५ करोड बिरुवा रोपिने

५ करोड बिरुवा रोपिने

काठमाडौं  : फलफूललगायत ५ करोड बिरुवा रोप्ने लक्ष्यसहित सरकारले वृक्षरोपण वर्ष आरम्भ गरेको छ । मुलुकलाई फलफूलमा आत्मनिर्भर अनि निर्यातयोग्य बनाउने योजना रहेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीले शनिबार कोटेश्वर क्षेत्रमा नासपातीको बिरुवा रोपेर वृक्षरोपण वर्ष आरम्भ गरे । अब हरेक वर्ष असार १४ लाई राष्ट्रिय वृक्षरोपण दिवसका रूपमा मनाइने भएको छ । कोटेश्वर–कलंकी सडकका दायाँ–बायाँ क्षेत्रमा फूल, नासपाती, तेजपत्ता, कल्की, राजवृक्ष, कपुर, पावले, गिन्कोलगायत ३ हजार ३ सय बिरुवा रोपिएको मन्त्रालयका प्रवक्ता डा. सिन्धुप्रसाद ढुंगानाले बताए ।

सरकारले गत वर्ष जुन ५ मा ‘एक नागरिक एक फलफूल बिरुवा रोपण अभियान’ सुरु गरेको थियो । केही समयअघि मात्र सिंहदरबारभित्र फलफूलका बिरुवा रोपिएको थियो । ‘अभियान सफल बनाउन सरकारी तवरबाट मात्र सम्भव छैन’, प्रवक्ता ढुंगानाले भने, ‘जनताको साथ आवश्यक छ ।’

उनका अनुसार आवश्यक बिरुवा निजी नर्सरी, कृषि बागवानी कार्यालय र वन कार्यालयमार्फत व्यवस्था गरिनेछ । बिरुवा रोपेर मात्र नहुने भएकाले यसको संरक्षण सबै निकाय मिलेर गर्नुपर्ने उनले बताए । ‘कोटेश्वर–कलंकी क्षेत्रमा रोपिएका बिरुवा संरक्षण गर्न स्थानीय तह, प्रहरी, संघसंस्थाका प्रतिनिधिसँग कुरा गरेका छौं’, उनले भने, ‘सबैको सहयोग भए संरक्षणमा समस्या हुँदैन ।’

सेना, प्रहरी, सशत्र प्रहरी, सरकारी निकाय, प्रदेश तथा स्थानीय तहसहित विभिन्न समिति, संस्थान, विश्वविद्यालय, विद्यालय, वन उपभोक्ता समूह, गैरसरकारी संस्थाले वृक्षरोपण अभियान सुरु गरेका छन् । लुम्बिनी क्षेत्रलगायत धार्मिक स्थल, सडक किनारा, नदी उकास क्षेत्र, हैसियत बिग्रिएका वन क्षेत्रमा पनि फलफूल तथा औषधिजन्य (हर्बल) बिरुवा रोप्न मन्त्रालयले आग्रह गरेको छ ।

वृक्षरोपण अभियान हरियाली प्रवद्र्धनका लागि सकारात्मक रहेको मन्त्रालयका पूर्वसचिव डा. उदयराज शर्माले बताए । ‘बिरुवा संरक्षणका लागि सरकारी तवरबाट सम्भव छैन’, उनले भने, ‘बिरुवा रोपणदेखि संरक्षणका लागि छुट्टै निकाय आवश्यक छ । वृक्षरोपण प्राधिकरण हुनु आवश्यक छ ।’

प्रधानमन्त्रीको सुझाब-'गमलामा खुर्सानी र टमाटर रोप्नुहोस्, अचार खान पुग्छ'

प्रधानमन्त्री ओलीले पर्याप्त स्थान नभएको खण्डमा गमलामा भए पनि फलफूल र बिरुवा रोप्न आग्रह गरेका छन् । गमलामा भए पनि केही रोप्दा त्यसले स्वास्थ्य र वातावरण दुवैलाई फाइदा गर्ने उनले बताए । ‘केही नभए खुर्सानी लगाउनुस् । अचार बनाउन पुग्छ । बजारमा किन्न जानुपर्दैन’, उनले भने, ‘दुइटा गमलामा खुर्सानी, दुइटामा टमाटर लगाउनुस् । अलिकति नुन थपेपछि अचार बन्छ ।’

उनले बजारभन्दा कौसीतिर जानु राम्रो हुने बताए । ‘झोला बोकेर हिँड्नुभन्दा टपक्क टिपेर ल्याएको खान उचित हुन्छ’, उनले भने । उनका अनुसार हरित सहर, हरित सडक अभियानमा सरकार लागेको छ । चौडा गरिसकेका सडकमा मात्रै बिरुवा रोपिने उनले बताए । ‘फेरि खन्ने–भत्काउने सडकमा बिरुवा लगाउँदैनौं’, उनले भने । बिरुवा सुरक्षाको जिम्मा लिन र प्रेमपूर्वक सन्तानझैं हुर्काउन उनले सबैलाई आग्रह गरे ।

कोटेश्वरको कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा, वनमन्त्री शक्ति बस्नेत, शताब्दीपुरुष सत्यमोहन जोशीले पनि बिरुवा रोपेका थिए । सानेपा खण्डमा नेकपा नेता वामदेव गौतमको अगुवाइमा वृक्षरोपण गरिएको थियो । ललितपुरको चक्रपथखण्डमा शनिबार मन्त्रालयसँगको समन्वयमा ३ हजार बिरुवा रोपिएको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताए । उनका अनुसार महानगरको नीति तथा कार्यक्रममा हरित सहर अभियान समेटिएको छ । प्रत्येक वडाले हरियालीका लागि बजेट छुट्याउनुपर्ने उनले बताए ।

बिरुवा संरक्षणका लागि बनाइएका बार भने पल्टिन थालिसकेका छन् । यस्ता बार कोटेश्वर खण्डमा गहिरासम्म गाडिएको छैन । ‘केही बार लड्ने अवस्थामा पुगिसकेका छन्’, भक्तपुरबाट आएका महेश क्षेत्रीले भने, ‘पैसाको नास मात्र भयो ।’ काठका बार विभिन्न काष्ठ उद्योगले बनाएको देखिन्छ । विन्ध्यवासिनी सः मिल, कामना सः मिल, रिम्स काष्ठ उद्योग, कौशल काष्ठ उद्योग, माता मनकामना काष्ठ उद्योग, जाल्पादेवी फर्निचर उद्योगलगायतले बनाएका बार भरपर्दो नदेखिएको सहभागीले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.