परराष्ट्रमन्त्री ज्ञवाली आज बेइजिङ जाँदै
काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली उच्चस्तरीय भ्रमणको पहलका लागि आइतबार बेइजिङ जाने भएका छन् । ६ दिने भ्रमणका लागि उनी आइतबार चीनतर्फ प्रस्थान गर्न लागेका हुन् ।
चीनको डालियनामा हुने १३ औं वल्र्ड इकोनोमी फोरमको वार्षिक बैठकमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । वार्षिक बैठकमा सहभागी भएपछि उनी बेइजिङ पुग्ने र त्यहाँ उच्चस्तरको राजनीतिक छलफल गर्ने परराष्ट्र अधिकारीले जानकारी दिए ।
चीनबाट नेपालतर्फ उच्चस्तरको भ्रमणको पहल गर्ने अधिकारीले बताए । बेइजिङमा उनले चिनियाँ समकक्षीसहित अन्य राजनीतिज्ञलाई पनि भेट गर्ने दूतावास स्रोतले जानकारी दिएको छ । उनले चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणलाई महŒवका साथ राख्ने तयारी गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनले द्विपक्षीय सहकार्य र सम्बन्धको विषयमा पनि वार्ता गर्ने परराष्ट्र अधिकारीले बताएका छन् ।
उनले नेपाल–चीनबीच बेल्ट एन्ड रोड इनिसियटिभअन्तर्गतको परियोजना, रेलको फिजिविलिटी अध्ययनलगायत विषयमा छलफल गर्नेछन् । तातोपानी नाका खुले पनि राम्रोसँग सञ्चालन हुन नसकेको विषय पनि त्यहाँ उठ्नेछ । यसअघि भएका सम्झौताको प्रगतिमा पनि छलफल हुने अधिकारीले बताए ।
चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालसमेत सहभागी हुने छलफलमा उच्चस्तरीय भ्रमणको पहल र समीक्षाको विषय समेटिने बताइएको छ । उनले विश्वव्यापीकरणको नयाँ अध्यायमा प्रतिस्थापनको नेतृत्व फोर जिरोमा सम्बोधन गर्नेछन् । त्यहाँ हुने अनौपचारिक भेला, जी २० को आगामी एजेन्डालगायत विषय छलफलमा पनि उनी सहभागी हुनेछन् । शुक्रबार स्वदेश फर्कनुअघि उनले शक्तिको नयाँ सन्तुलन, जलवायु परिवर्तन र चुनौती विषयमा दुई सेसनमा सम्बोधन गर्नेछन् ।