा फाटेका छन्। बीउ राखेको ब्याड चिराचिरा परेको छ। धानको बीउ खडेरीले सुक्न थालेको छ। पर्याप्त सिँचाइको व्यवस्था नहुँदा मुलुकको मुख्य बाली आकाशे पानीको भरमा पुगेको छ।
पानी नपर्दा निरास किसान
(सलमान खान/भैरहवा)
मध्यअसार भइसक्दा पनि रुपन्देहीका किसानले रोपाइँ गर्न पाएका छैनन्। मनसुन सक्रिय नहुँदा ब्याडमा समेत धाँजा फाटेको छ। कतै बीउ छरिएको छैन, बीउ उम्रिएको खेत चिरा-चिरा परेको छ। झमझम वर्षा हुने समयमा चर्काे घाम र तापक्रम ३८÷४० डिग्री छ। सिँचाइ गर्ने सानो टयुबेल पनि सुक्दै गएको छ। खेत बाँझै छ।
‘वर्षा नहुँदा हामीलाई धेरै समस्या परेको छ’, ओमसतिया-४ वसन्तपुरमा खेतमा बीउ उखेल्दै भेटिएका किसान अमिरुल्लाह खानले भने, ‘सिँचाइका लागि भएको एउटा सानो ट्युबेल पनि सुक्दै गएको छ। खेतीकिसानी गरेर परिवारको गुजारा नै चलाउन गाह्रो भो।’
लामो प्रतीक्षापछि पनि मनसुन सक्रिय नहुँदा रुपन्देहीका कृषक दुखित छन्। खेतमा पानी हालेर भए पनि रोपाइँ गर्ने सुरसार गरिरहेका कृषकका लागि भूमिगत पानी पनि सुक्दा समस्या परेको छ।
छिटफुट वर्षा भइरहे पनि आधा घण्टा लामो पानी परेको छैन। रुपन्देहीमा न्यून सिँचाइ सुविधा उपलब्ध छ। मौसमकै भरमा खेतीपाती गर्नुपर्ने बाध्यता हुन्छ। ‘अहिले पानी परेको छैन। बढी खर्च गरी रोपाइँ गरे पनि पछि धानको मूल्य पाइँदैन’, किसान खानले भने।
रोपाइँ गर्नेले पनि जसोतसो खेतमा भूमिगत पानी हालेर रोपाइँ गरिरहेका छन्। यो खर्चिलो हुँदा किसान मारमा छन्।
रासायनिक मल उपलब्ध नहुँदा किसानलाई अर्काे चिन्ता थपिएको छ। ‘हामी किसानलाई प्रकृतिले मात्रै ठगेको छैन, राज्यबाट पनि ठगिँदै आएका छौँ’, रोहिणी गाउँपालिकाका किसान दिलीप यादवले भने, ‘रोपाइँ गर्ने चटारो छ तर मल खरिद गर्न पाएका छैनौँ।’
‘मलमा अनुदान दिने त त्यत्तिकै हरायो। सीमावर्ती भारतीय बजारबाट बढी मूल्यमा मल किन्नुपर्ने बाध्यता हामीलाई छ’, उनले भने।
परम्परागत शैलीकै खेतीपातीले गर्दा यो पेसा निर्वाहमुखी मात्रै बनेको रोहिणी गाउँपालिका-२ का कृषक अगुवा निजामुद्दिन पठान बताउँछन्। प्रदेश ५ सरकारले आगामी वर्षको बजेटमा कृषिमा ४ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरेको छ। प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेर धेरै योजना ल्याए पनि कृषिमै आधारित वर्गको मूलभूत समस्यालाई यसले छुन नसकेको आवाज उठेको छ।
रोपाइँको चटारो आइसक्दासमेत कृषकले मल पाउन सकेका छैनन्। अहिले डीएपी मलको चरम अभाव छ।
सुक्न थाल्यो धानको ब्याड
(रविन भट्टराई /विराटनगर)
मोरङ बूढीगंगा गाउँपालिका-३ मुडेरीका सत्यनारायण राजवंशीले अघिल्लो वर्ष असार १५ मा रोपाइँ आधा सकेका थिए। धान रोप्दै असार १५ मा दही, चिउरा खाएको उनी सम्झन्छन्। उनले यस वर्ष भने रोपाइँ सुरु नै गरेका छैनन्। धानको बीउ खडेरीले सुक्न थालेको छ।
अब पानी पर्यो भने पनि बीउले पुग्दैन। खेत अड्कलेर राखेको बीउ खडेरीले सुकेपछि आधा खेत पनि नभ्याउनेमा उनी चिन्तित छन्। ‘बीउ राख्दा पानी नभएर कठिन भयो’, उनले भने, ‘अलिअलि उम्रिएको बीउ पनि सबै खडेरीले खायो। बीउ राखेको ब्याडै चिराचिरा परेको छ।’ वरपर धेरै किसानको खेत छ। तर, स्थलमार्ग कतैबाट पानी आउँदैन। अकासे पानीको भर पर्नुपर्ने बाध्यता छ।
रंगेलीका यदुप्रसाद यादवको खेतमा धानको बेर्ना रोप्ने बेला भयो। उनले दुई दिनअघि खेतमा ट्र्याक्टर लगाए। पानी परिहाले धान रोप्न सहज हुने आसमा खेत जोतेका उनी आकाश हेर्दै दिन कटाउँछन्। ‘पानी पर्ला कि भनेर खेत जोतेको, पानी त होइन, जोतेको खेतको माटो घामले सुक्यो’, उनले भने। अघिल्लो वर्ष उनले असार १५ मा रोपाइँ सकेका थिए।
मोरङ बूढीगंगा गाउँपालिका-३ मुडेरीमा चिराचिरा परेको खेत। रविन भट्टराई
अघिल्लो वर्ष समयमा पानी परेकाले उत्पादन पनि राम्रै भयो। तर, यसपटक मध्यअसारसम्म पनि रोपाइँको सुरसार नहुँदा आगामी वर्ष अनिकाल लाग्ला कि भन्ने चिन्ता छ। ‘असार १५ सम्ममा धान रोपेको छैन’, उनले भने, ‘छिट्टै रोप्नुपर्ने धानको बीउ लगाएको थिएँ। तर, रोप्ने बेला पानी छैन। अब रोप्दा कम उत्पादन होला भन्ने चिन्ता छ।’
विराटनगर महानगरपालिका-१४ का सुकलाल खातुनले पनि खडेरी लागेका कारण खेती गर्न समस्या भएको बताए। ‘बोरिङका माध्यमबाट थोरै जग्गामा धान रोपाइँ गरेको थिएँ’, उनले भने, ‘लामो समय खडेरी लागेकाले रोपेको धान जोगाउन पनि हम्मेहम्मे भएको छ।’ धानको बीउ खडेरीले खेतमै सुक्न थालेको छ। धान खेतमा धाँजा फाटेको छ। ‘बल्लतल्ल लगाएको धान खेती जोगाउन पनि गाह्रो भयो’, उनले भने, ‘न पानी पर्छ न त सिँचाइको व्यवस्था छ। अब रोपाइँ गरेको धान कसरी जोगाउने ? ’
मोरङका अधिकांश किसान रोपाइँको तयारीमा छन्। तर, मौसमले साथ नदिँदा उनीहरू उत्पादन घट्ने र खेत बाँझै हुनेमा चिन्तित देखिन्छन्। असार १५ सम्म आधा रोपाइँ सकिनुपर्ने हो। तर, १७ प्रतिशत रोपाइँ भएको सरकारी तथ्यांक छ। कृषि विकास निर्देशनालय विराटनगरका सूचना अधिकारी प्रकाशकुमार डाँगीका अनुसार यस वर्ष मनसुन ढिला सक्रिय भएकाले यसको प्रत्यक्ष असर धान रोपाइँमा परेको हो। ‘अघिल्लो वर्ष मोरङसहितका जिल्लामा यतिको समयमा धेरै रोपाइँ भएको थियो’, उनले भने, ‘यो वर्ष पानी नपर्दा कम रोपाइँ भएको छ।’
पूर्वीनेपालमा सबैभन्दा बढी धान उत्पादन झापा जिल्लामा हुन्छ। त्यसपछि दोस्रोमा मोरङ पर्छ। मोरङमा ९२ हजार ८ सय ८५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। वार्षिक रूपमा ४ लाख २८ हजार ९ सय ९४ मेट्रिक टन धान उत्पादन हुन्छ।
प्रदेश १ मा १७ प्रतिशत रोपाइँ
प्रदेश १ का जिल्लामा यो वर्ष असार १४ सम्ममा १७.४१ प्रतिशत मात्र धान रोपाइँ भएको छ। सबैभन्दा बढी भोजपुरमा ५५ प्रतिशत र कम ताप्लेजुङ र धनकुटामा ३÷३ प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ। प्रदेश १ मा ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको निर्देशनालयका सूचना अधिकारी डाँगीको भनाइ छ। ५९ हजार ३ सय ५२.६ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको हो।
प्रदेश १ का जिल्लामा रोपाइँ (प्रतिशतमा)
ताप्लेजुङ ३
पाँचथर ८
इलाम २१
झापा २२
तेह्रथुम ७
भोजपुर ५५
धनकुटा ३
संखुवासभा १०
सोलुखुम्बु २२
खोटाङ ७
ओखलढुंगा ५
मोरङ १७
सुनसरी १३
उदयपुर ७
स्रोत : कृषि विकास निर्देशनालय विराटनगर
खडेरीले रोपाइँ प्रभावित
सीताराम गुरागाईं/ताप्लेजुङ
फुङलिङ नगरपालिका-२ का कृष्ण लिम्बूले यस वर्ष धुले ब्याड राखे। त्यो पनि खडेरीले सुक्न थालेको छ। ‘पहिलो पटक पानीबिनै धुले बिउ राख्न बाध्य भएँ’, ६४ वर्षीय उनले भने, ‘यस्तो खडेरी अगाडि लागेको थिएन।’
आठराई त्रिवेणी गाउँपालिका-४ का सुकबहादुर तामाङको पनि पीडा उस्तै छ। पानी अभावमा रोप्ने बेला भएको धानको बीउ बिग्रन थालेको तामाङ बताउँछन्। ‘बाँझो खेतमा धान रोप्न बितिसक्यो, ढिला हुँदा बीउ हुर्कने र नसर्ने समस्या हुन्छ’ तामाङले भने।
ताप्लेजुङका किसानले लगाएको मकै र धानको बीउ खडेरीले मर्न लागेका छन्। ‘मकै सुकेर रातै भयो’, पाथीभरा याङवरक-५ का बिर्ख साम्सोहाङले भने। खडेरीले गाउँमा खानेपानीसमेत अभाव हुन थालेको छ।
फुङलिङ नगरपालिका नगरपालिकाको बोझेमा धान रोपिँदै । तस्बिर : सीताराम गुरागाईं
मध्यअसारसम्म १३ सय मिटरभन्दा माथिको भूभागमा धान रोपाइँ सकिनुपर्ने हो। तर, पानी आभावले आधा मात्रै भएको छ। त्यो भन्दा तल्लो क्षेत्रमा साउन अन्तिमसम्मै रोपाइँ हुन्छ।फुङलिङ नगरपालिकामा करिब १५ प्रतिशत मात्रै रोपाइँ सकिएको कृषि शाखाका प्राविधिक दीपक भण्डारीले जानकारी दिए।
मिक्वाखोला गाउँपालिकामा ३० प्रतिशत खेतमा कृषकले धान रोपेको कृषि शाखाका प्रमुख दीपक पोखरेलले जानकारी दिए। ताप्लेजुङमा जेठ तेस्रो सातादेखि भदौ पहिलो सातासम्म धान रोपाइँ हुन्छ।
जिल्लामा धान खेती हुने क्षेत्रफल पनि बर्सेनि घट्दै गइरहेको छ। चार वर्ष अघिसम्म १० हजार ९ सय ९० हेक्टरमा हुने गरेको धान गत वर्ष ८ हजार ७ सय ३७ हेक्टरमा झरेको थियो।
कृषकले धान छाडेर अलैंची, अम्लिसो, किवी, लामपाते, पाउलोनियाँजस्ता बाली र रूख रोप्ने क्रम बढेको छ। लागत कम लाग्ने तथा बढी आम्दानी हुने भएकाले नगदेबाली र रूखमा आकर्षण बढेको फुङलिङ नगरपालिका-८ का चेतराज घिमिरेले बताए।
किसानको कन्तबिजोग
शम्भु यादव/सिरहा
वर्षा नहुँदा किसान धान खेत पस्न पाएका छैनन्। सिरहा लहान नगरपालिका—१४ बस्तीपुरका शुक्रमान विश्वकर्माले तीन बिघा जग्गा धान खेतीका लागि ठेक्कामा लिएका छन्। बीउ तयार भए पनि पानी नपर्दा रोपाइँ गर्न पाएका छैनन्। उमारेको बीउलाई मोटरबाट पानी हालेर बचाइरहेका छन्।
प्रतिकठ्ठा ४० किलो धान तिर्ने सर्तमा खेत ठेक्का लिएका उनलाई उब्जनी नभए साहुलाई कसरी धान तिर्ने चिन्ताले सताएको छ। एक साताअघि परेको पानीले उनले ४ कठ्ठा खेतमा रोपाइँ गरे।
उनका छिमेकी रामप्रसाद यादवले पनि २ बिघा धान खेती गर्न बीउ उमारेका छन्। तर, उनले पनि रोपाइँ गर्न सकेको छैन। खेतमा मोटरबाट सिँचाइ सुविधा छैन।
सफिद मियाँको पनि अवस्था उस्तै छ। मियाँले १० कठ्ठा खेत मोटरबाट पानी तानेर रोपाइँ गरे पनि आकाशे पानी कुर्नुपर्ने भूभाग बाँझै छ।
वर्षा नहुँदा खेत तयार र बीउ उमार्ने लगानी पनि खेर जाने देखिएको शुक्रमानले सुनाए।
धान खेतीमा आम्दानीभन्दा लगानी बढी लाग्ने उनले बताए। ‘खेती गर्न मजदुर लगाउनै पर्यो, ट्र्याक्टरले खेत तयार गराउनै पर्यो,’ रामप्रसादले भने, ‘मल खाद्य पनि समयमा पाइँदैन। हल गोरुले खेती गर्न सकिदैँन।’ सरकारले न बीउ, मल न त सिँचाइमा किसानलाई सहज बनाउन सकेको उनले गुनासो पोखे।
‘बीउ त जसोतसो उमारियो तर रोप्ने कसरी ? ’ सफिदले भने, ‘१० कठ्ठामा रोपेको धान बचाउन मोटरले सिँचाइ गर्नुपरेको छ। विद्युत्को बिल तिर्दै त्यो खेतीको उब्जनीले पुग्दैन।’
सर्लाहीमा धानको ब्याड तयार छैन
सुनील ठाकुर /सर्लाही
समयमा धानको ब्याड तयार हुन नसक्दा सर्लाहीको किसानका लागि यस वर्षको धान दिवस खल्लो हुने भएको छ। समयमै वर्षा नहुँदा ब्याड तयार हुन नसकेको हो।
बीउ छर्ने समयमा पानी नपर्दा किसानले ढिला गरी बीउ छरेका थिए। अहिले आएर पानी पर्न थालेको छ। खेतमा ब्याड तयार छैन। ब्याड तयार नहुँदा पानीको केही अर्थ छैन।
विगतमा असार १५ सम्म ५० प्रतिशतसम्म रोपाइँ सकिन्थ्यो।
‘गत वर्ष असार १५ गतेसम्म आधी रोपाइँ गरिसक्थ्यौं। समयमा बीउ छर्न पाएको भए अहिले धमाधम रोपाइँ हुन्थ्यो। पानीको अभावमा ढिला गरी बीउ छर्यौं’, रायले भने, ‘अहिले ब्याड तयार छैन। ब्याड तयार भए रोपाइँ सुरु हुन्थ्यो।’
रोपाइँका लागि ४५ दिनमा तयार भएको ब्याड उपयुक्त हुन्छ। सगरदिनाका किसान रामसोगारथ ठाकुरले भने, ‘ब्याड अहिले सानै छ। अहिले रोप्यौं भने गल्ने खतरा हुन्छ। सानो ब्याड तयारी भएको ब्याडजस्तो राम्ररी सपिँ्रदैन।’
गाउँघरमा अहिले मजदुरको अभाव छ। सबै जनाको ब्याड एकैचोटि तयार भएपछि खेतालाको पनि अभाव हुने मलंगवाका विवेक यादवले सुनाए।
नहर मर्मत नहुँदा धान रोपाइँ प्रभावित
फनि महत/रौतहट
रौतहटका किसानले रोपाइँको सुरसार गर्न सकेका छैनन्। बीउ राख्ने बेला नहरमा पानी थिएन। जसोतसो बीउ तयार पारेका किसान आकाशे पानीको पर्खाइमा छन्। बागमती सिँचाइ आयोजनाले रौतहटतर्फको पश्चिमी नहर मर्मत गरिरहेकाले पानी पठाएको छैन। आयोजनाले पश्चिम मूलनहरसहित रौतहटका जीर्ण शाखा नहर मर्मत गरिँदै छ।
रौतहटका खेतमा धानको बीउ। तस्विर : फणि महत
पानी नहुँदा किसानले धानको ब्याड समयमै राख्न नपाएकाले रोपाइँ ढिलो हुने गुजरा नगरपालिका कृषि शाखा प्रमुख उमेश चौधरीले बताए। रौतहटमा करिब ४१ हजार हेक्टर जमिनमा धानखेती हुने गरेको छ। बागमती सिँचाइ आयोजनाको नहरबाट करिब १८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउँदै आएको थियो।
धान उत्पादन बढाउन रौतहटका धेरै स्थानीय तहले उन्नत जातको बीउ वितरण गरेको थियो।