माधवीले सुनाइन् आमाको कथा
कथाकार आन्विका गिरीको बालकथासंग्रह ‘आमाले सक्नुहुन्छ’ बजारमा आएको छ। सांग्रिला बुक्सले प्रकाशन गरेको उक्त पुस्तकमा बालबालिकाका जीवनमा दैनिक घटिरहने घटना र उनीहरूको जिज्ञासु स्वभावलाई मिहिन ढंगले केलाइएको छ।
यस पुस्तकमा समेटिएका कथाका घटना बुझाउन चित्र प्रयोग गरिएको छ। ती चित्र कुलदीप जंगबहादुर गुरुङले बनाएका हुन्। त्यसैगरी आवरण संयोजन टाइम्स क्रिएसनले गरेको छ। यसको मुद्रण स्थापित अफसेट प्रेसले गरेको हो।
प्रस्तुत कथासंग्रहमा गिरीले एउटी बालिका माधवीलाई मुख्य पात्र बनाएका छन्। यस कथासंग्रहमा समावेश सम्पूर्ण कथा उसैको माध्यमबाट प्रस्तुत गरिएको छ। माधवीले सुनाएका सबै कथामा सामाजिक समस्या समाधान गर्न महिलाको क्षमता र परिवारमा उनीहरूको योगदान कस्तो हुन्छ ? भन्ने विषय प्रस्तुत गरिएको छ।
संग्रहमा यिनै सेरोफेरोमा घुमेका विभिन्न शीर्षकका सातवटा कथा समेटिएका छन्। आमाले सक्नुहुन्छ, आमाको बचत, काम जसले गरे नि भो !, आमाले हिसाब जान्नुभयो, आमाले बराबरी गर्नुभो, आमाले भन्नुभयो– लुक्नु पर्दैन र आमाको दोकान खुल्यो यसमा रहेका कथा हुन्।
पुस्तक बालमनोविज्ञानमा आधारित छ। बालबालिकाका मनमा उत्पन्न हुने ससाना खुल्दुली र उनीहरूको सोच स्पष्टसँग आएको छ। यस पुस्तकले बालबालिकालाई जीवनमा केही गर्ने, परिवारमा आफ्नो भूमिका के हुनेलगायतका विषयमा प्रेरणा दिन्छ। साथै यसले अभिभावकलाई पनि मार्गनिर्देशन गरेको छ।
कथासंग्रहमा गिरीले कक्षा ४ मा पढ्ने माधवीलाई मुख्य पात्र बनाएकी छन्। पुस्तकमा बालबालिकाले बुझ्ने सरल र स्पष्ट भाषा प्रयोग गरिएको छ। यसले बालबालिका वा पाठकलाई रमाइलो तरिकाले आफूतिर तानिरहन्छ। यस्तो आकर्षक शैलीबाट उनले गाउँघरको परिवारमा हुने विविध गतिविधि, पुराना सोचका कारण छोराछोरीबीच गरिने विभेदलाई प्रस्ट्याएकी छन्।
यस्ता घटना वा गतिविधिले बालबालिकालाई नराम्रो काम गर्नु हुँदैन भन्ने सन्देश दिन खोज्नु यसको उद्देश्य छ। पहिलेदेखि चल्दै आएको कुरा नमान्दा वा अरूको भन्दा फरक काम गर्दा कुरा काट्ने चलन हाम्रो समाजमा प्रशस्त देखिन्छ। त्यसैले यस पुस्तकले अरूले के भन्लान् भनेर पछि हट्नु हुँदैन भन्ने सिकाइएको छ। केटाकेटीलाई सानैदेखि घरव्यवहार सिकाउनुपर्छ, घरको हरेक क्रियाकलापमा सहभागी गराउनुपर्छ, अरूको कमजोरी केलाउनुभन्दा राम्रा कुरालाई अपनाउनुपर्छ भन्ने ज्ञानगुनका कुरा पनि सिकाइएको छ। साथै महिला कुनै पनि काममा कमजोर हुनु हुँदैन, सक्ने काम गर्नुपर्छ, लाज मान्नु हुँदैन भन्ने सन्देश पनि पुस्तकमार्फत दिन खोजिएको छ।
यस संग्रहको पहिलो कथा ‘आमा सक्नुहुन्छ’मा पनि माधवीकी आमा साइकल सिक्न खोज्छिन्। अरूले देखे के भन्लान् भन्ने सोचेर उनले लाज मान्छिन्। सबै जना सुतेका बेला उनी राति आँगनमा साइकल सिक्छन्। सिकिसकेपछि उनलाई सधैं गर्ने काम तरकारी बेच्न जान सजिलो हुन्छ। यो कथाले हामीले कुनै पनि काम गर्न लाज मान्नु हुँदैन भन्ने सन्देश दिएको छ।
प्रस्तुति : इन्द्र चौधरी