रुँदा हाँस्ने हाइना

रुँदा हाँस्ने हाइना

दाङ : नेपालमा पाइने जीवजन्तुहरू विभिन्न प्रकृतिका छन्। धेरै जीवजन्तुमध्ये एउटा लोपोन्मुख जनावर हाइनाको बारेमा जानकारी गराउँदै छौं। दाङसहित नेपालको तराई क्षेत्रमा बासस्थान बनाएको हाइना लोपोन्मुख अवस्थामा छ। दाङ जिल्लाको देउखुरी क्षेत्रमा हाइना बढी बसोबास गर्छ।

दाङ देउखुरीलाई ‘भ्याली अफ हाइना’ भन्ने गरिएको छ। यससम्बन्धी अनुसन्धान र खोज गर्नेहरूले दाङ भ्यालीलाई ‘भ्याली अफ हाइना’को उपाधि दिएका हुन्।

संसारमा पाइने चार प्रजातिका हाइनामध्ये दाङमा ‘स्ट्राइप्ड हाइना’ पाइन्छ। यसको वैज्ञानिक नाम ‘हाइना हाइना’ हो। यो प्रजातिको हाइना आहारका निम्ति रातमा एक्लै घुमफिर गर्छ। घाम झुल्किनुअघि आफैंले बनाएको खोर, ओडार वा प्वालमा पसिसक्छ। यसको एउटा अचम्मको विशेषता छ। भाले हाइनाले मानिसले जस्तै घरको बन्दोबस्ती गर्छन्। एउटैसँग जीवनभर रहन्छ। भाले हाइना र पोथी हाइना मिलेर गुँड बनाउने, बच्चा हुर्काउने, आहार खोज्ने काम गर्छन्।

झलक्क हेर्दा कुकुरजस्तो देखिने हाइनाको टाउको अग्लो र पुच्छरतिर क्रमश :होचो हुन्छ। खप्पर, दाँतलगायत संरचना कुकुरभन्दा पनि बिरालो परिवारको जनावरसँग मिल्छ। तर, यसलाई कुकुर र बिरालोका परिवारभन्दा बेग्लै ‘हाइनिडी’ परिवारमा राखिएको दाङका संरक्षण अभियन्ता चिरञ्जीवी खनाल बताउँछन्। यसका अगाडिका खुट्टा पछाडिका तुलनामा अग्ला र बलिया हुन्छन्।

हाइना कराउँदा खित्का छोडेर हाँसेजस्तो सुनिन्छ। हाइना कराएको सुन्दा सुन्नेलाई पनि रमाइलो हुन्छ। अचम्मित बनाउने गर्छ। ऊ रुँदा हाँसेर रुन्छ। हाइना खाडी मुलुक, मध्य एसिया, भारतीय उपमहाद्वीपदेखि उत्तर अफ्रिकासम्म पनि पाइन्छ। यसको संख्या विश्वमा आठ हजारदेखि १० हजारसम्म रहेको अनुमान छ। नेपालमा भने दाङ, बर्दिया, चितवन र पर्सामा हाइना पाइन्छ। यी स्थानबाहेक बारा, कपिलवस्तु, कैलाली, कञ्चनपुर र उदयपुरमा पनि पाइएको इतिहास छ। घाम झुल्किनुअघि नै ओडार वा प्वालमा बस्ने हाइना भालेले गुँड बनाउन र बच्चा हुर्काउन पोथीलाई सघाउने गर्छ।

यसको उचाइ ८० सेन्टिमिटर हुन्छ भने लम्बाइ एक सय ६० सेमीसम्म हुन्छ। ‘स्ट्राइप्ड हाइना’को तौल बढीमा ५५ किलोसम्म हुन्छ। यसको टाउकोदेखि पुच्छरसम्म सुँगुरको जस्तो पातलो जगर हुन्छ, जुन उत्तेजित हुँदा ठाडो हुन्छ र शान्त हुँदा सामान्य रहन्छ। मुख र घाँटीको भाग कालो रङको र शरीरमा सेतो तथा खैरो पृष्ठभूमिमा काला धर्साहरू पिठ्यूँबाट पेटतर्फ झरेको हुन्छ। हाइनाको पुच्छर अन्य प्रजातिको भन्दा लामो हुन्छ।

हाइना सबैभन्दा बढी खोला किनार, विभिन्न प्रजातिका रूख भएको मिश्रित जंगल, खयर तथा सालको जंगल र घाँसे चौरमा बढी बस्छ।

हाइना लोपोन्मुख प्रजातिको जनावर भएकाले यसको संरक्षण अहिलेको आवश्यकता हो। यसलाई संरक्षण गर्न सकेमा हाइनाको संख्या पनि बढ्ने देखिन्छ। संरक्षित वन्यजन्तुको सूचीमा हाइनालाई राखिए पनि मानवसँगको द्वन्द्व, दुर्घटना आदिको चपेटामा यसको संख्या घटिरहेको छ। स्थान र परिवेशअनुसार यो वन्यजन्तुलाई हुँडारका साथै लक्करे बाघ, भेडे बाघ, हड्डी बाघ, हाउसे बाघ पनि भनिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.