अन्डा कताबाट फोड्ने ?
कोही कम नभई सकेसम्म बढी भ्रष्टाचार र लुटको प्रतिस्पर्धा मात्र नेताहरूले गरिरहेको जनताले प्रत्यक्ष देखिरहेका छन्।
भारतमा एक किलोग्राम चामलको मूल्य कति होला ? एक किलोग्राम गहुँको मूल्य कति होला ? एक किलोग्राम मकै वा जौको मूल्य कति होला ? तिनको मूल्य सुनेपछि हामी छक्क पर्ने छौं। किनभने, भारत सरकारको जनवितरण प्रणाली (पब्लिक डिस्ट्रिब्युसन सिस्टम) अन्तर्गत एक किलोग्राम चामलको मूल्य नेपाली पाँच रुपैयाँभन्दा पनि कम (४ रुपैयाँ ८० पैसा वा भारु तीन रुपैयाँ) पर्छ।
राजधानी काठमाडौंको नयाँ बानेश्वरमा ३० किलोग्राम चामलको थोक मूल्य एक हजार पाँच सय रुपैयाँ अर्थात् प्रतिकेजी पचास रुपैयाँ रहेको छ। यी दुई मुलुकमा त्यहाँका गरिब, निम्नमध्यम र मध्यम वर्गका परिवारले खाने चामलको मूल्य दस गुना फरक छ। भारतमा रासन कार्डअनुसार पाँचजनाको परिवार छ भने प्रतिव्यक्ति पाँच किलोको दरले प्रतिमहिना २५ किलो चामल पाउँछन्। गहुँ प्रतिकिलो ३ रुपैयाँ २० पैसा (भारतीय २ रुपैयाँ), मकै, कोदो, जौ प्रतिकेजी १ रुपैयाँ ६० पैसा (भारतीय एक रुपैयाँ) मा पाइन्छ ।
तमिलनाडुकी मुख्यमन्त्री भएपछि जय ललिताले आठ वर्षअघि सन् २०११ मा तमिलनाडुका गरिब हुन् कि धनी हुन्, सबैलाई रासन कार्डअनुसार अरू सामानको मूल्य लिने तर चामल सित्तैमा दिने सरकारी वितरण प्रणाली लागू गरिन्। गरिब परिवारका स्कुले केटाकेटीलाई वर्षको तीन जोर युनिफर्म सित्तैमा दिने निर्णय गरिन्। गरिब परिवारलाई २ जोर बाख्रा वितरण गरिन्। जुनसुकै केटीको बिहे गर्दा चार ग्राम सुन राज्यले दिने व्यवस्था गरिन्। यसपछि उनी आमा अर्थात् तमिल भाषामा ‘अम्मा’ नामले जनताका बीचमा सम्बोधित हुन थालिन् ।
उनी कम्युनिस्ट थिइनन्। प्रजातान्त्रिक समाजवादी पनि थिइनन्। तर, पुँजीवादी लोककल्याणवादी थिइन्। बिहारको प्रतिव्यक्ति आय ७५० अमेरिकी डलर र सम्पूर्ण भारतको सरदर प्रतिव्यक्ति आय २५०० डलर हुँदा नै तमिलनाडुको २७०० अमेरिकी डलर प्रतिव्यक्ति आय पुगेको थियो। तमिलनाडुको प्रान्तीय सरकारसँग कहाँबाट आयो यत्रो पैसा गरिब जनतालाई बाँड्न ? रक्सीको अन्तशुल्कबाट।
दोहोरो मूल्य प्रणाली
भारत स्वतन्त्र भएपछि सन् १९४७ देखि १९६७ को बीचमा २० वर्षसम्म लगातार अमेरिकी गहुँ आयात हुन्थ्यो। नेपाल, म्यानमार र अरू ठाउँबाट पनि भारतमा चामल आयात हुन्थ्यो। स्वतन्त्र भारतका सबै सरकारले आज पनि दोहोरो मूल्य प्रणाली ब्रिटिस राज्यकै पछिल्लो पालादेखि भारत स्वतन्त्र भएको ७२ वर्षसम्म लगातार चलाइरहे। जस्तो– बालबालिका, घरपरिवारलाई चामल, गहुँ, चिनी (पब्लिक डिस्ट्रिब्युसन सिस्टम जनवितरण प्रणालीअन्तर्गत) सस्तो मूल्यमा रासन कार्डमा चिह्न लगाएर दिइन्छ। अर्कोतिर मिठाई बनाउन, होटल चलाउन खुला बजारमा जति किने पनि पाइन्छ। तर रासन कार्डको मूल्यभन्दा बजार भाउ महँगो हुन्छ।
अनिकाल र सहकाल
म सानै हुँदा हरेक वर्ष भारतमा भोकमरी भएको समाचार सुन्थें। ५÷६ वर्षको हुँदा ब्रिटिस राज्यमा सन् १९४३ मा बंगाल त्यससमय एउटै थियो र द्वितीय विश्वयुद्ध चलिरहेको थियो। बंगालमा ठूलो अनिकाल प¥यो भन्ने समाचार सुन्दा आज कैयन्लाई पत्यार लाग्दैन होला। त्यसबेला बंगालमा कमसेकम ३० देखि ५० लाख मानिस भोक, अनिकाल र अनिकालका कारण उब्जेका कुपोषण र रोगहरूले मरेका थिए। म्यानमार (बर्मा) त्यस समय जापानको कब्जामा थियो। भारतको सुदूरपूर्वी सीमासम्म जापानी सेना पुगिसकेका थिए।
छिमेकी देशका नेताहरू असल क्रान्तिपछि झन् असल क्रान्ति गर्छन्। देश र जनतालाई समृद्ध पार्छन्। हाम्रा नेताहरू भने भ्रष्टाचारका प्रतिक्रान्तिहरू गरेर देशलाई हरितन्नम पार्छन् ।
बर्माबाट पनि सस्तो चामल आउन पाउँदैनथ्यो। भारतमा उत्पादन भएका चामलमध्ये एक खण्ड युद्धरत ब्रिटिस सेनाका लागि आपूर्ति गर्न सञ्चित हुन्थ्यो। ब्रिटिस औपनिवेशिक शासनले भारतका सारा साधनस्रोत द्वितीय विश्वयुद्धमा खर्च गरिराखेको थियो। तर, विदेशबाट भारतमा अन्न चामल र खाद्यान्न झिकाउन भने पहल र लगानी गरिएको थिएन ।
भारत स्वतन्त्र भएयता पनि हरेक वर्षजस्तो अन्नको हाहाकार हुन्थ्यो। तर अमेरिकाबाट ठूला पानीजहाजहरूमा लाखौं टन गहुँ हरेक वर्ष आयात हुन थाल्यो ।
थोरै खाए धेरै बाँचिन्छ
त्यसताका काशी (वाराणसी) का हिन्दी दैनिकहरूमा पढेको थिएँ– पुच्छर नभएका सेता मुसा (गिनिपिग्स) लाई दुई समूह बनाई एक समूहलाई जति मन लाग्छ खान दिने र उत्तिनै संख्याको अर्को समूहलाई नियन्त्रित खाना दिइन्थ्यो। तर ती गिनिपिग्स जसलाई नियन्त्रित मात्रामा खान दिइयो, तिनीहरूको सरदर आयु लामो हुन्थ्यो। जति मन लाग्छ खानेहरूको सरदर उमेर कम हुन्थ्यो। कहिले यस्ता समाचार पनि पढ्थें– दुई सय वर्षअघि फ्रान्समा गरिब मान्छेहरू खान नपाएर मर्दथे। तर आज फ्रान्समा मान्छेहरू बढी खाएर मर्दैछन् ।
स्कुले जीवनमा भारतीय पत्रपत्रिकामा छापिएका यस्ता समाचार मलाई प्रायोजितजस्ता लाग्थे– जनता किफायत गरेर अन्न उपयोग गरून्। तर धेरै पछि हिजोआज बल्ल बुझ्दै छु– यो वैज्ञानिक सत्य रहेछ। बढ्ने उमेर खुब भए २५ वर्षसम्म जति खाए पनि त्यसपछि जति कम खाए उति शारीरिक स्वास्थ्यका लागि राम्रो हुन्छ ।
छिमेकमा अनिकालबाट सहकाल
विगतमा हाम्रो माटोसँग जोडिएका दुई विशाल देश कुनै बेला हरेक वर्ष भोकमरीले पीडित हुन्थे। तर दुवै छिमेकी भारत र चीन आज अन्नको निर्यातकर्ता हुन पुगेका छन्। के भयो त ती देशमा ? देशको मुक्ति र स्वतन्त्रताको क्रान्तिपछि हरित क्रान्ति (ग्रिन रेभोलुसन) भयो। चीन र भारतमा नयाँनयाँ प्रजातिका धान, गहुँ र अरू खाद्यान्नका बीउवीजन लगाउन थालियो। मलखाद, सिँचाइ, खेतीको यान्त्रिकरण, कृषक र कृषिमैत्री जोडतोडले अपनाउन थालियो। किसानलाई ऋण सुविधा दिन थालियो। धेरै मासु दिने पशुपालनमा जोड दिन थालियो। धेरै दूध दिने उन्नत जातका गाई–भैंसीका प्रजाति पालनमा जोड दिन थालियो ।
अर्कोतिर मानव संसाधन, शिक्षा, उच्च शिक्षा, वैज्ञानिक र आधुनिक विषयका ज्ञान बढाउन सुलभ पारियो। विद्युत्, सडक, स्वास्थ्य, सिँचाइ, नहर इत्यादि पूर्वाधारको जगमा तीव्र औद्योगीकरणको पूर्वाधार पनि खडा गरियो। हाम्रा छिमेकी देशहरूमा राजनीतिक क्रान्तिपछि अनेकौं क्रान्ति कृषिमा हरियो वा हरित क्रान्ति, दूध घ्यु, मख्खनको छेलोखेलो हुने सेतो वा श्वेत क्रान्ति, ऊर्जा क्रान्तिहरू राजनीतिक क्रान्तिपछि सम्पन्न भए। तर नेपालमा के भयो र आज के छ ? हामी सबैलाई थाहा छ– यहाँ एक सय चारबर्से जहानियाँ राणाशासन २००७ सालको क्रान्तिले फाल्यो। १० वर्षपछि नै २०१७ सालको प्रतिक्रान्तिले प्रजातन्त्र फाल्यो र ३० वर्षसम्म संसदीय प्रजातन्त्र, वाक् स्वतन्त्रता, प्रेस स्वतन्त्रतालाई नियन्त्रणमा राख्यो ।
फेरि २०४६ को प्रथम जनआन्दोलनले संसदीय प्रजातन्त्र र जनताद्वारा सम्पूर्ण रूपले प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा स्थापित ग¥यो। तर, विदेशी आ श्रय र विदेशी आधारभूमि प्रदान गरी १० वर्ष लामो हत्या, हिंसा र प्रतिहिंसाको प्रचण्ड ताण्डव मच्चाई २०४७ को संविधान पनि समाप्त पारियो। आज देशमा वर्णसंकर संविधान र वर्णसंकर संसद् छ। यसका नेताहरूले आफ्ना लागि राजस्व लुट, भ्रष्टाचारको भागबन्डा गरी देश र जनतालाई केही दिन सकिरहेका छैनन्। वर्णसंकरतन्त्र र भ्रष्टाचारका ‘गुलिभर’ र ‘लिलिपुट’ हरूमा सैद्धान्तिक विवाद सुन्दा हाँसो लाग्छ। त्यो कथामा अन्डा एक टुप्पोबाट फोडेर खाने कि अर्को टुप्पोबाट फोडेर खाने भनी लिलिपुटहरूमा भयानक मतभेद र युद्ध भएको सम्झना गराउँछ ।
जनताको बहुदलीय जनवादको प्रतिस्पर्धात्मक निर्वाचनको कुरा त दिल्लीमा भएको बाह्रबुँदे र प्रचण्ड, सुशील कोइराला र विजय गच्छदारसँग मिलेर एमालेका नेताले यो वर्णसंकर संविधान बनाउँदै परित्याग गरिसके। अब कोही कम नभई सकेसम्म बढी भ्रष्टाचार र लुटको प्रतिस्पर्धा मात्र देशका नेताहरूले गरिरहेको जनताले प्रत्यक्ष देखिरहेका छन्। छिमेकी देशका नेताहरू असल क्रान्तिपछि झन् असल क्रान्ति गर्छन्। देश र जनतालाई समृद्ध पार्छन्। हामीकहाँ भने भ्रष्टाचारका प्रतिक्रान्तिहरूले कुनै बेला छिमेक देशसरह जीवनस्तर र प्रतिव्यक्ति आयबाट झरेर अन्न चामल निर्यातकबाट अन्न मात्र होइन, सबै कुरोको आयातकर्ता हुँदै आएका छौं। हाम्रा शासकहरूले एउटै काम निरन्तर बढाउँदै लगे। त्यो हो– काम गर्ने युवायुवतीलाई विदेश निर्यात। उनीहरूबाट वार्षिक आम्दानीको ठूलो हिस्सास्वरूप रेमिटेन्स हात पारिरहेका छौं र त्यही रेमिटेन्समा सम्पन्नताको अनुभूत गरिरहेका छौं ।