पर्यटक आकर्षित गर्न पोखरामा रोपाईं महोत्सव
पोखरा : नेपालको मुख्य बाली धान लगाउने महिना हो असार यही असार १५ गते मानो रोपेर मुरी उब्जाउने यस महिनाको विषेश दिन मानी असार १५ मा दही चिउरा खाने परम्परा चल्दै आएको छ । पछिल्लो समय यस दिनलाई सरकारले धान दिवस भन्दै विभिन्न कार्यक्रम गरी मनाउन थालेको छ। यस दिनमा कतियप किसानहरु खेतमा व्यस्त भइरहेका छन् भने थुप्रै ठाउँका किसानहरु पानी नपरेर चिन्तित भइरहेका छन्।
कास्कीमा भने प्रसस्त पानी परेकोले किसान धान रोप्ने चटारोमा छन् । फेवातालको सिरान फेवाफाँटमा यति बेला धान रोपाई लगभग सकिसकेको छ । पोखराको लेखनाथ, हेमजा, बिरौटा फाँट, कुँडहर फाँटका किसान धान रोप्ने चटारोमा छन् । ९ तालको पर्यटकीय शहर पोखरामा पर्यटक आकर्षण गर्न असारे रोपाई महोत्सवको आयोजना गरिएको छ ।
पर्यटकलाई नेपाली परम्परागत रुपमा धान रोप्ने, हलो जोत्ने र मोही लगाउने जस्ता काममासहभागी गराउँदै हिलो खेलाउने उद्देश्यले असारे रोपाई महोत्सवको आयोजना गरिएको पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलले बताए ।
कृषि पर्यटनको माध्यमबाट पर्यटकको बसाई लम्ब्याउने उद्देश्यले पोखरामा १६औं रोपाईं महोत्सवको तयारी गरिएको हो । पोखराका पर्यटन व्यवसायीको छाता संगठन पोखरा पर्यटन परिषद्ले विगत १५ वर्षदेखि पर्यटक आकर्षित गर्न र बसाई लम्ब्याउन असारे रोपाई महोत्सव गर्दै आएको छ ।
रोपाई महोत्सव पोखरा १७ महतगौडा विरुवाफाँटको बिसखेतमा हुदैँछ । हलो जोत्ने, कान्ला खन्ने, आली लगाउने र रोप्ने काममा पर्यटकहरु स्वयं सहभागी हुने र यसले महोत्सवलाई थप रमाइलो हुने परिषद्का अध्यक्ष पोखरेलले जानकारी दिए ।
नाचगान, पंचैबाजा र रंग रमाइलोकासाथ दहीच्यूरा खाएर रोपाइँ महोत्सव मनाउने तयारी परिषदले गरेको परिषदका महासचिव डिलप्रसाद गौतमले बताए । हिलो साउने, असारे गीतसँगै रोपाइँ थप आकर्षण हुनेछ । रोपाईं महोत्सवमा विदेशी र नेपालीबीच रस्साकस्सी, माछा समाउने, हिलोमा दौडने जस्ता आकर्षण र प्रतियोगितालाई महोत्सवले समेटेको छ ।